१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा धनीहरूको खेल भनेर चिनिने गल्फमा शुक्रबार काभ्रेका १७ वर्षीय सुवास तामाङले दोहोरो स्वर्ण जिते।
पहिलोपटक सागमा समावेश गरिएको गल्फमा नेपालसहित, बंगलादेश श्रीलङ्का र भुटान सहभागी भएका थिए।
काभ्रेबाट काठमाडौं आएका सुवास पढाई बिग्रिएपछि बरालिन राजधानीको एयरपोर्टस्थित रोयल नेपाल गल्फ क्लब पुग्थे। उनका अर्का साथी निरज तामाङ गल्फ क्लबमा बल ब्वाईको काम गर्थे। निरजको संगतबाट सुवासले पनि बल ब्वाईको काम पाए।
जब गल्फरहरूले बल हिर्काएर टाढा पुर्याउँथे। सुवास दौडेर बल फिर्ता लिएर आउँथे। गल्फरहरूको संगतपछि सुवास बल ब्वाईबाट क्याडी भए। उनले गल्फरहरूले बल हिर्काउन प्रयोग गर्न क्याडी भएको झोला बोक्न थाले। कमजोर आर्थिक हैसियत भएका सुवासले गल्फरहरूको संगतमै गल्फ सिके।
सुवासको आर्थिक हैसियत भने गल्फ खेल्न सक्ने थिएन। उनी काठमाडौंमा फुपूको घरमा बस्थे। खान लगाउनै धौधौ।
गल्फमा सुवासको चासो देखेपछि नेपाल गल्फ एशोसिएशनले उनलाई छात्रवृत्ति प्रदान गर्यो।
'गल्फ एशोसिएसनले उसलाई छात्रवृत्ति दिएको हो। अण्डर प्रिभिलेजहरूलाई हामीले स्कलरसिप दिने गरेका छौँ', संघका सचिव चन्द्र राईले सेतोपाटीसँग भने, '४ वर्ष भयो हामीले सपोर्ट गरेको। हामीले सिङ्गापुरमा गएर तालिम लिने व्यवस्था मिलाइदियौं।'
सुवासले गल्फ खेल्न थालेको ६ वर्ष भयो। २ वर्ष यता भने उनले अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा समेत सहभागिता जनाउने गरेका छन्।
उनी यसैवर्ष भियतनामको फाल्डो एसिया गन्ड फाइनल गल्फ समेत खेले।
उनले दुई महिना अघि सूर्य नेपाल च्यालेन्ज जिते। यो व्यावसायिक प्रतियोगिता हो। उनले जुनियरतर्फको फाल्डो सिरिज एसिया नेपाल च्याम्पियनसिपमा समेत जित हात पारेका थिए।
सुवास अहिले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग आवद्ध छन्।
'आर्मी क्लबको सहाराले उसलाई अहिले काठमाडौंमा बस्ने खाने समस्या छैन,' राईले सेतोपाटीसँग भने, 'प्रोफेसनल गल्फरहरूबाट तालिम पनि पाइरहेको छ।'
आर्मी क्लबका गल्फलाई प्रशिक्षण दिइरहेका सचिन भट्टराईले सुवासले सुरुआत देखि नै राम्रो प्रदर्शन गर्दै आएको बताए।
'कामको खोजीमा काठमाडौं आएको थियो सुवास, उसको साथी विनोद तामाङसँगै हामीले एयरपोर्टको गल्फ क्लबमा भेटेका हौँ', सचिनले भने, 'उसले राम्रो खेल्न थालेपछि हामीलाई पनि सुवाससँग आशा लाग्न थालेको थियो।'
'हामीले उनीहरूसँग आशा पनि गरेका थियौँ, राम्रो खेल्ने मान्छे हो', सचिनले भने, 'केटो खत्रै छ।'
सागको शुक्रबार भएको अन्तिम राउन्ड सकिदा सुवासले व्यक्तिगत स्पर्धामा १४ अन्डर २७४ स्कोर गरे। उनले बंगलादेशका मोहद फराद र नेपालकै शुक्रबहादुर राईलाई पछि पारे।
टिम इभेन्टतर्फ निरज तामाङ, शुक्रबाहादुर राई र टंक कार्कीसँग मिलेर अर्को स्वर्ण जिते।
जारी १३ औं दक्षिण एसियाली खेलकुदमा सुवास दोहोरो स्वर्ण जित्ने तेश्रो खेलाडी भएका छन्। यसअघि करातेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोबाट आयशा शाक्यले दोहोरो स्वर्ण जितेका छन्।