जनकपुरधाममा १३औँ दक्षिण एशियाली खेलकुद साग सुरु भएको छ।
काठमाडौं र पोखरामा सागका खेलहरु संचालन भइरहँदा जनकपुरधाममा आजबाट सुरु भएको हो। एक कार्यक्रमका बीच प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले दीप प्रज्वलन गरी १३ औं सागको उद्घाटन गरे।
मुख्यमन्त्री राउतले कुस्ती खेलका लागि आएका नेपालसहित पाँचै देशका खेलाडीहरुलाई स्वागत गरे। उद्घाटन कार्यक्रममा नेपाली सेनाको टोली तथा जनकपुरधामको मिथिला नाट्य कला परिरषदले सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो।
यसैबीच आजै ४ स्वर्णका लागि कुस्ती प्रतियोगिता हुनेछ। जनकपुरधाममा हुने कुस्ती प्रतियोगिताको पहिलो खेल श्रीलंका र बंगलादेश बीच हुँदैछ ।
जनकपुरधाममा हुने कुल २० स्वर्ण पदकका लागि ५ देशले प्रतियोगितामा सहभागिता जनाएका छन्। कुस्तीमा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशको सहभागिता रहनेछ।