दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जनकपुरधाममा पहिलो दिन विभिन्न चार तौलको कुस्ती प्रतियोगिता भएको छ। चार तौलकै कुस्तीमा भारतले चार वटा स्वर्ण पदक जितेको छ। नेपालले एउटा रजत र तीन वटा कास्य पदक जितेको छ।
महिलातर्फ ५० केजीमा भारतकी शितलले पहिलो स्थान हासिल गरेर स्वर्ण पदक जितेकी छिन्। श्रीलंकाकी निरोसानीले रजत र नेपालकी मनिषाले कास्य पदक जिते।
त्यस्तै महिलातर्फ ५३ केजी तौलमा भारतकी पिन्कीले स्वर्ण, नेपालकी सवांगीले रजत र श्रीलंकाकी समिकाले कास्य पदक जिते।
पुरुषतर्फ ५७ केजी तौलमा भारतका राहुलले स्वर्ण, श्रीलंकाका कथोरनगानाले रजत र नेपालका नरेश प्रसाद यादवले कास्य पदक जिते।
त्यस्तै पुरुषतर्फ नै ६५ केजी तौलमा भारतका अमितले स्वर्ण, श्रीलंकाका चमाराले रजत र नेपालका सरोज यादवले कास्य पदक प्राप्त गरे। कुस्तीमा बंगलादेशले एउटा पनि पदक जित्न सकेन ।