१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत टेबलटेनिसमा नेपालले ६ पदक हात पारेको छ ।
जसमा स्यान्टु श्रेष्ठले चार पदक हात पारेर इतिहास बनाएका छन्। जसमा १ रजत र ३ कास्य समावेश छन्।
स्यान्टुले सिंगल्समा कास्य, पुरुष टिम एभेन्टमा रजत, मेन्स डबल्स र मिक्स डबल्समा कास्य जितेर इतिहास बनाएका हुन्।
साग सुरु हुनुअघि दुर्घटनामा घाइते भएका स्यान्टु केहि साता अस्पताल बसेपछि प्रशिक्षणमा फर्किएका थिए। उनका लागि भनेर छुट्टै छनोट समेत गरिएको छ।
उनले साग इतिहासमा चार कास्य जितेपछि खुसी व्यक्त गरेका छन्।
सोमबारदेखि लैनचौरस्थित टिटिहलमा सुरु भएको टेबलटेनिसमा नेपालले पुरुष टिम इभेन्टमा रजत, महिला टिम इभेन्टमा कास्य, पुरुष सिंगल्समा दुई कास्य, मेन्स डबल्स र मिक्स डबल्समा गरि जम्मा ६ पदक हात पारेको छ।
पुरुष सिंगल्सतर्फ शुक्रबार भारतीय खेलाडीसँग सेमिफाइनलमा पराजित भएका नेपाली खेलाडी स्यान्टु र पुरुषोत्तमले टेबलटेनिसको साग इतिहासमा सिगल्समा पहिलो पटक पदक जितेका हुन्।
सेमिफाइनलमा स्यान्टु श्रेष्ठ भारतीय खेलाडी अमलराज एन्थोनिसँग ४–० को सेटमा पराजित भए । उनी एन्थोनीसँग ११–४, १२–१०, ११–८, ११–२ को सेटमा पराजित भए ।
यता अर्को सेमिफाइनलमा भारतीय खेलाडी हर्मित देशाईसँग अनुभवी खेलाडी पुरुषोत्तम बज्राचार्य ४–० को सेटमै पराजित भए । उनी ११–५, ११–४, ११–१ र ११–४ को सेटमा पराजित भए ।
काठमाडौंमा भएको सागमा टेनिसको सिंगल्सतर्फ नेपालले दुई कास्य जितेको छ ।
टेबलटेनिसमा नेपालले पुरुष टिम इभेन्टमा जितेको रजत पदक पनि ऐतिहासिक बन्यो। शिव सुन्दर गोथे, स्यान्टु श्रेष्ठ र पुरुषोत्तम श्रेष्ठ टिममा रहेको नेपाल पहिलो पटक टिम इभेन्टको फाइनलमा पुगेको थियो ।
तर, फाइनलमा भारतसँग पराजित भएपछि घरमै भएको सागमा स्वर्ण जित्नबाट नेपाली टोली चुकेको थियो।
टेबलटेनिसमा चौथो पदक महिला टिम इभेन्ट्समा नेपालले कास्य जितेको थियो । नविता श्रेष्ठ, रविना महर्जन र सिक्का सुवाल टोलीमा रहेको टिमले कास्य जितेको थियो ।
यसअघि नेपालले मेन्स डबल्स र मिक्स डबल्समा कास्य जितेको थियो । मेन्स डबल्समा स्यान्टु श्रेष्ठ र विनेश खनियाको जोडिले कास्य हात पारेको थियो भने मिक्स डबल्समा नविता श्रेष्ठ र स्यान्टुले कास्य जितेका थिए ।
महिलातर्फ सिंगल्समा भारतले स्वर्ण र रजत जितेको छ भने श्रीलंकाले दुई कास्य जितेको हो ।
पुरुषतर्फ कास्य नेपालले जितेपनि स्वर्ण र रजत भारतले जितेको छ ।