१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल फाइनल पुग्न असफल भएको छ।
शनिबार कीर्तिपुरस्थित टियू मैदानमा बंगलादेशसँग ४४ रनले पराजित हुँदा स्वर्ण जित्ने नेपालको लक्ष्य पूरा हुन सकेन।
बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्यएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ११ रन मात्र जोड्न सक्यो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ४३ रन र दीपेन्द्रसिंह ऐरीले ४३ रनको योगदान दिँदा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा बंगलादेशका मेहदी हसन,सौम्य सरकार, सुमोन खान र तनविर इस्लामले २–२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशको यु–२३ टिमले ६ विकेटको क्षतिमा १५५ रन बनायो।
उसका लागि नजबुल हुसेनले नटआउट ७५ रन जोडे भने अफिफ हुसेनले ५२ रनको योगदान दिए।
बंगलादेशका ३ विकेट नेपालका पूर्व कप्तान पारस खड्काले लिए। पारसले मोहमद नइम र सौम्य सरकारलाई ६–६ रनमा आउट गरेका छन्। यसैगरी सइम हसनलाई शून्यमा बोल्ड गरेका छन्।
अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा अर्को विकेट अभिनास बोहराले लिएका छन्।
नेपाल पराजित भएसँगै बंगलादेश र श्रीलंकाबीच स्वर्णका लागि खेल हुने भएको छ।