१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक प्राप्त गरेको छ।
पोखरा रंगशालामा शनिबार तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा माल्दिभ्समाथि १० विकेटको जित निकाल्दै नेपालले कास्य पदक प्राप्त गरेको हो।
टस जितेर ब्याटिङ रोजेको माल्दिभ्सले ११.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८ रन जोडेको थियो।
माल्दिभ्सको ब्याटिङमा ऐमा ऐसाथले १ रन जोडिन्। माल्दिभ्सका बाँकी सबै खेलाडी शून्यमै आउट भए।
नेपालले अतिरिक्त ७ रन दिएको थियो। नेपालको तर्फबाट अञ्जली चन्दले ४ ओभरमा ३ मेडनसहित १ रन खर्चिएर ४ विकेट लिइन्। त्यस्तै, सीता रानामगर र रुविना क्षेत्रीले समान दुई दुई विकेट लिए। सुमन खतिवडा र करुणा भण्डारीले पनि एक एक विकेट बाँडे।
जितका लागि ९ रनको लक्ष्य पछ्याएको नेपालले विनाविकेट नोक्सानीमा १.१ ओभरमा जित हासिल गरेको हो।
नेपालको व्याटिङमा रोमा थापाले अविजित ४ तथा काजोल श्रेष्ठले अविजित २ रन बनाए।
खेलमा ४ विकेट लिन सफल नेपाली बलर अञ्जली चन्द प्लेयर अफ द म्याच भइन्।
जितपछि प्रतिक्रिया दिँदै नेपाली प्रशिक्षक जगतबहादुर टमटाले समग्रमा प्रतियोगिताभर नेपालले चित्त बुझ्दो प्रदर्शनी गरेको बताए। बंगलादेश, श्रीलंका जस्ता टेष्ट राष्ट्रहरूसँग समेत नेपालले बराबरीको प्रतिस्पर्धा गर्न सफल भएको उनले दाबी गरे।
यद्यपी लक्ष्य स्वर्ण नै भए पनि कास्य पदकमा चित्त बुझाएका खेलाडीले संयमित र अनुशासितपूर्वक खेल प्रदर्शन गरेकोमा खुसी व्यक्त गरे।
माल्दिभ्सका कप्तान जुना मारियमले यही प्रतियोगिताबाट माल्दिभ्सले अन्तराष्ट्रिय डेब्यू गरेको बताउँदै आफूहरूका लागि यो राम्रो अनुभव भएको बताइन्।
प्रतियोगिता अन्तर्गत आइतबार बंगलादेश र श्रीलंकाबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।