दक्षिण एसियाली खेलकुद अन्तर्गत टेनिसमा नेपालले पाँच वटा कास्य पदक जितेको छ।
सातदोबाटोस्थित लनटेनिस कोर्टमा आज भएका तीनवटा विधाको सेमिफाइनलमा पराजित भएसँगै नेपाली खेलाडी कास्यमा सिमित बनेका हुन्। यसअघि नेपालले टिम इभेन्टको महिला र पुरुषतर्फको विधामा कास्य पदक जितेको थियो ।
आज भएको महिला सिंगल्सको सेमिफाइनलमा प्रेरणा दोस्रो वरियताकी भारतीय खेलाडी सत्विका समासँग ६–० र ६–० ले पराजित भइन्। समाले स्वर्ण पदकका लागि आफ्नै देशकी सौजन्या भाबिसेट्टीसँग प्रतिष्पर्धा गर्नेछिन्। भाबिसेटीले सेमिफाइनलमा श्रीलंकाकी अनिका चोले सेनेभिरत्नेलाई ६–२, ७–६(४) ले हराएकी थिइन् ।
महिला डबल्समा नेपालका दुई जोडी सेमिफाइनलमा पराजित भए। प्रेरणा कोइराला र सलोनी तामाङको जोडी भारतका श्रब्या शिभानी चिलकलापुडीसँग ६–४ र ६–३ को सेटमा पराजित हुँदै कास्यमै सिमित बने। अर्को सेमिफाइनलमा अभिलाष विष्ट र आइरा मेहेमिसा रावतको जोडी भारतका प्रेरणा भाम्ब्री र प्रार्थना गुलाबराओ थोम्ब्रेको जोडीसँग ६–० र ६–० ले हारे।
पुरुष डबल्सतर्फ श्रीयाम बालाजी नारायणस्वामी र जिवन नेदुनचिझियानको जोडीले पाकिस्तानका अकिल खान र अइसम उल हक कुरेसीको जोडीलाई ७–५ र ६–३ ले हराउँदै फाइनलमा पुगे । अर्को सेमिफाइनलमा भारतका विष्णुवर्दन जगदिसन र सकेथ साई मिनेनीको जोडीले पाकिस्तानका मोहम्मद अविद र मुजामिल मुर्तजाको जोडीलाई ६–३ र ६–२ ले हराउँदै फाइनलमा पुगे।
भारतले यसअघि टिम इभेन्टको दुबै स्वर्ण पदक जितेको थियो भने पुरुष सिंगल्स, महिला सिंगल्स, पुरुष डबल्स र महिला डबल्सको फाइनलमा पुगेसँगै ६ स्वर्ण सुरक्षित गरेको हो।
मिक्स डबल्समा पनि भारत र पाकिस्तानका दुई टोली सेमिफाइनलमा पुगिसकेका छन्।