वर्षौंको मिहिनेत र धैर्यपछि इलामकी जुनी राईले सपनाको फराकिलो खुट्किलो पार गरिन्। गत बिहीबार १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा उसु अन्तर्गत सान्सौ विधाको ५६ केजी तौल समूहमा स्वर्ण जितिन्।
फाइनलमा २–० अंकसँगै श्रीलंकाकी माडुमालीलाई पराजित गर्दै जुनीले स्वर्ण हात पारेकी हुन्।
पहिलो अन्तर्राष्ट्रिय स्वर्ण भए पनि जुनीका लागि साग नौलो थिएन, न सागका लागि जुनी। भारतमा भएको १२ औं सागमा भारतसँगको हारपछि उनको प्रतीक्षा थियो १३ औं सागको। यही कारण फाइनलभन्दा सेमिफाइनलको नतिजाले बढी खुसी दिएको उनी बताउँछिन्।
'भारतसँग पराजित भएकाले होला उसलाई म सबभन्दा कडा प्रतिस्पर्धी सम्झन्थेँ,' यसपालि सेमिफाइनलमा भारतलाई हराएको सम्झिँदै उनले भनिन्, 'जितपछि खुसीले एकछिन आँखा देखिनँ। आँसु बग्यो। पूरा खेल नै त्यही बेला जितेको महशुस गरेँ।'
सानैबाट खेल क्षेत्रमा रूचाउने जुनीले आमाबुबाको माया धेरै समय पाइनन्। १२ वर्षकी हुँदा जुनीकी आमाको निधन भयो। बुवा त्यो बेला दुबइमा थिए। जुनीले दुई भाइबहिनीका अभिभावक बनेर घरव्यवहार सम्हाल्नुपर्यो। घाँस-दाउरादेखि चुलोचटारोमै अल्झिइन्।
घर-बारीका काम, भारी बोक्ने, उकालो–ओरालो गर्दा उनको शरीरलाई एक हिसाबले व्यायाम भइरहेको थियो। फुर्सदको समय साथीहरूसँग फुटबल खेल्थिन्।
बुवा फर्किए। जुनी कक्षा ८ तिर हुँदा बुवाले अर्को बिहे गरे। काकाले जुनीलाई पढाउन झापा लगे। इलाममा कुनै पनि खेलका लागि तालिम दिने थलो थिएनन्। झापा, बिर्तामोड आएपछि उनले गुरू सुरेन्द्र राईका बारेमा सुनिन् जसले उसु सिकाउँथे। जुनीले तालिम लिन चाहिन्।
उसु अन्तर्गत दुई खेल हुन्छन्- तौलु र सान्सौ।
'मलाई सानैबाट फाइटिङ मनपर्थ्यो,' २८ वर्षीया जुनीले भनिन्, 'सान्सौमा किक, बक्सिङ, फाइट सबै पर्छ भने तौलुमा यी सबै कला प्रदर्शनी मात्रै हुन्छ।'
उनको स्वाभाव पनि झगडालु थियो रे। पहिले त रिसमा मान्छे कुट्थिन् पनि रे। उनलाई कसैले होच्याएर बोलेको मनपर्दैन। कसैले पारिवारिक स्थिति देखाउँदै मूल्यांकन गर्दा रिस उठ्छ। चित्त पनि दुख्छ। सान्सौका लागि चाहिने आक्रमक प्रकृति पनि उनको बोलीमा झल्किन्थ्यो।
उनले सान्सौ रोजिन्।
'तर खेलमा आधिकारिक ढगंबाट लागेपछि रिस नियन्त्रण गर्न थालेँ,' उनले सुनाइन्।
खेलमा लाग्ने कुरा काकालाई मननपर्ने जुनीलाई पहिल्यै थाहा थियो।
'काकालाई मैले पढिदिए मात्र हुन्छ लाग्थ्यो। खेलमा भविष्य हुँदैन भन्नुहुन्थ्यो,' उनले भनिन्, 'तर म लुकीलुकी तालिममा जान्थे। पछि थाहा पाउनु भएर एकपटक चित्त दुखाउनु भएको थियो।'
आँखा छलेर तालिम लिने जुनी राष्ट्रियस्तरको उसु प्रतियोगितामा दोस्रो भएको समाचार काकाले सुने। यसबेलासम्म पनि खेलमा नलाग्न भनिनै रहेका थिए।
२०६८ सालतिर राष्ट्रिय खेलका प्रथम र द्वितीय खेलाडीलाई चिनियाँ गुरूले क्याम्पमै राखेर तालिम दिने खबर आयो। तालिम काठमाडौंमा हुन्थ्यो। जुनीका लागि यो अवसर निकै महत्वपूर्ण थियो।
प्लस-टु सकाएर बसेकी जुनी काकालाई नभनी गुरू सुरेन्द्रसँग पाँच हजार सापट मागेर काठमाडौं आइन्। त्यस बेला उनी १९ वर्षकी थिइन्। एक जोर कपडा र एक जोर जुत्ताबाहेक केही बोकेकी थिइनन्।
पहिलो पटक एसएलसीपछि काकासँग घुम्न आएकी जुनी दोस्रो पटक एक्लै हुर्रिएर आएकी थिइन्। यहाँ उनको भेट गुरू श्याम तामाङसँग भयो। उनैको सल्लाहअनुसार युनिभर्सल स्कुलमा होस्टल वार्डेनको काम सुरू गरिन्। बिहान उसु तालिममा जान्थिन्, बेलुकी होस्टल हेर्थिन्।
तालिमक्रममा उनले निकै मिहिनेत गरिन्। आफूलाई कोहीभन्दा कम नठहराउने हिसाबमा लागिन्। यसैबीच २०७० सालमा उनी सेनामा भर्ना भइन्। यहाँ पनि तालिममा दिन–रात खटिन्।
'मलाई कडा शारीरिक तालिम मनपर्थ्यो। अरूलाई गाह्रो लाग्ने म सजिलै गर्थेँ,' पुरुषभन्दा कम नभइ तालिम गरेको अनुभव सुनाउँदै भनिन्, 'पुरुष साथीहरू सँगसँगै गर्थेँ। अझै तोकिएको समयभन्दा बढी पनि गरिरहेको हुन्थेँ।'
२०७२ सालमा प्रहरी असइमा उनको नाम निक्लेपछि उनले सेनाबाट राजीनामा दिइन्। हाल राष्ट्रिय खेल उनी प्रहरीकै तर्फबाट खेल्छिन्। जुनी सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियन खेल र सन् २०१९ को वर्ल्ड च्याम्पियनसिपमा पनि सहभागी भइसकेकी छन्।
यसपालि साग-सान्सौका लागि उनले दुई गुरूबाट अभ्यास लिएकी थिइन्ः बिमल मगर र गणेश अर्याल। असारदेखि क्याम्पमै बसेर गरेको तालिमको फल अहिले पाएको उनलाई लाग्छ। अझ यो भन्दा, आफ्नो एकल निर्णयले सुरू भएको यात्राले सार्थकता दिएको विश्वास उनलाई छ।
'मलाई थाहा छ, म कुन परिस्थितिबाट यहाँसम्म आइपुगेँ,' जुनी भन्छिन्, 'म यसमा आफैंप्रति एकदमै गर्व गर्छु। जितपछि पहिले चाहिँ मैले काकालाई नै सम्झिएँ।'
जुनीका काका अहिले उनको खेलप्रतिको लगनशीलता र मिहिनेत देखेर ज्यादै खुसी छन्।
खेलसँगै उनले पढाइ पनि जसोतसो निरन्तरता दिइन्। शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्म अध्ययन गरेकी छन्। प्राथमिकता खेल नै रहेकाले केही वर्ष अन्तराल भए पनि थप पढ्ने सोचमा छिन्।
खेलाडीबाट अवकाशपछि उनलाई प्रशिक्षक बन्ने रहर पनि छ। थुप्रैलाई उसु सिकाउने सपना छ।
'मनबाटै केही गर्ने इच्छा, अनुशासन, मिहिनेत र निरन्तरता भए सफल खेलाडी हुन सकिन्छ,' जुनी भन्छिन्।