जनकपुरधाममा जारी साउथ एशियन गेम (साग) अन्तर्गत आज भएको ७ वटा कुस्ती खेलमध्ये भारतले ४ वटा स्वर्ण पदक हासिल गरेको छ।
आज भएको खेलमा श्रीलंकाले २ र पाकिस्तानले एउटा स्वर्ण पदक हासिल गरेको हो। पुरुष तर्फको ६१ किलोग्रामको खेलमा भारतका रविन्द्रले पाकिस्तानका मोहम्मद बिलाललाई पराजित गर्दै विजयी भए।
८६ किलोग्रामको खेलमा भारतका पवनकुमारले पाकिस्तानका उमर अहम्मदलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरेका हुन्। त्यस्तै पुरुष तर्फ नै ९२ किलो ग्राम तौल समूहमा भएको खेलमा पाकिस्तानका मोहम्मद ईनामले श्रीलंकाका सलिथालाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे।
त्यसैगरी महिला तर्फ ५९ किलोग्राम तौल समूहका लागि भएको खेलमा भारतकी अंशुले बंगलादेशकी निपायरन एलाई पराजित गर्दै स्वर्ण जितिन्। नेपालकी कोमल खरीले रजत पदक जितेकी छन्।
महिला तर्फ ६२ किलोग्राम तौल समूहका लागि भएको खेलमा भारतकै साक्षी मलिकले श्रीलंकाकी माहिरालाई पराजित गर्दै स्वर्ण पदक हासिल गर्न सफल भएकी छिन्।
महिलातर्फ ६५ किलोग्राम तौल समूहमा भएको खेलमा श्रीलंकाकी दिलहानीले नेपालकी सुशिला चन्दलाई पराजित गर्दै स्वर्ण पदक आफ्नो पक्षमा पार्न सफल भएकी हुन् । त्यसैगरी महिला तर्फ नै भएको ७२ किलोग्राम तौल समुहको खेलमा श्रीलंकाकी अयोमीले नेपालकी निर्मलालाई पराजित गरी स्वर्ण जित्न सफल भइन्।