१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटलबमा नेपाल फाइनलमा पुगेको छ। आइतबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशमाथि १-० गोलको जित निकाल्दै नेपालले फाइनलको यात्रा पक्का गरेको हो।
अब नेपालले स्वर्णको लागि मंगलबार भुटनसँग खेल्नेछ। ९ अंकसहित दोस्रो स्थानमा रहेको भुटान फाइनल पुगिसकेको छ। आजको जितपछि शीर्ष स्थानमा उक्लिएको नेपालको १० अंक भएको छ।
पहिलो हाफको ११औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा गोल गर्दै सुनिल बलले नेपाललाई अग्रता दिलाएका थिए।
नेपालले समूह चरणमा भुटानलाई ४-० गोलले हराएको थियो। दोस्रो खेलमा नेपालले श्रीलंकासँग १-१ गोलको बराबारी खेलेको थियो।
तेस्रो खेलमा शनिबार नेपालले माल्दिभ्सलाई २-१ गोलले हरायो।
भारतमा भएको सागको अघिल्लो संस्करणमा पनि पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको थियो। आयोजक भारतमाथि २-१ गोलको जित निकाल्दै नेपाल स्वर्ण लिएर घर फर्किएको थियो।
यसपालिको सागको पुरुष फुटबलमा भारत भने सहभागी छैन।