नेपाली पौडीबाज गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन्।
आइतबार ४ सय मिटर फ्रिस्टायलमा स्वर्ण जितेसँगै गौरिकाले जारी १३औं सागमा व्यक्तिगत स्वर्ण संख्या ३ पुर्याइन। यसअघि उनले २ सय मिटर फ्रिस्टायल र २ सय मिटर ब्याकस्टोकमा पनि स्वर्ण जितेकी थिइन्।
उनले आइतबार ५० ब्याकस्टोकमा भने रजतमै चित्त बुझाउनु पर्यो। यसअघि उनले सय मिटर ब्याकस्टोकमा पनि रजत नै जितेकी थिइन्।
आइतबार गौरिकासहितको नेपाली टिमले ८ सय मिटर फ्रिस्टायल रिलेमा कास्य जितेको छ। यसअघि नेपाली महिला टिमले चार सय मिटर फ्रिस्टायल रिलेमा पनि कास्य जितेको छ।
आइतबारसम्ममा गौरिकाले पदक संख्या ७ पुर्याएकी छिन्।
सन् २०१६ मा भारतमा भएको सागमा उनले ४ पदक जितेकी थिइन्। जसमा १ रजत र ३ कास्य समावेश थिए।
गौरिकाले सागमा समग्रमा ३ स्वर्ण, ३ कास्य र ५ रजत जित्दै इतिहास कोरिसकेकी छिन्।
सागको ३५ वर्षे इतिहासमा गौरिकाले पौडीको व्यक्तिगत स्वर्ण जित्ने नेपालकी पहिलो खेलाडी बनेकी थिइन्।
अब उनले जारी सागमा अर्को स्वर्ण जिते दीपक विष्टको नाममा रहेको चार स्वर्णको कीर्तिमान पनि बराबरी गर्नेछिन्।