प्रशिक्षक हरि खड्काको भनाइ मान्ने हो भने नेपाली महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर हुन्।
तिनै साम्बासहित नेपाली टिम १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा आज स्वर्णको लागि भारतसँग प्रतिस्पर्धा गर्दैछ।
खेल पोखरा रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ।
११औं सागबाट समावेश भएको महिला फुटबलमा नेपालले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन। दुबै पटक भारतनै बाधक बन्यो।
अघिल्लो संस्करणमा पनि नेपाल आयोजक टिम भारतसँग २-१ गोलले पराजित हुँदा रजतमै चित्त बुझाउन बाध्य भएको थियो।
‘भारतसँग बदला लिने अवसर आएको छ,’ साम्बाले सेतोपाटीसँग भनिन्।
पाएको मौकालाई छिनभरमै गोलको दिशा दिन सक्ने साम्बा भोलिको खेलमा निर्णायक भूमिका खेल्ने सक्ने खेलाडी हुन्।
यही कारण उनलाई कतिपयले गोल मेसिन पनि भन्छन्। जारी प्रतियोगितमा माल्दिभ्सविरूद्ध ह्याट्रिक गर्दै उनले सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता अनु लामाको कीर्तिमान तोडिन्।
अनुको ३५ गोलको कीर्तिमान भंग गर्दै साम्बाको अन्तर्राष्ट्रिय गोल संख्या ३५ पुगेको छ।
यद्यपी शनिबार भएको समूह चरणको खेलमा नेपाल भारतसँग १-० गोलले पराजित भयो।
‘भारतसँगको हारलाई उनीहरूको कमजोरी थाहा पाउने अवसरको रूपमा लिएको छु। यसको सदुपयोग फाइनलमा गर्छौं,’ साम्बाले भनिन्।
उनले समूह चरणमा भारतसँगको हारले झन् मनोबल बढेको बताइन्। उनले नेपालको लक्ष्य नै गोल्ड मेडल दिलाएर सारा नेपालीलाई खुसी बनाउनु रहेको सुनाइन्।
‘धेरै टुर्नामेन्ट खेलियो। भारतलाई हिरो गोल्डकपबाहेक हराउन सकिएको छैन। गोल्ड जित्दा त्यो सबैको लागि ऐतिहासिक पल हुन्छ,’ उनले भनिन्।