ओलम्पिक र क्षेत्रीय खेलकुदमा फुटबलको स्वर्णलाई 'स्वर्णको पनि स्वर्ण' को रूपमा लिइन्छ। टिम खेलमा सबैभन्दा लोकप्रिय खेल फुटबलमा स्वर्ण जित्न सबै टिमले सम्पूर्ण शक्ति खर्च गर्ने गरेका छन्।
विश्वकप फुटबलको सर्वाधिक सफल टिमले सन् ओलम्पिको इतिहासमा स्वर्ण जित्न ११६ वर्ष कुर्नु परेको थियो। पाँच पटकको विश्व च्याम्पियन भएर पनि ओलम्पिकमा स्वर्ण जित्न नसक्दा ब्राजिल तड्पिएको थियो।
त्यसैले ब्राजिलले सन् २०१६ घरेलु मैदानमा आयोजना भएको ओलम्पिकको यु–२३ फुटबल टिममा आफ्ना स्टार खेलाडी नेइमारसहितका खेल सिनियर टिममा राखेको थियो। फलस्वरूप ब्राजिलले फाइनलमा जर्मनीलाई हराएर पहिलो पटक ओलम्पिकको स्वर्ण पहिलो जितेको थियो।
दक्षिण एसियाली खेलकुद (साग) मा पनि फुटबलको स्वर्णलाई महत्वका साथ लिने गरिन्छ। नेपालले साग फुटबलमा स्वर्णमा ह्याट्रिक गरिसकेको छ। सन् १९८४ मा नेपालले घरेलु मैदानमा स्वर्ण जितेको थियो। सन् १९९३ मा ढाका साग पनि नेपालले दोस्रो पटक फुटबलबाट स्वर्ण भित्र्यायो। फुटबलबाट जितेको स्वर्ण नेपालले त्यो साग जितेको एक मात्र स्वर्ण थियो।
नेपाललाई तेस्रो स्वर्ण जित्न भने २३ वर्ष लाग्यो। सन् २०१६ मा भारतमा भएको सागमा नेपालले घरेलु टिमलाई नै पराजित गरेर साग फुटबलको स्वर्णमा ह्याट्रिक गरेको थियो।
यसपटक नेपाललाई फुटबलमा स्वर्ण जितेर रेकर्ड बनाउने मौका छ। मंगलबार ३ बजे दशरथ रंगशालामा हुने फाइनल खेलमा भुटानलाई हराउन सके नेपालले चौथो पटक फुटबलबाट स्वर्ण जित्नेछ।
नेपाल साग फुटबलमा लगातार दोस्रो पटक र समग्रमा छैटौं पटक फाइनलमा पुगेको हो। नेपाल सन् १९८७ र १९९९ मा भने नेपाल पनि चुकेको थियो।
सागमा पाकिस्तानले सबैभन्दा बढी ४ पटक स्वर्ण जितेको छ। नेपाल र भारतले ३–३ पटक उपाधि जितेका छन्।
आइतबार विजेता बने स्वर्णमा पाकिस्तानसँग बराबरी गर्ने नेपाल समग्र पदकमा भने अघि रहनेछ। नेपाल ४ स्वर्ण र ३ रजतसहित साग फुटबलको पदकमा अघि रहनेछ।
नेपाललाई इतिहास बनाउन सहज भने छैन। फाइनलमा पुगेको भुटानले जारी सागमा उत्कृष्ट खेलिरहेको छ। लिग चरणमा भुटानले नेपालबाहेका अन्य टिमसँग उत्कृष्ट खेल पस्केको थियो। पहिलो खेलमा बंगालदेशलाई १–० गोलले हराउँदा भुटानले सागमा पहिलो जित निकाल्ने रेकर्ड बनाएको थियो।
दोस्रो खेलमा भने भुटानमाथि नेपालले ४–० को सहज जित निकालेको थियो। तेस्रो खेलमा भुटानले अर्को जित निकाल्यो। माल्दिभ्सलाई २–१ ले हराउँदै अंक तालिकामा शीर्ष स्थानमा उक्लियो। अन्तिम खेलमा श्रीलंकामाथि ३–० को जित निकालेर भुटानले पहिलो पटक फाइनलमा स्थान बनाएर इतिहास बनायो।
भुटानका कप्तान चेन्चो ग्याल्सेन स्वर्ण जित्नकै लागि काठमाडौं आएको बताउँछन्। 'मलाई मेरा खेलाडीमाथि पूर्ण विश्वास छ,' उनले भने,'त्यही विश्वास गरेर नै साग सुरू हुनुअघि राम्रो फुटबल खेल्ने बताएको थियो। त्यो तपाईंले देखिसक्नुभयो।'
जारी प्रतियोगिता उत्कृष्ट खेल पस्किरहेकाले नेपाल भुटानलाई सहज रुपमा लिने पक्षमा छैन। नेपालका प्रशिक्षक बालगोपाल महर्जन फुटबलमा कुनै प्रतिद्वन्द्वी सानो ठूलो नहुने बताउँछन्।
'फुटबलमा प्रतिद्वन्द्वी सानो ठूलो हुँदैछ। त्यसैले हामीलाई शतप्रतिशत दिएर खेल्नुको विकल्प छैन,' उनले भने।
उनले नेपाली टिम स्वर्णका लागि खेल्ने बताए।