नेपालमा जारी साग प्रतियोगिता अन्तर्गत जनकपुरधाममा कुस्तीका सम्पूर्ण खेलहरु सकिएको छ। कुस्ती प्रतियोगितामा भारतका खेलाडीहरुले आफ्नो दबदबा देखाएका छन्।
कुल २० स्वर्णका लागि भएको कुस्ती प्रतियोगितामध्ये भारतले १४ तौल समूहमा सहभागिता जनाएको थियो। सहभागिता जनाएका सबै अर्थात १४ वटै खेलमा उसले स्वर्ण पदकमा कब्जा जमाउन सफल भयो।
नेपालले २० वटै खेलमा सहभागिता जनाएको थियो। जसमध्ये १ स्वर्ण पदक हात पार्न सफल भयो। नेपालका लागि संगिता धामीले स्वर्ण दिलाउन सफल भएकी थिइन्। ५५ तौल समूहको प्रतियोगितामा धामीले बंगलादेशकी सार्कर रिमीलाई पराजित गरी स्वर्ण पदक प्राप्त गरेकी हुन्।
नेपालले कुस्ती प्रतियोगितामा १ स्वर्णका अतिरिक्त ४ रजत पदक र ८ कास्य पदक जित्न सफल भयो। भारतका लागि ५७ किलो तौल समूहमा सरिता, ५९ किलो समूहमा अंशु, ६१ किलो समूहमा रविन्द्र, ६२ किलो समूहमा साक्षी मलिक, ७६ किलो समूहमा गुरशरण, ८६ किलो समूहमा पवन कुमार, १२५ किलो समूहमा सुमित, ९७ किलो समूहमा काडियन सत्यावाली लगायत १४ खेलाडीले स्वर्ण पदक जित्न सफल भए।
यता पाकिस्तानी खेलाडीहरुले २ स्वर्णमा कब्जा जमाउन सफल भए। पाकिस्तानका लागि ७० केजी तौल समूहमा इन्यात उल्लाह, ७९ किलो तौल समूहमा अबदुल रहमानले स्वर्ण पदक जितेका छन्।
श्रीलंकाली दुई खेलाडीले सागको कुस्ती प्रतियोगितामा स्वर्ण पदक जितेका हुन्। श्रीलंकाका लागि ६५ किलोग्राम समूहतर्फ श्रीलंकाकी दिलहानी , ७२ किलोग्राम समूहतर्फ अयोमीले स्वर्ण पदक जिते।