सुन्दरीहरू बिरालो चालमा आलोपालो मञ्ज अगाडि आउँछन्। दायाँबायाँ जीउ लच्काउँछन्। कुनै एउटा कोणमा ढल्किँदै मन्द मुस्कान छर्छन्। र, आफ्नो छाती, कम्मर र नितम्बको नाप सुनाउन थाल्छन्।
यो संसारको कुनै पनि सुन्दरी प्रतियोगितामा देखिने सामान्य दृश्य हो। कार्यक्रम हेर्ने दर्शक पनि युवतीहरूका जीउको नाप सुनेरै दंग पर्छन्।
मिस पेरुका प्रतियोगीले भने यो परम्परा तोडेका छन्।
यसै साता सम्पन्न मिस पेरुका सहभागी उसैगरी बिरालो चालमा मञ्च अगाडि आए। दायाँबायाँ जीउ लच्काए। तर, आफ्नो जीउको नाप सुनाएनन्। बरु यस्तो तथ्यांक भने, जसले सुन्दरी प्रतियोगिता हेर्न आएका दर्शकलाई सिरिंग पार्यो।
उनीहरूले सुनाएको तथ्यांक दक्षिण अमेरिकी देशहरूमा जारी महिला हिंसासँग सम्बन्धित थियो।
‘मेरो नाम क्यामिला क्यानिकोबा हो। म लिमाको प्रतिनिधित्व गर्छु। मेरो नाप २,२०२ हो। मेरो देशमा नौ वर्षयता २,२०२ बालिका भ्रुण हत्याका घटना भए,’ पहिलो सहभागीले भनिन्।
उनलाई पछ्याउँदै दोस्रो सहभागीले भनिन्, ‘मेरो नाम क्यारेन क्युटो हो। म लिमाको प्रतिनिधित्व गर्छु। मेरो नाप ८२–१५६ हो। यस वर्ष मेरो देशमा ८२ बालिका भु्रणहत्या भए भने १५६ भ्रुणहत्याको कोशिस गरियो।’
सुन्दरी प्रतियोगितामा महिलालाई वस्तुका रूपमा प्रयोग गरियो भनेर संसारभरि आलोचना हुँदै आएको छ। ल्याटिन अमेरिकी देशहरू पनि यसबाट अछुतो छैनन्। मिस पेरुका २३ सहभागी सुन्दरीले भने यसपालि उक्त प्रतियोगितालाई महिला सशक्तीकरण अभियानमा प्रयोग गर्ने निर्णय गरे। प्रतियोगिताका आयोजक पेरुकी पूर्व सुन्दरी जेसिका न्यूटनले यसमा समर्थन जनाइन्। प्रत्येक सहभागीले मञ्च अगाडि आएर आफ्नो शरीरको नाप सट्टा महिला हिंसासँग सम्बन्धित कुनै न कुनै तथ्यांक पेस गर्ने सहमति भयो।
‘म एल्मेन्ड्रा माक्र्वीन। म क्यान्टेको प्रतिनिधित्व गर्छु। मेरो नापः स्कुलमा पढ्ने २५ प्रतिशतभन्दा बढी किशोरीहरू कुनै न कुनै किसिमका यौन हिंसाको शिकार हुन्छन्,’ प्रतियोगिताकी अर्की सहभागीले भनिन्।
प्रतियोगितामा विजयी भएकी रोमिना लोजानोले आफ्नो नाप यस प्रकार दिएकी थिइन्, ‘सन् २०१४ यता ३,११४ महिलाको बेचबिखन भयो।’
अगाडि मञ्चमा प्रतियोगीले यस्तो तथ्यांक सुनाइरहँदा पछाडि बालिका भु्रणहत्या र अन्य महिला हिंसाबारे अखबारमा छापिएका समाचारका ‘कटिङ’ प्रदर्शन गरिएका थिए। यसमा सबभन्दा प्रभावकारी लेडी ग्यूलिनको घाइते अनुहार थियो। यो महिला हिंसा उजागर गर्ने गत वर्षको प्रतिनिधि घटना हो।
महिला हिंसाविरुद्ध सन् २०१६ यता पेरुमा विभिन्न अभियान चलिरहेको छ। त्यस वर्ष एउटा सिसिटिभी भिडियो इन्टरनेटमा सार्वजनिक भयो, जसमा सिन्डी एर्लेटा कन्ट्रेरासलाई उनका पूर्वप्रेमीले होटलको रिसेप्सनमा कपाल समातेर तानिरहेका थिए। त्यसै वर्ष मार्चमा कन्ट्रेसालाई अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले ‘अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड’ बाट सम्मानित गरेकी थिइन्।
मिस पेरु प्रतियोगिताको अन्त्यमा सबै प्रतियोगीले महिला हिंसा अन्त्य गर्न कानुनमा के–कस्ता सुधार हुँदैछन् भनी प्रश्न गरेका थिए।