हेमन्त रानाले करिब वर्षदिन अगाडी एक गीत रिलिज गरे। गीतको बोल थियो : 'सुन साईली साइँली चालिस कटेसी रमाउँला' । गीत राता रात भाइरल भयो। गीतले रोजीरोटीका लागि आफ्ना जवान पत्नीलाई देशै छाडेर परदेशमा पसिना बगाइरहेको ठूलो युवा जमात र देशमा साथै समय बिताउन आफ्ना पति कुरी रहेका पत्नीहरूसँगै धेरैको मुटु छोयो।
गीतले अकल्पनिय लोकप्रियता हासिल गर्यो। गीतको भिडियोबाट नेपाली फिल्ममा परिचय स्थापित गराउन ठूलै संघर्ष गरिरहेका अभिनेता गौरव पहारीका लागि ठूलो साहारा बन्यो। उनी आफ्नो नाम कम 'साईंला'ले ज्यादा परिचित भए।
अब सोही गीतको अन्तर्यलाई केन्द्रबिन्दुमा राखिदैं फिल्म बन्ने औपचारिक घोषणा गरिएको छ। बिहिबार एक कार्यक्रमका बिच सो फिल्मको घोषणा गरिएको हो। पहारीको शीर्ष भूमिका रहने फिल्मलाई 'कबड्डी' फिल्म श्रृंखलाबाट लोकप्रिय बनेका निर्देशक रामबाबु गुरूङले निर्देशन गर्नेछन्। फिल्ममा गौरवको जोडीका रूपमा गीतको भिडियोमा अभिनय गरेकी अभिनेत्री मेनुका प्रधान देखिनेछिन्।
निर्देशक गुरूङनै फिल्मका लेखक हुन्। गुरूङले गीतको 'थिम'सँग फिल्मको कथा रहने बताउँदै यस्तो कथामा पहिलो पटक फिल्म बनाउन लागेकाले आफू उत्साहित रहेको बताए। उनका अनुसार फिल्मको कथा गाँऊको परिदृश्यमा हुनेछ र सारा फिल्म गाँऊमा नै सकिने जानकारी दिएका छन्।
त्यस्तै फिल्मबाट गौरवले फिल्म निर्माताका रूपमा आफूलाई डेब्यू गराउँदैछन्। उनलाई निर्माण गायक हेमनत राना, विशाल गुरूङ, अजु पोखरेल तथा मोहन थापाले साथ दिनेछन्। पूर्वी नेपालको धनकुटामा फिल्मको छाँयाकन गरिनेछ।
फिल्म माघको अन्तिम साताबाट छायाँकनमा जानेछ।