पार्किन्सन्स रोगले पीडित अभिनेता मदनकृष्ण श्रेष्ठले रोगसँगको साक्षात्कारका सम्बन्धमा आफ्नो अनुभव साटेका छन्। बिहिबार काठमाडौंमा इन्फ्ल्युएन्सर्स नेपालले प्रदर्शन गरेको ‘लिभिङ विथ पार्किन्सन डिजिज’ वृत्तचित्रमा उनीसँगै पार्किन्सन्सका अन्य विरामीले आफ्ना अनुभव साटेका थिए।
वृत्तचित्रमा मदनकृष्णलाई रोग लागेको सुरुवातदेखि अप्रेसन गरेको लगायतका कथाव्यथा समेटिएको छ। पार्किन्सन्सका बिरामीको अनुहारको चमक हराउने, अभिव्यक्ति हराउने, कमजोर हुने, खुसी हराउने लगायतका समस्याहरु हुन्छन्।
‘अभिनय गर्ने कलाकारहरुलाई त यो झन् असाध्यै नराम्रो रोग रहेछ।’ श्रेष्ठले वृत्तचित्रमा भनेका छन्, ‘अभिव्यक्ति गरेर कलाकारहरुलाई प्रभावित गर्नुपर्ने हुन्छ, झन् अभिव्यक्ति नै हराएर जान्छ। तर त्यसलाई पनि मैले धानी रहेको छु।’
पार्किन्सन्सले कमजोर अनुभूति गराए पनि आफू चाहिँ आत्मविश्वास बढाएर काममा निरन्तर लागेको उनले बताए।
वृत्तचित्रलाई पार्किन्सन्सकै रोगी बनिता खनालले निर्माण गरेकी हुन्। वृतचित्रमा उनी र श्रेष्ठसँगै पार्किन्सनका रोगी तिलक बहादुर सापकोटा र हरि काफ्लेको प्रेरणादायी कथा पनि समेटिएको छ।
पार्किन्सन्स रोगको विषयमा सन्देश साथै समाजमा कसरी स्थापित हुने र यसलाई कसरी सामना गर्ने लगायतको सन्देश वृत्तचित्रले दिएको छ।
https://www.youtube.com/watch?v=MWkx_G2WJ0s