नेपाल चलचित्र प्राविधिक संघको नेफ्टा अवार्डको दशौं संस्करण आगामी फागुन ३० गते हुने भएको छ । अध्यक्ष पुष्कर लामाले सो मितिको घोषणा गरेका हुन् ।
अघिल्ला वर्षझै यसपटकको अवार्ड पनि विदेशमै हुने भएको छ । लामाले उत्कृष्ट पाँच घोषणासँगै अवार्ड आयोजना हुने मुलुकको नाम समेत सार्वजनिक गरिने बताएका छन् । आउँदो सातादेखि पाँच सदस्यीय जुरीले फिल्म मूल्यांकनको काम सुरु गर्ने छन् भने दुई सातापछि सांस्कृतिक प्रस्तुति दिने कलाकारले रिहर्सल थाल्नेछन् ।
त्यस्तै अवार्डको एघारौं संस्करण आगामी दशैं अगाडि नै आयोजना हुने पनि जनाइएको छ । ‘हामी दुबै अवार्डमा जुटिसकेका छौं’ उनले भने, ‘दशौं अवार्डको लोकेसन र विस्तृत पक्ष उत्कृष्ट पाँच घोषणा बेला सार्वजनिक गर्नेछौं ।’
चलचित्र प्राविधिकको छाता संगठनले यसअघि नेपालसहित मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड सम्पन्न गरेको थियो।