फिल्म 'रानीमहल'को औपचारिक निर्माण घोषणा भएको छ । राजधानीमा बिहिबार आयोजित एक कार्यक्रममा फिल्मको निर्माण घोषणा सँगै शुभ साइत गरियो।
फिल्ममा प्रेमसँगै अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गरिने निर्देशक हिमाल न्यौपानेले बताए । 'रानीमहल जस्तो नाम छ त्यसरी नै आफुले कथावस्तुलाई पर्दामा उतारेर दर्शकको भावना अनुसारको फिल्म बनाउने सोचले निर्देशनमा होमिएको', भन्दै न्यौपानेले त्यसको लागी सबैको साथ सहयोग र मायाको आशा व्यक्त गरे ।
त्यस्तै निर्माण टिमले नामले फिल्म दरबारसँग सम्बन्धित जस्तो लागे पनि यथार्थमा फिल्म दरबार र त्यसको सेरोफेरोको कथाबाट टाढा रहेको कार्यक्रममा स्पष्ट पारेका थिए । 'रानीमहल'मा त्रिकोणात्मक प्रेम कथामा हुनेछ । डेढ करोड लगानीमा बन्न लागेको फिल्म माघको तेस्रो हप्तादेखि फ्लोरमा जाने छ। ४५ दिन सुटिङ सेड्युल रहेको फिल्मको बुटबल, भैरहवा, चितवन, स्याङग्जा,पोखरा, पाल्पा र काठमाडौंमा सुटिङ गरिने बताइएको छ ।
फिल्ममा वर्षा शिवाकोटी, आशिष अधिकारी, नीर शाह, रश्मी भट्ट, बिएस राना, प्रशान्त ताम्राकार, साहिल श्रेष्ठ, मानस्वी खरेलको मुख्य भूमिका हुनेछन् । फिल्म मुख्य अभिनेता आशिषले तथा दुई मुख्य अभिनेत्री मानस्वी र साहिलको डेब्यू हो ।
स्वस्तिक फिल्मस् को ब्यानरमा बन्ने फिल्ममा निर्माताको रुपमा बिमल भुसाल छन् भने छायाँकन निरज कंडेलले गर्नेछन् । अर्जुन पोखरेल र हर्कुलस बस्नेतको संगीत रहने फिल्ममा द्वन्द्व हिमाल केसीको रहनेछ । रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।