बर्सेनी तिहारमा व्यंग्यात्मक देउसी-भैलो खेल्दै आएको 'सिस्नुपानी नेपाल' पछिल्लो समय रोजगारीका लागि विदेश भासिएका नेपालीलाई हँसाउने र उनीहरूका स्वास्थ्य, सुरक्षित जीवनका बारेमा जनचेतना जगाउने अभियानमा लागेको छ। गत वर्षबाट यस्तो यात्रा सुरू गरेको समूह तेस्रो पटक आफ्नो प्रस्तुति लिएर खाडीका तीन देशमा जान लागेको हो। सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सिस्नुपानीले उक्त कुरा सार्वजनिक गरेको हो।
कार्यक्रममा आगामी माघदेखी १८ गतेदेखि फागुन ५ सम्म आफ्नो तालिका पेस गरे। उनीहरूले युनाइटेड अरब इमिरेट्स, बहराइन तथा ओमानमा आफ्नो प्रस्तुति दिनेछन्। करिब १० ओटा प्रस्तुति दिने योजनामा रहेको सिस्नुपानी यात्रामा मनोज गजुरेल, हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागे, व्यङ्ग्य कवि अर्जुन पराजुली, व्यङ्ग्यकार टङ्क आचार्य तथा वरिष्ठ चिकित्सक एवं साहित्यकार डा. रविन्द्र समिर सहभागी हुनेछन्।
कार्यक्रममा बोल्दै कलाकार मनोज गजुरेलले देशको अर्थतन्त्रका लागि खाडीमा रगत पसिना बगाइरहेका नेपाली दाजुभाइलाई सानै स्तरमा भएपनि मनोरञ्जन र सचचेतना दिन यो यात्रा सुरु गरेको बताए। कार्यक्रम हेर्न कुनै शुल्क नलाग्ने जानकारी पत्रकार भेटघाटमा दिइयो।
कार्यक्रमको व्यवस्थापन सम्बन्धित देशका गैरआवासिय नेपाली संघले गर्नेछ। श्रमिकहरूका क्याम्प, नेपालीहरूको बाक्लो उपस्थिति हुने प्रेक्षालय तथा उनीहरू कार्यरत कम्पनीमा गएर कार्यक्रम गरिनेछ।
सिस्नुपानीले यसअघि यस्तै दुईवटा यात्रा सम्पन्न गरिसकेको छ।