आख्यानकार नारायण ढकालको उपन्यास ‘हजार माइलको बाटो’ सार्वजनिक भएको छ। शनिबार प्रज्ञा प्रतिष्ठानस्थित डबलीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।
नेपाली आख्यानमा आफ्नो विशिष्ट स्थान बनाएका ढकालको उपन्यासमाथि प्राध्यापक पीताम्बर शर्मा र लेखक एवं चिन्तक आहुतिले धारणा राखेका थिए। त्यस्तै, आख्यानकार ढकालसँग शिखर घिमिरेले अन्तर्क्रिया पनि गरेका थिए।
उपन्यासमाथि बोल्दै प्राध्यापक शर्माले उपन्यास तथा साहित्यमा काँठको जीवन सबैभन्दा सशक्त ढंगले अभिव्यक्त गर्ने लेखक नारायण ढकाल नै भएको बताए। आफूले ढकालका यसअघिका अधिकांश रचना पढेको बताउँदै शर्माले थपे, उपन्यास, परिवर्तन र मुक्तिको मूल बाटो खोजेका गोरेटाहरूको कथा हो।
यस्तै अर्का वक्ता आहुतिले उपन्यासमाथि कडा आलोचना गर्दै पुस्तकमा पुराना सौन्दर्यशास्त्र प्रयोग भएको आरोप लगाए। आहुति थपे, ‘हजार माइलको बाटो’मा काँठको पनि सबैभन्दा उच्च तहको जीवन मात्र समेटिएको छ। साथै समग्र लेखकहरूले गर्ने गरेका त्रुटिहरू ढकालले पनि दोहोर्याएका छन्।’ उनले पुस्तकमा प्रयोग भएका केही शब्द र वाक्यांशहरूको समेत आलोचना गरे।
उपन्यासलाई फिनिक्स बुक्सले प्रकाशनमा गरेको हो। ढकालका यसअघि चार उपन्यास, निबन्धसंग्रह तथा कथाका किताबहरू प्रकाशित भइसकेका छन्।