पब्लिकेशन्स नेपालयले कविशिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण कृतिको संगालो प्रकाशित गरेको छ। पाँच खण्डमा समेटिएको ‘कविशिरोमणि रचनावली’ फागुन ७ गते लेखनाथ पौड्यालको स्मृति दिवस अवसर पारेर सार्वजनिक गरिएको हो।
कृति सार्वजनिक कार्यक्रममा लेखनाथ पौड्यालको काव्विक व्यक्तित्व र उनका कृतिमाथि संक्षिप्त चर्चा भएको थियो। चर्चामा नेपाली शिक्षा परिषदकी महासचिव रमा शर्मा, रचनावलीका संकलक तथा सम्पादक प्राध्यापक सनतकुमार वस्ती, कविशिरोमणिकी नातिनी डा. प्रतिभा पाण्डे र लेखनाथ साहित्य प्रतिष्ठान पोखराका शुक्रराज अधिकारीको सहभागिता थियो।
‘लेखनाथका कविताले आफ्नो पुस्तालाई नैतिकवान गुणी बन्न प्रेरित गरेको छ। लेखनाथको साहित्यमा रहेको दार्शनिक पक्षलाई अहिलेको पुस्ताले पनि बुझ्नु आवश्यक छ,’ कविशिरोमणि लेखनाथसँगको भेटका क्षण संस्मरण गर्दै शर्माले भनिन्।
आफू निकै कलिलो हुँदाका स्मृति केलाउँदै लेखनाथकी नातिनी डा. प्रतिभा पाण्डेले भनिन्, ‘बाबाको प्रभावले त्यसबेलाका बालक हामी आपसी झगडासमेत कविताबाटै गर्ने गथ्र्यौं। बाबाका कृतिहरू यसरी एकमुष्ट प्रकाशित भएपछि अब उहाँलाई पढ्न सजिलो भएको छ।’
कविशिरोमणिलाई ‘बाबा’ नै सम्बोधन गर्न रुचाउने यस कृतिका सम्पादक प्राध्यापक सनतकुमारले पनि लेखनाथप्रति आफ्नो धारणा राखे। ‘बाबाको साहित्यको म पुजारी हुँ। मैले यो कृतिमा काम गर्न पाउनु एउटा मनले रुचाएको अनुष्ठान गर्नु हो,’ उनले भने।
कृतिको प्रकाशन स्तरीय रहेकोमा बताउँदै उनले भाका हालेर कविता वाचन पनि गरे। संग्रहमा प्राध्यापक वस्तीले लेखनाथका जटिल पद—पदावलीलाई सन्दर्भसहित सरल बनाएका छन्।
नेपाली साहित्यका स्थापित रचनाकारका कृतिलाई ‘नेपालय क्लासिक्स’ शीर्षकमा प्रकाशित गर्दै आएको र भविष्यमा पनि यस्ता कृति प्रकाशित गर्दै जाने नेपालयले जानकारी गराएको छ।
‘भारतमा पुराना साहित्यकारका ग्रन्थ यसैगरी एकमुष्ठ प्रकाशित गरेको देखेको हो। नेपालमा कविशिरोमणिको कृति यो रुपमा पाउँदा बडो खुशी लाग्यो,’ पत्रकार राजेन्द्र दाहालले भने।
‘कविशिरोमणि रचनावली’ को मूल्य ६ हजार ९ सय ७५ रुपैयाँ छ।