भक्तपुरमा मासिक रुपमा सञ्चालन हुँदै आएको ‘सँझ्या साहित्य’मा एकैसाथ चार कविहरूले आफ्नो सृजना वाचन गरेका छन्।
शनिबार भएको कार्यक्रममा कविहरू हेमन्त विवश, सरस्वती श्रेष्ठ ‘सरु’, तीर्थ संगम राई र नवीन प्यासीले कविता वाचन गरेका थिए। सृजना वाचनको फागुन श्रृङखला अन्तर्गत कविहरूले आफ्नो ६/६ थान कविता वाचन गरेका थिए।
फरक–फरक स्थानको प्रतिनिधित्व गर्दै आएका कविहरूमध्ये राई कतारमा बस्दै आएका छन् भने श्रेष्ठ पोखरामा बसोबास गर्ने गर्छिन्। सुदुरपश्चिमका कवि विवश र खोटाङका कवि नवीन प्यासीलाई सँझ्या साहित्यले एकैसाथ मञ्चमा उभ्याएको हो।