मधेशमा व्याप्त दाइजो प्रथाको कथालाई लिएर बनेको फिल्म ‘राज्जा रानी’ सिनेमा हलको पहुँचबाट टाढा रहेका गाउँहरुमा पनि देखाइने भएको छ। गत पुस–२१गते देशभरका हलमा प्रदर्शनमा आएको यो फिल्मको मैथिली भर्सन घुम्ती सिनेमामार्फत गाउँ–गाउँमा प्रर्दशन गरिन लागिएको हो।
शुक्रबार बिहान राजधानीमा पत्रकार सम्मेनमार्फत मैथिली भर्सनको निर्माण र प्रर्दशन अधिकार लिएको भोर कम्पनीले घुम्ती सिनेमा संचालन गर्नेबारे जानकारी दिएको हो। प्रदेश नम्बर १ र २ अन्र्तगत मोरङदेखि पर्सासम्मका १० जिल्लाका गाउँहरुमा घुम्ती सिनेमा संचालन गरिन लागेको भोर कम्पनीका अध्यक्ष एवम् ‘राज्जा रानी’ मैथिली भर्सनका निर्माता राजकुमार महतोले जानकारी दिए।
‘यसरी फिचर फिल्मलाई घुम्ती सिनेमामार्फत गाउँ–गाउँमा देखाउन लागिएको सम्भवतः नेपालमा पहिलोपल्ट जस्तो लाग्छ,’ निर्माता महतोले प्रेसमिटमा भने, ‘शनिबार सप्तरीको तिरहुतस्थित लोहजुरा गाउँबाट हामी यो अभियानको शुभारम्भ गर्दैछौं ।
घुम्ती सिनेमा अन्र्तगत फिल्म प्रर्दशनका लागि १० फिट र ८ फिटको प्रोजेक्टरको पर्दा र ४००० लुमेन्स फुल एचडी प्रोजेक्टर र दुई वटा हाई भलुमको साउन्ड सिस्टमको प्रयोग गरी उच्च गुणस्तरमा देखाइने निर्माता महतोले जानकारी दिए ।
यस सिनेमाको मैथिली भर्सनको निमार्ण पक्ष भोर कम्पनीले ‘राज्जा रानी’ मैथिली सिनेमाको पुरै मुनाफा सामाजिक काममा खर्चिने यसअघि नै घोषणा गरिसकेको छ । घुम्ती सिनेमाबाट उठेको पैसा पनि सामाजिक काममै खर्चिन कार्यक्रममा जानकारी दिइयो । भोर बालविवाह र दाइजोप्रथा विरुद्ध काम गर्दै आएको संस्था हो ।