नेपाल चलचित्र निर्माता संघले सिनेमा प्रदर्शक र निर्माता विचको शेयर बाँडफाँडको विषयमा सहमति नभए जेठ २ गते बाट सिनेमा प्रदर्शनमा रोक लगाउने चेतावनी दिएको छ ।
संघले विक्रम संवत २०६० सालमा निर्माता र प्रदर्शन विच भएको होल्ड ओभरको विषयलाई पुन: कार्यन्वयनमा ल्याउने माग गरेको छ। सो समयसिमा भित्र पहिले भएको सहमती कार्यन्वयन नभए खण्डमा स्वदेशी र विदेशी सिनेमा प्रदर्शनमा पूर्ण रुपमा रोक लगाउने चेतावनी पनि । शनिबार राजधानीमा सम्पन्न संघको भेलाले २ बुँदे माग अगाडी सार्दै सो चेतावनी दिएको हो ।
२०६० सालमा काठमाण्डौ उपत्यकामा सिनेमा प्रदर्शन पश्चात उठेको कुल रकममा भ्याट कट्टा गरी बाँकी रकममा चलचित्र भवनको भौतिक सुविधा, व्यापार, ठाउँ तथा क्षेत्रको आधारमा निर्माता र वितरकले ५५ देखि ६० प्रतिशतसम्म र प्रदर्शकले ४० देखि ४५ प्रतिशत सम्मका दरले रकम लिने सहमती भएको थियो । तर, चलचित्र संघका सदस्य रहेका ठुला हलहरुले उक्त सहमति उलंघन गर्दै आएको र साना हलले पनि देखासिकी गर्दै उक्त सहमति उलंघन गरेको संघले आरोप लगाएको छ ।
संघले उपत्यकासहित देशैभर सो सहमती अक्षरश: कार्यन्वयन हुनु पर्ने र हलमा बजाइने ट्रेलर, पोष्टर, स्थानिय पब्लिसिटी खर्चहरु लगायत अन्य मागहरु चलचित्र संघसँगको छलफलमा निर्णय गर्नेपनि प्रेस विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै संघले बक्स अफिस कार्यन्वयन सम्वन्धमा नेपाल नेपाल सरकारले तोकेको समयसीमा भित्रमा पारदर्शी ढंगले बक्स अफिस कार्यन्वयनका लागि राज्यसँग जोडदार माग गरेका छन्। उनीहरुले यसमा निर्माता संघले संस्थागत रूपमा पूर्ण सहयोग गर्ने बताएको छ । माग सम्बोधनका लागि चलचित्र संघसँग वार्ता गर्न ढोका सदैव खुला रहेको पनि जनाएका छन्।