गएको दुई हप्तामा काठमाडौंमा तीन नाटक हेरेँ।
सिल्पी थिएटरमा ‘सखी’, मण्डला थिएटरमा ‘क्लब सेभेन’ र कुञ्जमा ‘अँधेरी नगरी चौपट राजा’।
फरक फरक विधाका तीनवटै नाटकलाई एकैठाउँमा मिलाएर सोच्दा पछिल्लो पल्ट चलिरहेका नाटकका केही सकारात्मक तथा कमजोर पक्षहरू थोरै 'भिजिबल' भएका छन्। तीनलाई एकटक गहिरिएर हेर्ने प्रयत्न गर्दैछु।
सखी नाटक सुरु हुनुभन्दा पहिला निर्देशक घिमिरे युवराजले दुईवटा कुराहरू गरे।
पहिलो, ‘देश संघियतामा गइसकेको यो अवस्थामा अब एक प्रदेशले अर्को प्रदेशको भाषा सुन्ने र बुझ्ने प्रयास गर्नुपर्छ। काठमाडौंले त्यसको सुरुवात गर्नुपर्छ भन्ने लागेर हामीले यो नाटक यसरी प्रस्तुत गरेका हौँ।’
उनले भनेको कुरा नाटकसँग मेल खायो। नाटकमा प्रयोग भएका थोरै नेपाली र धेरै मैथिली संवादहरूले नाटकको मर्म मारेनन् बरु झनै बलियो बनाइदिए।
म गएको दिन नाटकघरबाट केही सर र विद्यार्थीहरू पनि आएका थिए। नाटकका धेरै मुर्धन्य व्यक्तित्व सामेल भएको त्यो अवसरमा उनले फेरि थपे ‘हामी त प्रायः नाचघर पुगिरहेका हुन्छौँ। आज नाचघर नै आएको देखेर ज्यादै खुसी लागेको छ।’
घिमिरे युवराजले बिम्बहरू बोले।
मैले यति बुझेँ, ‘सिल्पीले गरेको प्रयास सरकारी निकायको रूपमा रहेको नाचघरले गर्ने हो भने त्यसले नेपालको भाषिक विविधिकरणलाई बलियो बनाउन ठूलो भूमिका खेल्नेछ।’
आगामी दिनमा हरेक प्रदेशमा बन्ने भाषा आयोगहरूले पनि यी कुरा सोच्लान्।
सखी नाटकले अर्को महत्त्वपूर्ण काम के पनि गर्यो भने त्यसले १० वर्ष लामो युद्ध र जनयुद्धको 'सेटिङ'लाई परिचित पहाड वा हिमालबाट बोकेर भित्री तराईसम्म पुर्यायो। युद्धमा संलग्न भएका मानिसहरूबाट पर पुगेर युद्धबारे कुनै जानकार नभएर पनि त्यसको प्रभावबाट भाग्न नसकेका निर्दोष अनुहारहरूमा पुर्यायो। युद्धलाई राम्रो र नराम्रो नभनीकन त्यसले एक आम मानिसको गाउँ र परिवारले भोगेको अवस्थालाई स्टेजमा उतारिदियो। अझ युद्धको प्रभाव बालबालिकाको निर्दोष आँखाबाट हेर्न खोज्यो।
‘क्लब सेभेन’ हेर्नुभन्दा पहिला र हेरिसकेपछि दुवैपल्ट म बिहेमा सहभागी हुन बैङ्क्वेट पुगेँ। बैङ्क्वेटको सेटिङले पक्कै पनि म दर्शकसँग सिधा सम्बन्ध राख्यो। त्यहाँ भावनात्मक रूपमा निक्कै टाढा भए पनि देखावटी रूपमा नजिक भएको देखाउने धेरै मानिसहरू आउँदै गए, निस्किँदै गए। एक अर्कामा निर्भर भएको समयमा एउटाको कारणले अप्ठ्यारामा पर्ने धेरै मानिसहरू। शहरको ‘म्यानेजर’ जीन्दगी।
केही समयभन्दा पहिला बहिनीको बिहेमा एक जना भिनाजुले सुनाउनुभएको प्रसङ्ग सम्झिन्छु, ‘जन्ती आउँदा १०० जना आएका बेहुली अन्माउने बेलामा १० जना पनि थिएनन्।’
कुनै अवसर भनेर आएपनि हरेक मानिसहरूको आउने उद्देश्य फरकफरक छन्। हात मिलाउनेहरू आँखामा हेर्दैनन्, अँगालो मार्नेहरू आपसमा महशुस नै गर्दैनन्। फोटो खिचाउन मरिहत्ते गर्नेहरू फोटोग्राफरसँग एक छिन बोल्दैनन् वा हाँस्दैनन्। फोटो खिच्ने मान्छेलाई उनीहरूको मुड थाहा हुँदैन। उनीहरू एक आपसमा कस्तो छ वा के गर्दैछौ भनेर पनि सोध्दैनन्।
मानिसहरू नजिक छन् र पनि टाढा छन्। लाग्छ आफूलाई कतै छोडेर उनीहरू बाटो बिराएर त्यहाँ भेला भएका हुन्। क्लब सेभेनले धेरैथोरै एक अर्कासँग पर हुँदै गरेको समाजको तितो यथार्थ भन्छ।
‘अँधेरी नगरी चौपट राजा एक राजा’ को कथा हो जो विवेकशून्य छन् तर त्यो कुरा उनलाई थाहा छैन। उनका हरेक निर्णयहरू कसैले पटकपटक सच्याउनुपर्छ। उनी आफैं सच्चिनुपर्ने जरुरी ठान्दैनन्। न्याय र अन्यायको बीचमा फरक छुट्याउँदैनन्। आखिरमा उनको आफ्नै निर्णय उनको गलाको पासो बन्छ। साधुको भेषमा डुल्नेहरूले अवसर पाउनासाथ उनको पदवी खोस्छन् र नव राजा बन्छन्।
नाटकमा सबल पक्ष छन् तर केही पुरानै कमजोरीहरू सहित छन्।
समग्रमा नाटकले सोच्नुपर्ने कुरा
नाटक हेर्ने मानिसहरू हलसम्म आएका छन्। हल भरिएको छ। समाचारमै भए पनि नाटकको बारेमा थेरथोर लेखिँदैछ। नयाँ नयाँ ठाउँमा नाटक घर खुल्दै छन्। काठमाडौं बाहिर प्रदर्शन भएर काठमाडौं छिरेको ‘सखी’ होस् वा काठमाडौंबाट यात्राको योजना बनाएर देश डुलेका अरू नाटकहरू। दर्शकहरू बढ्दै छन्।
तर सबैथोक राम्रो भइरहेको बेला के गलत भइरहेको छ भन्ने कुरा अक्सर देखिँदैन। फुटबलको उदाहरण दिन्छु। अन्तिम मिनेटमा गोल लागिदियो भने ९० मिनेट जति नराम्रो खेलेपनि गोलले त्यसलाई ढाकिदिन्छ। जब टिमले जितिरहेको हुन्छ त्यस बेला म्यानेजरको कुनै भूमिका हुन्छ जस्तै लाग्दैन। त्यति राम्रा खेलाडी छन्, सुन्दर पास छ, गोल लागिरहेको छ। के नै गर्नुपर्छ र जस्तो लाग्छ। तर जब गोल लाग्न छोड्छ, पास बिग्रिएको पनि देखिन्छ। गुमाएका अवसरहरू छताछुल्ल हुन्छन्। म्यानेजरको भूमिका र निर्णय क्षमता पनि देखिन्छ। सानो सानो गल्ती छो अरूबेला सोचिएका पनि हुँदैनन् ती सबै छताछुल्ल हुन्छन्।
यो उदाहरण नाटकसँग जोड्न चाहन्छु। अहिले कम्तीमा काठमाडौंका नाटक घरले दर्शक पाइरहेका छन्। कहिले कम कहिले बढी अलग कुरा हो तर राम्रो नाटक हो भने दर्शक ल्याउनको लागि समस्या छैन भन्ने हरेक थिएटरहरूलाई थाहा छ। त्यसैले पनि हरेक महिना जसो नयाँ नाटकहरू थिएटरमा आइरहेका हुन्छन्।
काठमाडौंका थिएटरमा त्यस्ता व्यक्ति छन् जसले राम्रो नाटक भएर पनि दर्शक खोज्न हम्मे हम्मे परेको विगतको अवस्था भोगेका छन्।
अभिनेता खगेन्द्र लामिछानेले भनेको सम्झिन्छु, ‘४ जना मात्र दर्शक भएको बेलामा पनि गुरुकुलमा नाटक हुन्थ्यो।’
अहिले कम्तीमा त्यो अवस्था छैन। मतलब दर्शकको मामिलामा खेल राम्रो भइरहेको छ। पास गइरहेको छ, खेल बीचमा कतै बिग्रिए पनि गोल लागिरहेको छ। दर्शकहरू खुसी भइरहेका छन्। निर्देशकलाई आफ्नो म्यानेजरको जागिर जाला भन्ने डर छैन।
तर भुल्न के हुँदैन भने चाँडै गोल नलाग्ने दिन आउन सक्छन्। पास बिग्रिन सक्छ। दर्शकहरूलाई कमजोरी थाहा हुन थाल्छ। म्याच फिक्सिङ गरिएको त हैन? खेल भनेर अभ्यास हेर्न बोलाएको त हैन? शंका लाग्न थाल्छ।
र, त्यस्तो लागेर एकपल्ट स्टेडियमबाट फर्किएपछि मान्छे फेरि हत्तपति स्टेडियम पुग्दैन। उसलाई ल्याउन ठूलै संघर्ष गर्नुपर्ने हुन्छ।
म चाहन्छु नाटक बनाइरहेका र मञ्चन गरिरहेका सबैतिरका नाटक घरले यो कुरा बेलैमा मनन् गरून्। नाटक बन्नुपर्छ तर कम्तीमा ती नाटक भएर बनून्। 'एक्सपेरिमेन्ट' गर्नुपर्छ तर त्यसलाई ल्याउनुभन्दा पहिला राम्रो 'टेस्ट ड्राइभ' होस्।
दोहोरिइरहने कमजोरीहरू
‘क्लब सेभेन’ र ‘अँधेरी नगरी चौपट राजा’ दुवैमा एउटै कमजोरी छ र त्यो हो स्टोरीलाई आफ्नो गतिमा बग्न नदिनु। कतै एकदम चाँडो दौडिनु त कतै एकदम ढिलो। महत्त्व पाउनुपर्ने दृश्यहरु ओझेलमा परेका। ओभर एक्टिङ।
क्लब सेभेन त झन् धेरैवटा स्टोरीलाई एउटै नाटकमा देखाउन खोज्दा कतै अल्मलिएको। हुन त त्यसले एउटा सहरको भिन्न भिन्न यथार्थ 'ब्याग' गर्न फरक पात्रहरू खोजेको होला तर ती फरक पात्रहरूमा पनि एक खाले समानता छ। समानता भएका दुई पात्रलाई स्टेजमा देखाउनु र एउटालाई देखाउनु उस्तै हो। अझ एउटालाई देखाउँदा अझ गहिरोगरी कथा भन्ने ठाउँ हुन्थ्यो।
पछिल्लो समय नाटक कोर्स गर्न भनेर एक ब्याचमा छिरेका सबै विद्यार्थीलाई स्टेजमा उतार्ने लोभ निर्देशकमा देखिन्छ। त्यसले अभिनय सिक्न खोजेको एउटा मान्छेलाई स्टेजमा पुग्ने 'प्रिभिलेज' त दिन्छ तर के कोर्समा सिकाउन खोजेको त्यति मात्र हो त?
यदि त्यस्तो हो भने त सानोमा क्रिकेट खेल्दा सबैले ब्याटिङ गर्न खोज्नु जस्तै त भयो नि। अब त थाहा हुनुपर्ने कि क्रिकेट ब्याटिङ मात्र हैन। बलिङ वा फिल्डिङ भएन भने पनि म्याच हारिन्छ।
सबै जना अभिनयको लागि नै नहुन सक्छन् भन्ने कुराको पहिचान गर्ने वातावरण बनाइरहेका छौं कि सबैलाई स्टेजमा उतारेर विज्ञापन गर्न मात्र खोजिरहेका छौं? यो प्रश्न पनि 'क्लास ओपन' गरेका सबै थिएटरले सोच्नेछन् भन्ने लाग्छ।
साथै कतिपय अवस्थामा नाटक हेरिसकेपछि त्यो नाटक किन गरियो होला भन्ने प्रश्नको जवाफ पनि भेट्दिनँ।
नेपाली थिएटर लामो सङ्घर्षको बाटो भएर यहाँसम्म आइपुग्यो। अब एकछिन् चौतारामा सुस्ताएर आफूले हिँडेको बाटोको मुल्याङ्कन र आउने बाटोको योजना बनाउने बेला भएको छ।
क्लिकबेट जस्ता नाटकहरू
एउटा शीर्षक राखेर अर्को समाचार बेच्नु। क्लिकबेट भनेको त्यही हो। तपाईं पनि धेरैपल्ट क्लिकबेटको सिकार बन्नुभएको होला। एकपल्ट बनेपछि त्यसलाई खोल्नुभन्दा पहिला बिचार गर्न थाल्नुभएको होला।
सबैलाई लाग्छ अहिले जमाना क्लिकबेटको छ। धेरै अनलाइन पत्रिकाहरू आफूलाई बिकाउन क्लिकबेटको बुई चढिरहेका छन्। सबैले विश्वास गर्ने र चर्चित भनिएका अनलाइनहरूले पनि बेलाबेला क्लिकबेट ट्राइ गर्छन्। तर उनीहरू के बुझ्दैनन् भने त्यसले केही मात्रामा पोस्ट क्लिक त थप्ला तर अर्को पल्ट त्यो वेबसाइटका समाचारहरू नखोल्ने पनि त बनाउँछ मान्छेलाई।
के नाटक घरहरूले पनि क्लिकबेट ट्राइ गर्न थालेका हुन्? पछिल्लो समय केही नाटक हेर्दा त्यस्तै डर लाग्न थालेको छ। बाहिर एकदम सिँगारिएका तर भित्र खोक्रो। मानिसहरूले झुक्किएर हेर्ने ती नाटकको चिन्ता लागेको छैन। तिनले झुक्याएका कारण अन्य राम्रा नाटकले भोग्ने खाली सिटहरूको डर लागेको छ। झुक्किएर हेर्ने ती नाटकहरू हुनु र नहुनुले खासै फरक पार्दैनन्। तर हुनु र नहुनुले फरक पार्नेखाले हस्तक्षेपकारी नाटक थिएटरले अपनाएको क्लिकबेटको कारण ओझेल पर्न थाले भने त्यसको घाटा नेपाली थिएटरलाई नै हुनेछ।
एउटा मानकको खोजी
काठमाडौंमा ३ वर्षमा लगभग ४० वटाजति नाटक हेरेछु। फरक समयमा फरक विषयका नाटक हेरेकाले तिनलाई कहिल्यै एकैठाँउमा राखेर हेर्न खोजेको रहेनछु। यसपल्ट मण्डला थिएटर जाँदा त्यसको ढोकाभन्दा माथि राखिएका त्यहाँ प्रदर्शित नाटकका तस्बिरहरूमा पुनः एकपल्ट आँखा डुलाएँ। अनि सोचेँ, ‘यी नाटकहरूमा मानक नाटक कति होलान्? कुन नाटक होलान् जसलाई अबको २० वर्षपछि पनि सम्झिइरहिएला?’ त्यसरी सम्झिने तरिका के होलान्?
ती नाटकमध्ये कति प्रकाशित भएका होलान्? पछि पढ्न चाहनाहरूले कसरी पढ्दा हुन्?
मानक हुन्छ कि हुँदैन? मानक मान्ने कि नमान्ने? यस्ता विषयमा धेरै सैद्धान्तिक बहस गर्ने ठाउँ छन्। तर कतिपय अवस्थामा मानक नबनाउन खोज्दा खोज्दै पनि मानक तयार भइदिन्छन् र तिनले एउटा युग लामो समयसम्म बोकिदिन्छन्। ती मानकहरू त्यस्तो प्वाइन्टहरू भइदिन्छन् जसलाई हेरेर कुनै इतिहासले गरेको यात्रालाई सम्झिन सकिन्छ।
मलाई अहिलेको समयमा त्यस्तै प्वाइन्ट बन्न सक्ने मानक नाटकहरूको खोजी छ।
ती दर्शक यी दर्शक
नाटक क्षेत्रले गरेको यात्रासँगै दर्शकहरूको सङ्ख्या बढिरहेको छ। नयाँ दर्शकहरू आइरहेका छन् भने पुराना दोहोरिइरहेका छन्। यो नाटकघरहरूका लागि चुनौती र अवसर दुवै हो। पहिला दर्शकलाई नाटक हेर्ने 'एक्साइटमेन्ट' हुन्छ। धेरैले सोचेको सडक नाटकबाट थिएटरको अनुभवमा पुग्दा सुरुवातका केही नाटक हेरुन्जेल राम्रो सरप्राइज पनि हुन्छ।
तर जसै नाटक हेरेको सङ्ख्या बढ्दै जान्छ, उनीहरूलाई केही कुरा दोहोरिइरहेको थाहा हुन्छ। त्यसमा पनि यही, यसमा पनि यही। त्यसरी दोहोरिएका दर्शकहरूले नयाँ स्वाद र स्वरूपको नाटक माग गर्न थाल्छन्।
यी दुवैखाले दर्शकको बारेमा पनि विस्तृत अध्ययन गर्ने बेला भएको जस्तो लाग्छ। कम्तीमा थिएटरहरूले दर्शकसँग प्रतिक्रिया लिन अलि मिहिनेत गर्ने हो भने दर्शक के चाहिरहेका छन् भन्ने करा थाहा हुन्थ्यो।
नाटक प्रदर्शनसँगै दर्शकको अध्ययन पनि गर्ने बेला भएको छ थिएटरले।