सधैं भुइँ मान्छेका सुख, दुःखका आवाजलाई गीत तथा कवितामा ढाल्दै आएका डोट्याली कवि हेमन्त विवशले तनहुँको सदरमुकाम दमौली बजारमा पनि एकल कविता वाचनको अवसर पाएका छन्।
गण्डकी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले शुक्रबार साँझ दुई दर्जन कविता सुनाए। विवशका छन्द र गद्यका कविता सुनेर स्थानीय साहित्य अनुरागी मन्त्रमुग्ध बनेका थिए ।
विवशका रचनामा सुदूरपश्चिमको सुवास पाइन्छ । त्यतैका बोलिचालीका शब्द, जिजिविषाका विम्ब र दुःखका पहाड हुन्छ । दमौलीमा पनि उनले आफ्ना चर्चित कविताहरु हली, कतारको रैबार, नइपाल लगायत सुनाउँदा वान्स मोर पाए ।
बेलाबेलामा मिडियामा सुदूरपश्चिमका साँस्कृतिक आलेखहरु समेत लेख्दै आएका विवश साँस्कृतिक अध्येता समेत हुन् । पछिल्लो समय उनी डेउडा संस्कृतिको अनुसन्धानमुलक पुस्तक लेखिरहेका छन् ।
दमौलीमा भएको उनको कार्यक्रम तेस्रो एकल वाचन हो । यस अघि अलिमियाँ लोक वाङमय प्रतिष्ठानको आयोजनामा ०७४ को घटस्थापनाका दिन पोखरामा उनको जीवनको पहिलो एकल वाचन भएको थियो । त्यसपछि गएको मंसिर २ गते धनगढीमा दोस्रो पटक एकल वाचन भएको थियो ।
पोखरामा भएको पहिलो एकल कविता वाचनमा श्रोता बनेर पुगेका गीतकार सागर उदासले नै दमौलीमा एकल वाचनको मेसो मिलाएका हुन् । त्यही घटस्थापनाकै दिन उदासले दमौलीमा पनि आउने निम्तो दिएका थिए ।
गीतकार उदास गण्डकी वाङमय प्रतिष्ठानका अध्यक्ष हुन् । सुदूरपश्चिमका विम्ब, मिथक, आवाजसहितको सुवास दमौलीमा फैलाउन विवशको एकल वाचन गरिएको उदासले सेतोपाटीलाई जानकारी दिएका छन् ।
कवि विवशको माग बढ्दो छ । दोलखाली कवि एवं पत्रकार भोजराज न्यौपानेले चरिकोटमा पनि विवशको एकल वाचन गराउने तयारी गरेका छन् ।