प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको संस्मरणात्मक पुस्तक विमान विद्रोह सार्वजनिक भएको छ।
शनिबार पर्यटन बोर्डमा विशेष कार्यक्रम गरी पुस्तक विमोचन गरिएको हो।
पुस्तकमा २०३० सालको विमान अपहरणमा सुवेदीको संलग्नता र त्यसले निम्त्याएका तात्कालीन राजनीतिक परिस्थिति र घटनाक्रममाथिका अनुभूतिहरू समावेश छन्।
विमान अपहरणमा संलग्न भएवापत् सुवेदीले भारतीय जेलमा काटेका दुई वर्ष, १० वर्षको प्रवास बसाई, तात्कालीन माओवादीको सशस्त्र संघर्षको साथै श्रीमती सुशीला कार्की प्रधानन्यायाधीश हुँदाको समयमा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले प्रस्ताव गरेको आर्थिक प्रलोभन लगायत प्रसंग उल्लेख छन्।
पुस्तकमाथि चर्चा गर्दै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले तत्कालीन परिवेशमा दुर्गा सुवेदीले अंगालेको बाटो अनुकरणीय रहेको बताए। राजनीतिक परिवर्तनका लागि समय सापेक्षका निर्णय र आन्दोलन जरुरी रहेकाले कुन ठिक /कुन वेठिक भन्नु कठिन हुने तर्क उनले गरे।
नेपाली कांग्रेसका नेता गगन थापाले पुस्तकमा सुवेदीले विमान अपहरणको आरोपमा जेलमा बस्दा, भागेर भारत पुगेको, भारतको चिप्को आन्दोलन लगायत विभिन्न कालखण्डका राजनीतिक घटनाक्रमका विविध विषय समावेश भएको बताए।
उनले तत्कालीन समयमा कांग्रेस कस्तो रहेछ भन्नेबारे बुझ्नका लागि पुस्तकमा यथेष्ट विषयवस्तु समावेश भएको उल्लेख गरे। व्यक्तित्व र स्वभावका आधारमा दुर्गा सुवेदी जस्तो बन्न गाह्रो रहेको थापाले टिप्पणी गरे।
सुवेदीले लोकाचार, लालसा र डरविना नै तत्कालीन पात्र र तीनका प्रवृत्ति पुस्तकमा उतारेका नेता थापाले बताए।
उनले आजको पुस्ताको कांग्रेसले विमान विद्रोह पुस्तकबाट तत्कालीन राजनीति र राजनीतिका पात्रबारे यथेष्ट जानकारी लिन सक्ने तर्क गरे।
विमान विद्रोह कृतिमा नेपाली कांग्रेसको तत्कालीन पार्टी राजनीतिको अहिलेसम्म बाहिर नआएका धेरै प्रसङ्गहरू पनि भेटिन्छन्।