कुराकानीको बिट मार्दै गर्दा कलाकार अशोक शर्माले आफ्ना कलाकार-निर्देशक साथी रमेश बुढाथोकीलाई फोन घुमाए र सोधे, ‘साँच्ची तिमीले त इन्द्र दाइको श्रीमतीसँग भाइटिका लाउँथ्यौ। आजकल उहाँहरू कहाँ हुनुहुन्छ?’
उताबाट फोनमा रमेशले जवाफ फर्काए, ‘छोरासँग दिल्ली बस्नुहुन्छ क्यारे, छोरी यतै छिन्। म बुझेर खबर गरूलाँ।’
अशोकले ‘फोन नम्बर केही पत्ता लगाएर मलाई खबर गर न’ भन्दै फोन राखिदिए।
अशोकले खोजेका इन्द्र दाइ उनी काठमाडौंमा भोकोपेट संघर्ष गर्दाका दौरान रातविरात झर्को नमानी आफ्नो पसल खोलेर खाजा खुवाउने मान्छे थिए।
इन्द्र दाइलाई अशोकले नबिर्सने कारण यसरी खुलाउँछन्, ‘म साथी दीपक क्षेत्री नाटक सकेर अबेर फर्किन्थ्यौं। पैसा हुन्थेन, हामी पुग्दा इन्द्र दाइ सुतिसकेका हुन्थे। नाटक सकेर हामी थाकेका र भोकाएका हुन्थ्यौं। उहाँको होटल अगाडि पुगेर ढोका ढकढकाउँदै बोलउँथ्यौं। उनी उठेर होटलमा चिउरा, चना, आलु जे-जे छ , त्यो हामीलाई दिन्थे। हामी त्यसलाई खाँदै भोक मेटेर डेरातर्फ आउँथ्यौं। उनी हामीलाई कलाकार भनेर माया गर्थे। यदि नहुँदा हुन् त काठमाडौं हामी कैयौं रात भोकै सुत्नुपर्थ्यो।’
इन्द्र दाइले पैसा हुँदा पैसा लिएर खुवाए नहुँदा बाँकी खोइ? भनेर नसोधी खुवाइरहे।
इन्द्र दाइको प्रसंगमा काठमाडौंमा बिताएका संघर्षकालीन कालरात्रिहरू सम्झदैं अशोकले एउटा अर्को घटनाको सम्झना गरे, ‘कलाकारको काल्पनिक जीवन र वास्तविक जीवन फरकलाई राम्रै गरी बुझें।’
पुलिस क्लबमा ‘कला’ भन्ने नाटक मञ्चन भइरहेको थियो। मञ्चमा उनी सुटेडबुटेड भयंकर धनी मान्छेको भूमिकामा थिए। मञ्चमा उनले ताली बटुल्थे। पहिला नाटक खेल्न पाउनु ठूलो कुरा थियो, त्यसैले कलाकार नाटक सकेपछि आफ्नो बासस्थानतिर लाग्थे। बेलुका अबेर नाटक सके पनि खानापिनको व्यवस्था थिएन।
मञ्चमा खाएको तालीले मन त भरिएको हुन्थ्यो। अशोक र उनका साथीहरू पेटमा जागेको भोकको परेडलाई त खानेकुरा नभइ हुन्थेन।
सहारा उनै इन्द्र दाइ बन्थे।
त्यो नाटक गरेर फर्केको एक दिन इन्द्र दाइले दिएको खाने कुरा खाँदाखाँदै उनले गमे, ‘म त्यो पात्र जस्तो हुन सकुँला कि नसकुँला?’
उनले आफैंलाई आश्वासन दिए, आज दु:ख छ त के भो कुनै समय त्यो दिन पनि आउनेछ।
***
अशोकले जुन समयमा कलामा भविष्य खोजे त्यो समय कलाकारको त के स्वयं कलाकै भविष्य थिएन।
उनी झापाको भद्रपुर स्कुल पढ्थे। त्यतिबेला लय संग्रौला झापामा आफ्नो प्रहसनको लागि चर्चित थिए। उनलाई लय मन पर्थे। चिनाजानी थियो। कैयौंपटक लयको हात समातेर उनले लयका कार्यक्रममा नि:शुल्क प्रवेश पाएका थिए। स्कुलमा पनि वार्षिकोत्सव आदिमा उनी सहभागी हुन्थे। यस्तै गर्दागर्दै उनी अभिनतिर लहसिए। तर, त्यो बाटो कताबाट हिँड्ने उनलाई थाहा थिएन।
‘यस्तैमा स्कुल सकियो। एसएलसी पास भइयो। म साथीहरूसँग पढ्न भनेर दार्जिलिङ हानिएँ। त्यहाँको सरकारी कलेजमा विज्ञान संकायमा भर्ना भएँ तर, म दुई वर्ष दार्जिलिङ बसेँ मात्रै। पास गर्न सकिनँ,’ अशोकले भने, ‘मेरो समय त्यहाँ क्लासमा कम, रंगमञ्चका गतिविधिमा ज्यादा भयो। आफू सरकारी स्कूल पढेको, त्यहाँको अंग्रेजी माध्यमको पढाइ। मेरो दिमागमा घुसेन। करिब साढे दुई वर्ष बिताएर म फेरि झापा फर्कें।’
दार्जिलिङमा साढे दुई वर्ष विज्ञानमा केही नगरे पनि कलामा भने आफूलाई लयमा डोर्याउँदै गए। दार्जिलिङमा नाटकलगायत सांस्कृतिक कार्यक्रमका हिसाबले नेपालहेरी अवस्था एकदमै राम्रो थियो। नियमित नाटक हुन्थे। नाटक समूह थिए। उनी त्यहाँ कसरी छिर्ने भनेर सोचिरहन्थे।
एकदिन त्यो कडी पनि भेटियो।
‘दार्जिलिङ बजारको चोक बजारबाट चौरास्ता जाने बाटोतिर झा थरका एक जना डेन्टिस्ट थिए। उनका छोराले नाटकहरू गर्छन् भन्ने सुनेँ। कलेजबाट फर्किँदा चोक बजार हुँदै फर्किन्थ्यौं। डेन्टिस्टलाई यहाँ नाटकहरू हुन्छ रे भनेर सोध्यौं। उनले छोराले गर्छ भनेर भेटाइदिए। छोराले पनि हुन्छ केही भयो भने भन्छु भने।’
त्यसपछि उनी दार्जिलिङमा हुने नाटकहरूमा मौका पाए। त्यसपछि अशोकका सम्बन्धहरू बढ्दै गए, नाटकका काम पनि।
***
साढे दुई वर्षपछि अशोक पुन: झापा फर्किए। घरमा काठमाडौं जान्छु भने। निम्न आर्थिक हैसियतका बाबुले अशोकलाई स्पष्ट भनिदिए- जान मन छ जा। तर, मेरो तँलाई काठमाडौंमा राखेर पढाउने हैसियत छैन्। आफू गर्नु के गर्नुछ।’
यो कुरा २०३९ सालतिरको हो।
अशोकले निर्णय लिइसकेका थिए। एउटा झोलामा २-४ जोर लुगासहितका व्यक्तिगत चिजबिजलाई पोको पारेर झापाबाट काठमाडौं हिँडे।
काठमाडौं उत्रिँदा अशोकको खल्तीमा २०-२५ रूपैयाँबाहेक पैसा थिए। पद्मोदय स्कूलको पारिपट्टी आरती हाइभिजन सिनेमा हल थियो। त्यसको पछाडिपट्टीको गल्लीको एक घरमा अशोकका धुलाबारीका साथी नारायण प्रधान बस्थे। साथी उसको अंकलहरूसँग बसेर पढ्थे।
‘मैले काठमाडौंमा चिनेको मान्छे उही मात्र थियो। त्यसैले उसैकोमा गएँ,’ उनले भने।
अशोक रत्नराज्य क्याम्पसमा भर्ना भए।
पढ्नु त थिएन। त्यसैले उनले दार्जिलिङको पारा दोहोर्याए। कता-कता नाटक र रिहर्सल हुन्थे, खोज्दै जान थाले।
झापातिरका सन्तोष पोखरेल नाम गरेका साथीसँग भेट भयो। उनको माध्यमबाट अरूसँग परिचित बने। लय संगौला उनको करियरको मुख्य सूत्रधार बने ।
‘मैले उतैबाट चिनेको भएकाले लय दाइलाई पछ्याउँथे। लय दाइको माध्यमबाट कृष्ण मल्लजीहरूलाई चिनेको हुँ,’ अशोक सम्झन्छन्।
चिनचान हुँदै जाँदा सबै काठमाडौं बाहिरका परे। त्यही सेन्टिमेन्टले पनि रमेश बुढाथोकी, बद्री अधिकारी, सुनिल पोखरेललगायत सँगै भए।
फिल्म बहुतै कम बन्थे। त्यसैले, अशोकको व्यस्तता नाटकतिर हुन थाल्यो। तैपनि बेला-बेलामा फिल्मको अडिसन छ रे भनेपछि आफ्नो बायोडाटा बनाएर कुदिहाल्थे। अभावका पीडाहरू त साथै थिए। तर पनि कलामै अशोक दौडिरहेका थिए।
२०४२ सालमा नेपाल टेलिभिजन स्थापना भयो। उनको बाटो त्यतै सोझियो।
‘लय दाइ, कृष्ण मल्लजी टेलिभिनमा जागिरे हुनुहुन्थ्यो। त्यही चिनाजानीले मैले एक दुई एपिसोडमा काम गर्ने मौका पाए। रूद्रराज पाण्डेले बनाउने ऐतिहासिक तथा सामाजिक कथामा आधारित टेलिशृंखलामा पनि काम गरेँ,’ उनी भन्छन्।
यस्तैमा कृष्ण मल्लको ‘चक्रव्यूह’ टेलिशृंखला प्रसारण भयो। यही टेलिशृंखलाले अशोकको जीवनको एउटा संघर्षलाई नयाँ दिशा प्रदान गर्यो। सो टेलिशृखंलामा यसमा दीपक थापाको पात्रबाट अभिनय गरेका थिए। त्यो भूमिका नकारात्मक थियो। उनको चाहना हिरो बन्ने थियो। तर, कृष्ण मल्लले सम्झाए, ‘हेर, यसले तिमीलाई धेरै राम्रो गर्छ।’
नभन्दै त्यही भयो।
‘यो सिरियलमा दीपक थापा नामक पात्रको इन्ट्री दोस्रो शृंखलाबाट भयो। जे हुनु थियो, त्यही भागबाट भयो। पहिले हामीले सुटिङ गर्दा युनिटका साथीबाहेक अन्य कोही हुँदैनथे। तर, तेस्रो भागपछि हाम्रो सुटिङमा मानिसहरूको भीड जम्मा हुन थाल्यो। मेरो अभिनयलाई दर्शकहरूले खुब रुचाए। भीड म कहाँ झुम्मिन थाल्यो,’ उनी सम्झन्छन्।
त्यो पात्रको लोकप्रियता यो स्तरसम्म थियो कि मानिसहरू ‘दीपक थापा’ पात्रमा कमल थापा र दीपक बोहराको चरित्र देख्थे। टेलिभिजन बहसमा पनि दीपक थापा पात्रले प्रवेश पायो।
‘मलाई स्टारडम् त्यही टेलिशृंखलाले दिलायो। बच्चाहरू मलाई देखेर डराउँथे। मेरो नाम नै अशोक शर्माबाट दीपक थापा भयो। मानिसहरू मलाई देख्दा ‘उ: दीपक थापा’ भन्थे,’ उनले भने।
दीपक थापाले उनको वास्तविक नाम परिवर्तन गराएकै थियो। फेरि उनको नाम ‘जुठे’ बन्न पुग्यो। कृष्ण मल्लको निर्देशनमा तयार गरेको ‘टाढाको बस्ती’ टेलिशृंखलाले उनलाई थप लोकप्रिय बनायो।
***
टेलिशृंखलाबाट उनी फिल्ममा पुगे। सिक्किममा प्रताप सुब्बाको निर्देशनमा बन्न लागेको ‘मसाल’ फिल्मका लागि अडिसनबाट अशोक छनौट भए। उनीसँगै अभिनेत्री सुशीला रायमाझी पनि नेपालबाट छनोट भएकी थिइन्। त्यहीँबाट उनको फिल्म यात्रा सुरू भयो। त्यसपछि उनले ‘२५ वसन्त’ मा अभिनय गरे।
विस्तारै उनको चर्चा अरू बढ्न थाल्यो। यतिबेलासम्म उनी मखनमा डेरा सरिसकेका थिए। तर, जिन्दगी अझै मखनको त्यही सानो डेराबाट माथि उठ्न सकेको थिएन।
कलाकारका रूपमा उनले नाम कमाए पनि कलाकारिताबाट पैसा आउँदैन थियो। धेरै सिरियल खेले, फिल्म खेले। कतिमा पैसा पाए कतिमा पाएनन्। ‘चक्रव्यूह’का लागि कृष्ण मल्लले २५ सय रूपैयाँ पारिश्रमिक दिएको उनलाई अझै सम्झना छ। तर, पनि उनको काठमाडौंको डेरा जिन्दगी उधारोमै चलिरहेको थियो।
यस्तैमा बडो रोमाञ्चक ढंगले उनको विवाह भयो। रित्तो खल्तीमा उनको विवाह भयो। अलिअलि साथीहरूले सहयोग गरे भने बुले दुई तोला सुन विवाहका लागि व्यवस्था गरिदिए।
मखनको डेरानजिकै एक जना अंकल पनि बस्थे। पेसाले व्यापारी। उनी कलाकारलाई निकै माया गर्थे। उनले नै अशोकलाई केटी खोजिदिएका हुन्। सम्पन्न परिवारकी छोरी।
अशोक आफूलाई के देखेर छोरी दिए होलान् भन्ने सम्झेर आज पनि अचम्म मान्छन्। सामान्यतया, अशोकको जस्तो तत्कालीन हालतमा कसैले आफ्नो छोरी दिँदैन थिए।
‘डेराको जिन्दगी, गतिलो आम्दानी थिएन। अंकलले बिहे गर्नुपर्छ भन्नुभयो। आफ्नै सम्धीको साथीको छोरी मागिदिनुभयो,’ उनले भने, ‘अंकलले बिहे गर्यो भने तिम्रो जीवन व्यवस्थित हुन्छ, प्रगति हुन्छ भन्ने कुरा गरेर मलाई मनाउनुभयो। २८ वर्ष पुगिसकेको थिएँ। लौ त! भनेर बिहे गरेँ।’
बिहे भएपछि अशोकले आफ्नो ससुरालाई एकपल्ट सोधे पनि, ‘ म जस्तो केही नभएको मानिसलाई छोरी किन दिनुभयो?’
ससुराको जवाफ थियो, ‘तपाईंले भविष्यमा केही गर्नुहुन्छ भन्ने सम्भावना देखेर दिएको हुँ।’
उनको बिहेको पार्टी जावलाखेलको महेन्द्र युवालयमा भएको थियो। साथी वीरेन्द्र क्षेत्रीले सो भोज गरिदिएका थिए।
***
बिहे त भयो तर अगाडिको जिन्दगी? पहिला त अशोक एक्लै थिए। जे गरे पनि जसो गरे पनि हुन्थ्यो। परिवार भएपछि त्यो सहुलियत पनि गुम्यो।
उनलाई चिन्ता हुन थाल्यो।
‘अर्काको छोरी बिहे गरेर ल्याइहालियो। आम्दानीको गतिलो स्रोत केही छैन। फाटफुट्ट फिल्म खेलेर कति नै कमाइ हुन्थ्यो र! त्यही पनि गाह्रो-साह्रो चलिरहेको थियो। २०४६-४७ सालतिर फिल्म बनाउने निर्णयमा पुगेँ,’ उनले भने।
परिवार पाल्ने आकांक्षा पूरा हुन हम्मे परेको अवस्थामा फिल्म बनाउँछु भन्ने कुरा सस्तो सपना थियो।
यसपटक हिम्मतले काम गर्यो।
साथी वीरेन्द्रलाई भने।
पाँच लाख हालेर पार्टनर बस्न उनी तयार भए। त्यसमध्ये एक लाख ७५ हजार भारु गीत रेकडमै खर्च भयो।
फिल्म बनाउन नेपालमा आजको जस्तो सहज थिएन।
त्यतिबेला नेपालमा फिल्म बनाउनुपर्यो भने निर्देशकदेखि अन्य प्राविधिक भारतबाटै बोलाउनुपर्ने बिडम्बना थियो।
उद्धव पौडेलको फिल्मका लागि राजकुमार शर्मा नेपाल आइरहन्थे। अशोकले उद्धवकै सहयोगमा राजकुमारलाई निर्देशनका लागि मनाए।
फिल्मको कथा शम्भुजित बाँस्कोटाले तयार पारे। फिल्मको नाम जुर्यो, ‘ट्रक ड्राइभर।’ जसको चार वटा गीतको कम्पोज पनि बाँस्कोटाले नै गरे।
‘पाँच लाख वीरेन्द्रले दियो। तर, त्यो समय फिल्म बनाउन २५-३० लाख खर्च हुन्थ्यो। स्क्रिप्टअनुसार मदन (मदनकृष्ण श्रेष्ठ) दाइ र हरि (हरिवंश आचार्य) दाइलाई अनुरोध गरेँ। पहिलेको चिनाजानी काम लाग्यो। शिव श्रेष्ठ, करिश्मा मानन्धर, विजय लामा, किरण केसी, राजाराम पौडेल, बसुन्धरा भुसाल सबैसँग फिल्मको लागि अनुरोध गरे,’ उनी भन्छन्।
सबै उनीसँग बिना पैसा काम गर्न तयार भए। उनले सबैलाई फिल्मले कमाएपछि दिने बाचा गरे।
फिल्म २५-२६ लाखमा सकाए। फिल्मको दुई वटा गीत सुपरडुप्पर हिट भए। ‘सम्झना बिर्सना सलललल…,’ र ‘चिट्ठी आएन’ गीत दर्शकको मुखमा झुन्डियो। फिल्म हिट भयो।
तर, फिल्म चलाउन पनि सजिलो भएन उनले रिलमा खिचेको फिल्मलाई टेलिसिने गरेर हाइभिजन हलमा चलाइदिए। फिल्मले गतिलो व्यापार गर्यो।
फिल्म रिलिज हुँदासम्म खल्तीमा कौडी नभएका अशोकको टाउकोमा २७-२८ लाख ऋण थियो। फिल्मबाट पैसा आयो, सबैको पैसा तिरे। फाइदा २०-२५ लाख भयो।
फिल्म हिट भएपछि काठमाडौंमा उनको जीवन पनि फिट भयो।
त्यसपछि दुई वटा फिल्म बनाए, सीता र नीरमाया। यी फिल्मले औषत मात्र व्यापार गरे।
त्यसपछि ‘अल्लारे’ रिलिज भयो। सुपरहिट बनेको फिल्मले देश-विदेश गरेर यसले एक करोड कमायो।
त्यही पैसाले अशोकले घर-घडेरी र गाडी जोडे।
‘माओवादी द्वन्द्वले गर्दा बीचमा फिल्मको बजार खस्कियो। अर्जुन श्रेष्ठसँग मिलेर जग्गाको काम पनि गरेँ। राम्रै फाइदा भयो,’ उनले जीवनको भोगाइ सुनाए, ‘पछिल्लो समय डिसिएनमा छु। बीचमा पार्टनरसिपमा ‘अन्दाज’ फिल्म बनाएँ। अब फेरि निर्देशनमा फर्किएको छु।’
उनी निर्देशित ‘जय भोले’ फूलपातीको दिन रिलिज हुँदैछ।
आज अशोकको जीवन सहज छ। जीवनका पछिल्ला पानाहरू ताजै छन्।
जीवन फर्केर हेर्दा उनको मस्तिष्कमा साथी दीपक क्षेत्री, दिवगंत साथी शाम्भा डि पाटिल, कृष्ण मल्ल, लय संगौला र उधारो खुवाउने थकाली होटलका मालिक र खाजा पसलका इन्द्र दाइ उस्तैगरी ताजा भएर आउँछ।
‘इन्द्र दाइ र त्यो थकाली होटलको दाइलाई भेट्ने मन छ,’ अशोकले भने।
यी दुई जनाको सम्झना गर्दा उनी केही टोलाएझैं भए एकछिन्।