हिमाली कथा
मोक्ष, अर्थात् स्वतन्त्रता।
यो साइकल (माउन्टेन बाइकिङ) ले दिएको स्वतन्त्रता हो, जसले तीन युवतीलाई जोड्यो।
उषा खनाल (२५ वर्ष), निस्मा श्रेष्ठ (२२) र रोजा केसी (२०)।
माउन्टेन बाइकिङलाई साहसिक खेल मानिन्छ। यसमा साइकल सडकमा कुदाइँदैन। कच्ची बाटो र हिमाली भू–भागमा प्याडल मारिन्छ। माउन्टेन बाइकिङमा प्रयोग हुने साइकल हेर्दा साधारणजस्तै देखिए पनि कार्यक्षमता र सुविधाका हिसाबले भिन्न हुन्छ।
निस्मालाई माउन्टेन बाइकिङमा लाग्न पारिवारिक रूपले कुनै समस्या भएन। उनको बुवा र मामा दुवै माउन्टेन बाइकर। उनीहरूको पछि लाग्दालाग्दै निस्मालाई यसमा टक बस्यो।
‘शनिबार आउनेबित्तिकै मामासँग साइकल माग्थेँ। बालाजुको मट्खु हुँदै गोलढुंगा पुग्थेँ,’ उनले भनिन्।
रोजा भने राष्ट्रिय पौडी खेलाडी हुन्। पौडी खेल्न सैनिकहरू पनि आउँथे, आ–आफ्नो साइकलमा। त्यो देख्दादेख्दै उनलाई साइकलमा मोह जाग्यो। जिज्ञासा पनि बढ्यो।
उनले ती सैनिकलाई ‘तपाईंहरू किन सधैं साइकल चलाएर पौडी खेल्न आउनुहुन्छ?’ भनेर सोधिन्।
त्यसपछि उनले थाहा पाइन्, एउटा ‘ट्रायथ्लोन’ भन्ने खेल रहेछ, जसमा साइकल चलाउने, पौडी खेल्ने र दौडने तीन खेल एकसाथ खेल्नुपर्दो रहेछ।
उनलाई मन पर्यो। उनी त्यसमा जोडिइन्।
‘सुरुमा त घरमा बाइक किनिदिनु भन्नै महाभारत भयो। बल्लबल्ल किनिदिनुभयो,’ उनले भनिन्, ‘सेकेन्ड ह्यान्ड क्युब बाइक १ लाखमा किनेँ।’
रोजाका अनुसार ‘ट्रायथ्लोन’ खेलमा साइकल चलाए पनि माउन्टेन बाइकिङ भने गर्नु पर्दैन। सडकमै कुदाइन्छ। नेपालमा सिकाउने तरिका भने माउन्टेन बाइकिङकै सरह रहेछ। यसले माउन्टेन बाइकिङ कठिन नलागेको उनले बताइन्।
उषाको पृष्ठभूमि भने यी दुईको तुलनामा फरक छ।
उनी ‘युलेन्स’ मा पढाउँथिन्। एकदिन एउटा माउन्टेन बाइकर साथीसँग भेट भएछ। सामाजिक सञ्जालमा साथीको बाइकिङ फोटो देखेपछि मन हुरुक्क भयो। जागिर छाडेरै यसमा लागिन्।
दुई वर्ष पढाउँदा केही पैसा जम्मा गरेकी थिइन्। त्यसैले साइकल किनिन्।
किन्न त किनिन्, तर चलाउनै गाह्रो।
‘घरबाट निस्कँदा पनि कहाँ जाने, के गर्न लागेको भन्ने बुझाउनै गाह्रो हुन्थ्यो। पछि हाम्रो बाइकिङको फिल्म बनेपछि सजिलो भयो,’ उनले भनिन्।
माउन्टेन बाइकिङको पहिलो यात्रामै उषालाई ठूलो चोट लागेछ। अनुहार र जिउभरि घाउ नै घाउ। खुट्टामा पाँच टाँका।
‘आमाले त ‘अब यसलाई कुन केटाले हेर्छ’ भन्दै गाली पो गर्न थाल्नुभयो। साइकल पनि बेचिदिने कुरा गर्नुभयो,’ उनले भनिन्, ‘साँच्चै बेच्दिने पो हो कि भनेर मलाई डर लाग्यो। बाँधेर राखेँ।’
लड्नु, साइकलको एउटा पाटो नै हो। उनीहरूलाई लड्नु सामान्य लाग्छ। रमाइलो पनि।
यसरी लड्दै–सिक्दै साइकल यात्रामा निस्किएकी निस्माले करिब ७ वर्ष बाइकिङमा बिताइसकिन्। उषा र रोजाको करिब दुई वर्ष भयो।
माउन्टेन बाइकिङ क्रस कन्ट्री, ट्रेल राइडिङ, डाउन हिल, फ्रिराइड लगायत विभिन्न प्रकारका हुन्छन्।
‘क्रस कन्ट्री’ मा उकालो, ओरालो बाटो हुन्छ। ‘डाउन हिल’ मा ओरालो मात्रै। समयको पनि गन्ती हुन्छ। उषा ‘क्रस कन्ट्री’ बाइक कुदाउँछिन, निस्मा डाउन हिल। रोजा भने ‘ट्रायथ्लर’ भएकाले रमाइलोका लागि मात्रै माउन्टेन बाइकिङ गर्छिन्। क्रस कन्ट्री रेस पनि गर्छिन्।
यी तीनैले माउन्टेन बाइकिङको सुरुआत केटा र केटी दुवैले चलाउने (युनिसेक्स) साइकलबाट गरेका हुन्। अहिले उनीहरू केटीकै लागि भनेर बनेको ‘लाइभ’ साइकल कुदाउँछन्।
‘यो केटीलाई विशेष ध्यानमा राखेर बनाइएको हो। यसको ढाँचा केही फरक छ। डबल सस्पेन्सन हुन्छ। चलाउँदा अलि सजिलो पनि हुन्छ,’ निस्माले भनिन्।
‘केटीकै लागि बनेको भनेपछि बढी आत्मविश्वास हुँदो रहेछ,’ रोजाले थपिन्।
निस्मा र उषाले ब्रिटेन सर्टिफाइड ‘माउन्टेन बाइक लिडर्सिप अवार्ड’ पाएका छन्। यसबाट उनीहरू फ्रान्सबाहेक अन्य देशमा गाइडका रूपमा काम गर्न सक्छन्। नेपालमा भने माउन्टेन बाइकको गाइड नै नभए पनि ‘ट्रेकिङ गाइड लाइसेन्स’ बाटै यो काम गर्न पाइने उनीहरू बताउँछन्।
माउन्टेन बाइकिङका लागि सबैभन्दा चुनौती बाइक किन्दा हुन्छ। बाइक महँगो पर्छ। बाइक चलाउँदा लगाउने लुगा र जुत्ता पनि महँगा हुन्छन्।
यसबाहेक समाजिक परिवेशले थप चुनौती दिन्छ। महिलालाई झनै बढी। खासगरी महिनावारीको समयमा बाइक चलाउनै मन नलाग्ने उनीहरू बताउँछन्।
निस्मालाई भने यो समस्या अलि कम छ। केटाहरूसँगै साइकल चलाउन सिकेकी उनी भन्छिन्, ‘त्यस्तो बेला पनि अरू समयमा जस्तै चलाउँछु। वास्तै हुन्न।’
साइकलदेखि लुगा र जुत्तासम्म महँगो पर्ने हुँदा धेरैले यो क्षेत्रमा लाग्ने आँटै गर्दैनन्। निस्मा, उषा र रोजालाई पनि साइकल किन्दा केही आर्थिक समस्या भयो। तै उनीहरू आर्थिक पक्षलाई त्यति समस्याका रूपमा नलिन सुझाउँछन्।
यो क्षेत्रमा निम्नवर्गको परिवारका केही साथीहरू पनि जोडिएको बताउँदै उनीहरूले भने, ‘तपाईंलाई इच्छा छ भने त्यसको सुरुआत तपाईंले नै गर्ने हो। सबभन्दा पहिला आफ्नो सुविधाबाट बाहिर निस्कनुहोस्। अलि अलि संघर्ष त जुनसुकै क्षेत्रमा हुन्छ।’
माउन्टेन बाइकिङका अतिरिक्त निस्मा ‘स्टोरी साइकल’ प्रोजेक्टमा पनि काम गर्छिन्। ‘एमटिभी क्लिनिक’ नामक कार्यक्रमबाट साइकल चलाउन चाहनेलाई तीन दिन निःशुल्क साइकल दिइन्छ। यसलाई ‘हिमालयन सिंगल ट्रयाक’ नामक साइकल कम्पनीले प्रायोजन गरेको छ। जसमा उषा कार्यरत छिन्। ट्रायथ्लेट रोजा भने बाँकी समय पौडी सिकाउँछिन्।
यति हुँदाहुँदै माउन्टेन बाइकिङमा केटाको तुलनामा केटीको संख्या कम छ।
‘माउन्टेन बाइकिङमा जति मिहिनेत र चुनौती हुन्छ, त्यसको तुलनामा यसलाई खेलका रूपमा त्यति महत्व दिइएको छैन। यसलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने हो भने खेलाडी संख्या बढ्नेथ्यो,’ उनीहरू भन्छन्।
यी तीन माउन्टेन बाइकरलाई एक वर्षअघि वृत्तचित्र ‘मोक्ष’ ले भेट गराएको हो।
‘हामीले एकअर्कालाई कतै न कतैबाट त चिनेकै थियौं, नाम मात्र भए पनि सुनेका थियौं,’ उनीहरूले भने, ‘स्विडेनकी हेना सोदिनले हाम्रो भेट जुराइन्। उनी ‘लेडिज माउन्टेन लिड’ मार्फत् महिलालाई साहसिक खेलमा लाग्न प्रोत्साहित गर्थिन। उनले सामाजिक सञ्जालमा समूह बनाएर छलफल गर्ने ठाउँ तयार पारिन्।’
उनै हेनालाई फिल्म ‘मोक्ष’ का लागि अमेरिकी निर्देशक फ्रान्सेस्का विर्कटर र टेलर किलियनबाट आह्वान आएको रहेछ। उनले समूहमा कसैलाई इच्छा भए सम्पर्क गर्न सुझाइन्। यी तीन जनाले सम्पर्क गरे र फिल्ममा जोडिए।
फिल्मका लागि उनीहरूले सातादिन सोलुखुम्बुमा बिताए। काठमाडौंबाट सल्लेरीसम्म जीपमा गए। त्यहाँबाट बाइकमा।
‘बाइकिङका लागि कस्तो सामान झोलामा बोक्नु हुन्छ?’
बाइकरले मेकानिकल सामान छुटाउन नहुने उनीहरू बताउँछन्। यसमा ट्युब, पम्प, चेन अयल, ऐलेन्की, रेन ज्याकेट लगायत पर्छन्।
‘म डाउन ज्याकेट पनि बोक्छु। मलाई अलि धेरै जाडो हुन्छ,’ रोजाले भनिन्।
उनीहरू सल्लेरीबाट जुनबेसी, गुम्बा, फुर्टयाङ लगायत ठाउँमा परिक्रमा गरेर सल्लेरीमै आए। अन्तिम दुई दिन रातनागें डाँडामा बिताए।
‘त्यहीबीच हाम्रो फिल्मको सुटिङ हुन्थ्यो,’ उनीहरूले भने, ‘हामीले केही नौलो गर्नै परेन। सबै न्याचुरल सटहरू। दुई जना क्यामराम्यान थिए। कहिले ड्रोन त कहिले क्यामराले खिच्थे। हामी भने आफ्नै धुनमा।’
‘सुरु सुरुमा क्यामराअगाडि पर्दा अप्ठेरो हुन्थ्यो। न्याचुरल बन्नै नसकिने। पछि वास्तै भएन।’
‘मोक्ष’ यात्रामा उनीहरूसँगै सात अमेरिकी महिला पनि थिए। यो यात्राले यी तीन महिला बाइकरलाई वृत्तचित्रको अनुभवका साथै अन्य देशको संस्कृति नजिकैबाट नियाल्ने मौका पनि दियो।
‘सोलुको बाटोमा केही चट्टानी भाग थिए। सबैले कोशिस गरौं न भनेर गर्दा रमाइलो भयो। यो यात्राले महिलाहरू समूहमा हुँदा जे गर्न पनि आत्मबल मिल्ने रहेछ भन्ने सिकायो,’ निस्माले भनिन्, ‘यो भर्याङ कटुम् भन्यो कट्यो। यो बाटो जाम् भन्यो गयो। एक प्रकारले गेम खेल्दा लेभल कटेजस्तो अनुभव भयो।’
यही यात्राबाट तयार भएको २५ मिनेट लामो वृत्तचित्र ‘मोक्ष’ शुक्रबारबाट सुरु काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा देखाइदैछ्। पहिलो दिनमै यो वृत्तचित्र प्रदर्शन हुनेछ।
यो वृत्तचित्र छायांकनको केही महिनापछि उषा र निस्मा माउन्टेन बाइकिङ प्रतियोगिताका लागि भारत गएका रहेछन्। ‘एमटिभी सिम्ला’ भनेर दुई दिनको प्रतियोगिता रहेछ। विनातयारी पुगेका दुई खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
‘स्टेज रेस थियो। तातो ठाउँ र अल्टिच्युडले केही समस्या गर्यो। त्यसमाथि तयारी नगरी जाँदा अलि दुःख पाइयो,’ उषा र निस्माले भने।
उनीहरूको साथ दिँदै रोजाले थपिन्, ‘हाम्रो देशमा पहिलो, दोस्रोकै महत्व गरिन्छ। तर, हामीले खेल्ने प्रतियोगितामा भने कत्ति विदेशी रमाइलोका लागि पनि खेलिरहेका हुन्छन्।’
यही बिहीबार निस्मा त्यस्तै प्रतियोगिताका लागि थाइल्यान्ड गएकी थिइन्। योपटक उनी तेस्रो भएर फर्किइन्।
यिनै भोगाइ, सिकाइ र अनुभवका साथ उनीहरूको साइकल यात्रा जारी छ। यो यात्राले उनीहरूलाई जीवनको कुनै पनि क्षेत्रमा पाइडल चाल्न मद्दत गर्छ।
भन्छन्, ‘साइकल चलाउँदा कसैको नियममा बाँधिनुपर्दैन। हाम्रो आफ्नै नियम हुन्छ। यसले जहाँ पनि जाने स्वतन्त्रा दिन्छ।’