सगरमाथा आरोहण अभियानमा केन्द्रित भएर निर्माण गरिएको वृत्तचित्र ‘टु द एभरेष्ट एण्ड वियोण्ड’ थाइल्याण्डमा आयोजना हुने एसियाली लघु चलचित्र प्रतिस्पर्धाको अन्तिम चरणमा छनोट भएको छ।
विभिन्न चार चरणको छनोट प्रकृयापछि उक्त वृत्तचित्र अन्तिम १२ मा पर्न सफल भएको हो।
लागुपदार्थ प्रयोगकर्ताहरूको एसियाली सञ्जाल, एनपुडले आयोजना गरेको प्रतियोगितामा नेपाललगायत एसियाली मुलुकहरूका चलचित्र निर्माताहरूको आवेदन परेको आयोजकले जनाएका छन्।
नेपाललगायत १६ वटा एसियाली मुलुकहरूको सहभागिता रहेको प्रतिस्पर्धाको पोखरा फिल्म सोसाइटी सहआयोजकको रूपमा रहेको छ ।
पोखराका वृत्तचित्र निर्माता तथा कलाकार विष्णु प्रसाद गौतमले निर्माण/निर्देशन गरेको वृत्तचित्र ‘टु द एभरेष्ट एण्ड वियोण्ड’ पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा एचआइभी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा आरोहण अभियानमा केन्द्रित रहेको निर्देशक गौतमले जानकारी दिए।
उनले भने,‘यो चलचित्र गोपालको वास्तविक जीवनमा आधारित भएर निर्माण गरिएको हो।’
विश्व चलचित्र प्रतिस्पर्धामा पनि पछिल्लो समयमा यथार्थमा आधारित विषय वस्तुहरूलाई बढी प्राथमिकता दिने हुँदा आफू सो प्रतियोगितामा सहभागी भएको उनको भनाइ रहेको छ।
उनले भने, ‘मेरो काम नै यथार्थ विषयमा केन्द्रित भएर चलचित्रहरू निर्माण गर्ने हो। अहिले पनि त्यस्तै विषयमा काम गरेको छु। यो काम प्रतिस्पर्धाका लागि भन्दा पनि गोपाल दाइको सगरमाथा अभियानको लागि पनि हो।’
विक्रम संवत् २०४२ सालको राष्ट्रिय फुटबल टिमका प्रमुख डिफेन्स गोपाल लागुपदार्थ प्रयोगका कारण टिम र लिगबाट समेत निष्कासित भए । त्यसपछि उनी घर (पोखरा) फर्किए।
परिवार समाज र आफन्त सबैले लागुपदार्थ प्रयोगकर्तालाई नराम्रो नजरले हेरेपछि उनमा मानसिक रोगको समस्या बढ्यो र बजारमा पाइने सबै खाले लागूपदार्थ प्रयोग गरे अन्ततः एचआइभीबाट समेत संक्रमित भए।
२५ वर्ष पहिला डाक्टरले तीन महिनाभित्र मर्ने दाबी गरिएका गोपाल यही आउदो वैशाखमा सगरमाथा आरोहण गर्ने अभियानमा रहेका छन्। गोपाल २०७२ साल वैशाखमा सगरमाथा आरोहणका लागि गए पनि नेपालमा भूकम्प गएपछि फर्किएका थिए।
यही कथामा वास्तविक दृश्यहरूको संमायोजन गरी वृत्तचित्र निर्माण गरिएको हो।
श्याम शुक्ला फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको वृत्तचित्रमा घनश्याम लामिछाने, पुष्कर नन्दन अधिकारी र शेखर गौतमको लगानी रहेको छ।
छायांकन र सम्पादनमा घनश्याम लामिछाने रहेका छन् भने रंग संयोजन नेत्र गुरुङको हो। वृत्तचित्रको पार्श्व संगीत रञ्जन गायकको रहेको छ भने कथा तथा निर्देशन विष्णु प्रसाद गौतमको रहेको छ।
वृत्तचित्र :