‘लेट्स स्टार्ट वीथ टी है?’
यति भन्दै फिल्म निर्देशक गणेशदेव पाण्डे चिया बसाल्न गए।
हामी बागमती करिडोरमा छौं। यहीँ छ उनको भर्खरै खुलेको क्याफे, ‘चियावाला’।
फिल्म ‘मालतीको भट्टी’, ‘मञ्जरी’ र ‘गाजाँबाजा’ निर्देशन गरेका पाण्डे अचेल ‘चियावाला’ को भूमिकामा छन्। रिलमा होइन, रियल लाइफमा। लाग्छ, उनी केही समय फिल्म निर्देशनबाट ब्रेक लिन चाहन्छन्। जीवनलाई नयाँ ढंगमा पर्गेल्न खोज्दैछन्।
खोलापारि सिम्रिक एयर, वारि ‘चियावाला’। क्याफेबाहिर ठूलो कित्ली र गिलासको चित्र बनेको छ। प्रवेशद्वारमै पुरानो शैलीको कित्ली पनि झुन्ड्याइएको छ।
भित्र छिर्नेबित्तिकै तपाईंको नजर भित्तामा जान्छ, जसमा लेखिएको छ– ‘केही मिठो बात गर, वाइफाई त घरमा छँदैछ।’
हाम्रो जीवन कति इन्टरनेटमय भइसक्यो भन्ने संकेत हो यो। क्याफे, रेस्टुरेन्टमा छिर्यो, हाम्रो पहिलो अर्डर हुन्छ, वाइफाईको पासवर्ड। एकअर्काको कुरा सुन्ने फुर्सद कहाँ?
चिया पियक्कडहरू चियाको चुस्कीसँगै गफका पत्र–पत्र खोलून भन्ने गणेशको चाहना हो। हाम्रो चाहना, गफका पत्र–पत्रमा गणेशको कथा सुन्नु।
‘यो मलाई सबैभन्दा मनपर्ने घनश्याम चिया,’ गणेशले चिया राख्दै भने।
‘घनश्याम चिया?’
कालोपाटीको चिया सूचीमा सबैभन्दा अगाडिको चिया हाम्रो टेबलमा थियो। यो चियाको श्रेय, उनको जीवनको सूचीमा सबैभन्दा अगाडि रहेको मान्छेसँग जोडिएको रहेछ– बुवा घनश्यामसँग।
बुटवलमा घनश्यामले सानो काठको टंकीमा चिया पसल सुरु गरेका थिए। गणेश त्यही पसलमा जन्मिए। बुटवलको केन्द्रमै रहेको त्यो पसलको चिया निकै प्रख्यात थियो। त्यसो हुनुमा गणेश चिया बनाउने तरिकालाई मान्छन्। त्योसँगै बुवाको इमानदारी।
‘असली चिया भनेको दूध, चिनी र चियापत्ति मात्र हालेर बनाइन्छ। त्यसमा अन्य मसला हुँदैन,’ उनले भने, ‘बुबा त्यसरी नै चिया पकाउनु हुन्थ्यो। दूधमा कहिल्यै पानी मिसाउनु भएन। म बुबाझैं इमानदारीपूर्वक चिया पकाउन चाहन्छु।‘
‘बुबाले चिया पसल खोल्नु त्यो समयको आवश्यकता थियो। जीविकोपार्जनको माध्यम। हामी सबैलाई पसलबाटै पाल्नुभयो। उहाँ र उहाँको पेसालाई सम्मान दिन पनि म चियावाला बनेको हुँ,’ गणेशले भने।
उनको चिया पसलमा ‘सन् १९५६ देखि सञ्चालित’ भनेर लेखिएको छ। सोच्नुहोला, यो बुबा घनश्यामको पालाको समय हो। होइन। उनको बुबाभन्दा अघि हजुरबुबा यज्ञप्रसादले नै चियाको व्यवसाय सुरु गरेका रहेछन्। गणेशले चियावालाको सञ्चालन मितिलाई हजुरबुबाको पालादेखि नै जोडेका छन्।
उनको हजुरबुवा पहाड घर कालिकोटको एउटा पसलमा काम गर्थे। त्यो गाउँघरको सामान्य पसल थियो। दिनभरी त्यहाँ बस्दा उनलाई चियाको तलतल लाग्न थालेछ। त्यहीँ एक कुनामा चिया पकाउन सुरु गरेछन्। त्यो चिया यति प्रख्यात भएछ, अरू मानिस पनि त्यो बाटो हिँड्दा उनीकहीँ चिया खान थालेछन्।
हुँदाहुँदा पछि चियाको पसल नै खोल्नुपर्यो।
‘यसरी हामी हजुरबुबाकै पालादेखि चियावाला हौं,’ गणेशले भने, ‘हजुरबुबा अन्जानमा चियावाला हुनुभयो। बुबा बाध्यतामा, म त्यसैलाई निरन्तरता दिने क्रममा।’
गणेशको ‘चियावाला’ मा पुर्खौदेखि बनाइँदै आएको दूधवाला चिया मात्र पाइन्न। चियाको सूची हेर्ने हो भने २९ प्रकारका छन्। त्यसलाई ‘मिल्क’, ‘ब्ल्याक’ र ‘स्पेसल’ मा विभाजन गरिएको छ।
घनश्यामपछि सूचीको दोस्रो नम्बरमा छ, ‘मेरो खुसी चिया’। यसमा तपाईं आफूखुसी मरमसलासहितको चिया पिउन सक्नुहुन्छ। त्यो पनि प्रतिकप ६० रुपैयाँमै।
रोयल चियामा काजु, बदाम, ड्राइ एप्पल लगायत मसला हालिने रहेछ। एउटा चियाको नाम ‘मदर टी (विथ लभ)’ छ। इलामका चिया उत्पादक आमा समूहलाई सम्मानस्वरुप यो नाम दिएको गणेश बताउँछन्।
यसबाहेक ग्रिन टी, गोल्डन टिप्स, तुल्सी, रोज लगायत चिया ‘चियावाला’ मा उपलब्ध छन्।
हिजोआज गणेशलाई घनश्याम चियासँगै मोरिंगा चियामा टक बसेको छ। ‘यो चियाले हाडजोर्नीको दुखाइ, डाइबेटिजजस्ता रोग हुनेलाई राम्रो गर्ने रहेछ। यसको विशेषता थाहा पाएदेखि म यही चिया पिउन थालेको छु,’ उनले भने।
‘चियावाला’ मा ४० रुपैयाँको घनश्यामदेखि ८०० को ब्लुमिङ टीसम्म पाइन्छ।
ब्लुमिङ टी महँगो हुनुको कारण त्यसको पत्ता हातले बुनेर बनाइएकाले हो। ‘प्युरेन टी’ पनि विशेष खालको छ। चियाको पुरानो स्वाद आओस् भनेर वर्षौं राखेर तयार पारिन्छ। चियावालामा यो चिया ६ सय रुपैयाँमा उपलब्ध छ।
चिया पियक्कडलाई लक्ष्य गरिएको ‘चियावाला’ मा कोल्ड ड्रिङ्क्स लगायत अन्य पेय छैनन्। बरु चियाकै साथी पाउरोटी, ओट मिल, कर्न फ्लेक्स, नमकिन लगायत पाइन्छन्।
गणेशले पाउरोटीलाई ‘म्याजिक ब्रेड’ नाम दिएका छन्। स्कुले उमेरमा आमाले घरमै पाउरोटी बनाउने तरिका उनले यसमा अपनाएका छन्। आफूले बनाएको आफैंले भने खाएका छैनन्। भन्छन्, ‘मलाई जहिले पनि यो कस्तो बन्यो होला भन्ने भइरहन्छ। त्यो कौतूहल रमाइलो लाग्छ।’
सानैदेखि चियाको वातावरणमा हुर्किएका गणेश चियाका लती पनि हुन्। यसको तलतल मेटाउन उनले पाटन र काठमाडौंका विभिन्न गल्ली चहारेका छन्। कहिले त राति ३, ४ बजे उनलाई चियाको तलतल लाग्छ। त्यस्तो बेला नजिकका पसल बन्द हुन्छन्। उनी बाइक लिएर अस्पतालको क्यान्टिन धाउँछन्।
चियाको लत यहाँका गल्लीहरूले गराए पनि चियाका विभिन्न प्रकार हुन्छन् भन्ने ज्ञान भारतका गल्लीहरूमा पाएको उनी बताउँछन्।
‘नेपालमा लोकल र स्पेसल मात्रै चिया हुन्थ्यो। भारतमा भने कहिले नसुनेका चिया देख्न पाएँ,’ उनले भने, ‘त्यहाँ मानिस कति रमाइलो गरी चिया पिउँछन् भन्ने पनि देखेँ। चियालाई लिएर उनीहरूको उत्सुकता देखेर चिया पसल खोल्ने सोच आयो।’
यही सोच उनले बारम्बार परिवारलाई सुनाए। कसैले पत्याएनन्। त्यो स्वाभाविक नै थियो। चिया पकाउदा दिनभरि एकैठाउँ अडिएर बस्नुपर्छ। त्यो उनको स्वभावै थिएन।
उनले १६/१७ वर्ष उमेरमा बुटवलको एक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने अवसर पाएका थिए। त्यो कार्यक्रमपछि उनलाई रेडियोमा काम गर्ने प्रस्ताव आयो। बुटवल एफएममा काम गर्दै थिए, अर्कोमा जोडिए। कहिले यो रेडियो, कहिले त्यो। कहिले यो टिभी, कहिले त्यो। उनी एकैठाउँ अडिनै नसक्ने। फिल्म बनाउन थालेपछि झन् फुक्काफाल। कहिले यो ठाउँ कहिले त्यो, कहिले यो फिल्म कहिले त्यो।
‘चियावाला सुरु गर्नु १५ दिनअघिसम्म पनि म बिहान ४ बजेतिर सुतेर दिउँसो २ बजेतिर उठ्थेँ। अहिले बिहान ६ बजे यहाँ आइसकेको हुन्छु। बेलुकी ८ बजेसम्म बस्छु,’ उनले भने, ‘म एकैठाउँ विहानदेखि बेलुकीसम्म बस्नै सक्दिनँ जस्तो लाग्थ्यो। अहिले यो ठाउँमा दिनभरी बस्दा पनि बोर हुन्न। फिल्म बनाउँदा शारीरिक र मानसिक दबाब हुन्थ्यो। चिया बनाउँदा अरू कुरामा ध्यानै जाँदैन। ध्यानजस्तो भएको छ।’
हामी कुरा गरिरहँदा वरपर फिल्म र रंगमञ्चका थुप्रै मानिस देखिन्थे। उनीहरू गणेशलाई भेट्थे, चिया पिउँथे। चियावाला खोलेदेखि साथीहरू भेट्नसजिलो भएको उनी बताउँछन्।
‘साथीहरूलाई भेट्न कतै गइरहनै पर्दैन,’ उनले भने, ‘सबै यहीँ आइपुग्छन्।’
यति बेलासम्म उनको बुबाको नाम रहेको चिया सक्किसकेको थियो। कुराकानी भने बाँकी। यहीबीच हामीले गणेशको क्याफे एक फन्को मार्यौं।
हामी त्यही ठाउँमा पुग्यौं, जहाँ चियाको कित्ली र गिलासको चित्र बनाइएको छ। यो कलाकार सजन थापा मगरले बनाएका हुन्। क्याफे बीचमा काठको मुडा छ। नजिकै मासु पसलमा प्रयोग नभएपछि यहाँ सजाउन भनेर लिएर आएछन्। काम नलाग्ने बच्चाको सानो साइकल र पुरानो टिभीलाई उनले चिया राख्ने टेबलको रूप दिएका छन्। त्योसँगै, क्याफेको ‘सेटअप’ नै ‘शिपिङ कन्टेनर’ बाट तयार पारेका छन्। क्याफेमाथि पनि बस्न मिल्ने ठाउँ छ।
क्याफे एक पुरानो टिनको घरमा जोडिएको छ। साथीभाइ पुग्दा घरको भित्ता क्याफेलाई नसुहाएको भन्दै छोप्न सुझाउँदा रहेछन्। उनी भने छोप्न चाहँदैनन्। बरू त्यसमा सजनले झ्याल र ढोकाजस्ता चित्र कुँदेका छन्।
‘मलाई यो टिनको भित्ताले गाउँघर सम्झाउँछ। म घरवरिपरि छु जस्तो लाग्छ,’ उनले भने, ‘खोलापारि घरहरू देख्नुहुन्छ नि। यस्तो लाग्छ, म सहरदेखि टाढा छु। घरलाई सम्झाउने यो टिनलाई कसरी हटाऊँ?’
यति भन्दै उनी फेरि आफ्नो अतिततिर फर्किए।
दुःख–सुख गरी बुबा घनश्यामले काठको टंकीबाट चिया पसल सुरु गरेका थिए। त्यो विस्तारै मिठाइ पसलमा परिणत भएछ। पसलबाटै उनले सम्पत्ति पनि जोडे।
‘सुरुमा हाम्रो केही सम्पत्ति थिएन। आमाबुबालाई सधैं सम्पत्ति जोड्नुपर्छ भन्ने मनमा गडिरहेको रहेछ। मलाई भने म जहाँ हुन्छु त्यो नै मेरो सम्पत्ति हो जस्तो लाग्छ। चाहे एकरात कुनै होटलमा किन नबसुँ,’ उनले भने, ‘यो क्याफे भएको ठाउँ मेरो होइन। तर यहाँ मेरो क्याफे भएकाले यो मेरै सम्पत्ति हो जस्तो लाग्छ। त्यसैले आफ्नै ढंगले निर्माण गरेँ।’
क्याफे एक फन्को मारेर हामी पहिलेकै टेबलमा फर्कियौं।
टेबलको एक छेउमा किताबहरू छन्। पुराना लेखक भैरव आर्याल, बिपी कोइराला, पारिजातदेखि नयाँ लेखक ब्रजेश खनाल, कुमार नगरकोटी लगायतका। केही अंग्रेजी किताब र कमिक्स पनि छन्। अर्कोतिर विभिन्न निर्देशकका तस्बिर र उनीहरूका भनाइ छन्।
तस्बिरमाथिको एक कुनामा मट्का कप लस्करै राखिएका छन्। यहाँ चिया खानेहरूले ‘आइ वाज हेयर’ लगायत शब्द लेखेर छाडेका छन्।
वरिपरिको दृश्य देखेर हामी किताबतर्फ केन्द्रित भयौं।
‘किताब धेरै पढ्नुहुन्छ जस्तो छ?’
आफूले पढिसकेको, पढ्दै गरेको र पढ्न बाँकी किताब क्याफेमा सजाएको उनले बताए। फिल्मका स्क्रिप्टसमेत लेख्ने उनलाई किताबको लत चियाझैं बसेको रहेछ।
‘सानोमा धेरै उपन्यास र कमिक्स पढ्थेँ। बिपीको यौन मनोविज्ञानले निकै प्रभावित बनाउँथ्यो,’ उनले भने, ‘मेरो साथीको किताब पसल थियो। हाम्रो चिया पसल मिठाइ पसल बनेपछि म साथीलाई मिठाइ लगेर दिन्थेँ। बदलामा एउटा कमिक्स दिनभरी पढ्न पाउँथेँ।’
किताबपछि हामी त्यसैछेउको निर्देशकका तस्बिरमा केन्द्रित भयौं।
यी उनलाई मनपर्ने चार निर्देशक रहेछन्– मार्टिन स्कोर्सेसे, क्वेन्टिन तारान्टिनो, वंग कर वाइ र अनुराग कश्यप। तस्बिर यहाँ राख्दा उनलाई कहिलेकाहीँ यी निर्देशकले आफूले चिया पकाएको हेरिरहेका छन् जस्तो लाग्ने रहेछ।
चारमध्येका मार्टिन स्कोर्सेसेको तस्बिरमा लेखिएको छ, ‘देयर इज नो सच थिङ एज सिम्पल। सिम्पल इज हार्ड।’ अर्थात्, ‘साधारण बन्न गाह्रो छ।’
उनी चियावाला बनेर साधारण बन्न खोज्दैछन्। चियावाला बन्दा उनी निर्देशक भएको बिर्सन चाहन्छन्, जुन सजिलो होइन।
तस्बिरमा अनुराग कश्यप भन्छन्, ‘कभी कभी लगता है, अपुन ही भगवान हैं।’
उनलाई चिया बनाउँदा त्यही अनुभूति हुन्छ। चिया कसरी बनाउने त्यो आफ्नै हातमा भएकाले भगवान महशुस भएको उनी बताउँछन्।
वंग कर वाइको तस्बिरमा कुनै शब्द छैन। शब्दको ठाउँ फिल्म ‘इन द मुड फर लभ’ को दृश्यले ओगटेको छ। गणेश भन्छन्, ‘उनका फिल्मका दृश्य नै बेजोड र काव्यात्मक लाग्छन्। यो मलाई मनपर्ने फिल्मको एक दृश्य हो।’
निर्देशक क्वेन्टिन तारान्टिनोको तस्बिरले भन्छ, ‘द गुड आइडियाज् वील सरभाइभ।’ अर्थात्, राम्रा कुरा सधैं रहिरहनेछन्। उनी आफू बितिसकेपछि पनि आफ्ना फिल्महरू रहिरहनेमा निश्चिन्त सुनिन्छन्।
सधैं रहिरहने फिल्मका ‘आइडिया’ हरू उनको दिमागमा घुमिरहेका हुन्छन्। त्यसलाई शब्दमा उतार्छन्। स्क्रिप्ट बनाउँछन्।
गणेशका अनुसार सुरुमा उनी कथाका लागि धेरै ठाउँ घुम्नुपर्छ भन्ने धारणा राख्थे। अहिले बुझाइ फराकिलो भएको छ। आफूसँगै भएका कथा फिल्ममार्फत् भन्न चाहन्छन्। सानैदेखि फिल्म हेर्न रुचाउने उनी कथा भन्ने राम्रो माध्यम फिल्म हो भन्ने धारणा राख्छन्।
उनले पछिल्लो समय एउटा फिल्मको स्क्रिप्ट लेखेका छन्। नाम चियासँगै जोडिएको छ– ‘चिनी कम रङ कडा’।
फिल्म कति ‘कम’ वा ‘कडा’ बन्ला, त्यसका लागि प्रतीक्षा गर्नुपर्छ। चियाको मूल्याकंन गर्न ‘चियावाला’ छँदैछ।
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी