सर्वोच्च अदालतले सरस्वती प्रतीक्षाको उपन्यास नथियासमेत २ किताब र एक चलचित्रविरूद्ध परेको रिटमा फैसला गर्दै कुनै कुरा प्रकाशन प्रसारण गर्दा व्यक्ति वा समुदायको आत्मसम्मानमा चोट नपुर्याउन सबैको ध्यानाकर्षण गरेको छ।
वादी समुदायबारे लेखिएका दुई किताब ‘नथिया’ र ‘ऐलानी’ अनि चलचित्र ‘पण्डित बाजेको लौरी’विरूद्ध अन्तरिम आदेश माग्दै दायर गरिएको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले यस्तो आदेश गरेको हो।
रिटमा माग गरेअनुसार लेखक र निर्देशकले माफी माग्न र किताब सच्याउन भने सर्वोच्चले आदेश दिएको छैन।
सरस्वती प्रतीक्षाद्वारा लिखित उपन्यास नथिया, विवेक ओझाद्वारा लिखित ऐलानी र चलचित्र पण्डित बाजेको लौरो सिनेमाले वादी समुदायको आत्मसम्मानमा ठेस पुर्याएको भन्दै मिना नेपालीले असोज ४ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। त्यसका लेखक र निर्देशकलाई वादी समुदायसँग माफी माग्न लगाउन पनि रिटमा उल्लेख थियो।
लेखकलाई माफी माग्न आदेश नदिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ।
‘लेखकले माफी माग्नु पर्ने गरी आदेश भएको छैन। खाली कुनै कुरा प्रकाशन प्रशारण गर्दा समुदाय वा व्यक्तिको आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ ध्यानाकर्षण गराइएको सम्म हो। यो फैसलाको पूर्ण पाठ न्यायाधीशहरूले लेख्दै हुनुहुन्छ,’ सर्वोच्च स्रोतले भन्यो।