कुनै कुमारी र गणेश भगवानका रूपमा त कुनै नेवारी पहिरनमा सजिएका केटाकेटी।
विभिन्न रूपका कठपुतली देखेर फ्रान्सका फ्रेडरिक सिमोनलाई लागेछ, यिनको प्रयोग नेपाली रंगमञ्चमा हुनुपर्छ।
फ्रान्सेली रंगमञ्चमा जमेका फ्रेडरिक सुरुमा नाटक खेल्थे। त्यसपछि लेख्न थाले अनि निर्देशन गर्न। उनलाई पहिले कलाकार बनेर मञ्चमा देखिन मन लाग्थ्यो। सबैले चिनून् भन्ने चाहन्थे। जब एक जापानी कलाकारसँग भेट भयो, उनलाई कठपुतलीहरूमा रुचि जागेर आयो।
'पुतलीको आवरणमा लुकेर कथा भन्नुको सन्तुष्टि नै बेग्लै। तपाईं मञ्चमा देखिएर जे भन्न सक्नुहुन्न, त्यही कुरा कठपुतलीलाई अघि सारेर भनाउन सक्नुहुन्छ,’ उनी भन्छन्, ‘कुनै गाह्रो मुद्दा उठाउनुछ भने कठपुतली रंगमञ्चको सजिलो वक्ता हो।’
रंगमञ्चमा कठपुतलीको शक्ति वर्णन गर्न फ्रेडरिक अमेरिकी लेखक जेके रोलिङको ‘ह्यारी पोर्टर’ सम्झिन्छन्।
‘ह्यारीसँग एउटा अदृश्य हुने लुगा छ, जसमा छिरेपछि ऊ सारा संसार देख्न सक्छ, तर उसलाई कसैलाई देख्दैन,’ उनी भन्छन्, ‘कठपुतली हुनुको अनुभुति त्यस्तै हुन्छ। तपाईं आफू अदृश्य रहेर सारा संसार देख्नुहुन्छ।'
यिनै फ्रेडरिक हालै राजधानीमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवअन्तर्गत पपेट (कठपुतली) कार्यशालाका लागि आएका थिए। महोत्सव क्रममा राजधानीका चार प्रमुख नाटकघर (मण्डला, सर्वनाम, कौसी र थिएटर मल) मा कठपुतलीहरू सजाइएका थिए।
दुईदिने उक्त कार्यशालापछि नेपाली रंगकर्मीहरूले रञ्जना ओलीले सुनाएको ‘पेन्गुइनको कथा’ लाई नाट्य रूपान्तरण गरे।
स्विमिङ सिक्न गएको सानो पेन्गुइनले आफ्नो हराएको परिवार कसरी खोज्छ? यही नाटकको विषयवस्तु हो।
रंगकर्मीहरूले यसमा प्रयोग गरेका कठपुतली दुई दिन लगाएर आफैं बनाएका थिए। कपडा, कागज लगायत सामग्री प्रयोग गरिएको थियो।
‘पुतली आफैं बोलेजस्तो बनाउन गाह्रो भयो,’ रंगकर्मी रेनु योगीले अनुभव साटिन्, ‘ओहो! नाइँ! भन्न हामीलाई सजिलो छ। यसलाई गराउन गाह्रो।’
कलाकार लुनिभा तुलाधरले कठपुतली बनेर आफू अदृश्य हुने रहर कुनै बेला भएको बताइन्।
‘मलाई सधैं अदृश्य हुने एकप्रकारको पागलपन थियो। अरूसँग दाँजेर गरिने हेपाहा व्यवहार मलाई मन पर्थेन। कुनै समय आफैं कठपुतली बनेर पागलपनको अभिनय गर्ने सोचेको थिएँ,’ उनले भनिन्, ‘प्रयोग भने गरेको छैन।’
लामो समयदेखि अभिनय गर्दै आएकी लुनिभाले नेपाली रंगमञ्चमा कठपुतलीको प्रयोग कमै मात्र भएको औंल्याइन्।
फ्रान्स लगायत युरोपेली मुलुकमा कठपुतलीलाई ‘म्यारोनेट’ भनिन्छ। फ्रेडरिकका अनुसार फ्रान्समा ‘म्यारोनेट’ को विद्यालय नै छ, जहाँ समय–समयमा यसको महोत्सव नै हुन्छ।
यी कुनै ‘गल्ब’ म्यारोनेट (गिनियोल), स्ट्रिङ (धागो), स्याडो (छायाँ) त कुनै कागजका हुन्छन्। उनका अनुसार यस्ता पुतली बनाउन सजिलो हुन्छ। आफूसँग भएका साधारणदेखि साधारण सामानबाटै तयार हुन्छन्।
उनले कार्यशालामै आफूले लगाइरहेको ओढ्ने खोलेर देखाए।
ओढ्नेलाई टाउकोको आकार दिए। त्यसमा जोकरले हाल्ने रातो डल्लोको नाक राखिदिए। चस्मा लगाइदिए। सानो पुतली तयार भयो।
‘म पुतली हो...,’ आफ्नो स्वर केही भिन्न बनाएर उनले कठपुतलीमा जीवन भरे।
फ्रेडरिकका अनुसार कठपुतली बन्दा हामी थरिथरिका आवाजबाट एकैपटक धेरै जना मान्छे बन्न सक्छौं। आफ्नै स्वरमा बोले पनि सबैले पुतली नै बोलेको भन्ठान्छन्।
‘आफूसँग थरिथरि आवाज निकाल्न सक्ने खुबी भए झन् राम्रो। विभिन्न आवाजका लागि कलाकारले अरूको स्वर नक्कल पनि गर्छन्,’ उनले भने।
एक्लोपनको साथी पनि हुन्छन् यस्ता पुतली, जोसँग संवाद गर्न सकिन्छ। आफ्नो मिल्ने साथीलाई मात्र भनिने अतिगोप्य कुरा भन्न सकिन्छ। जसरी टम ह्यांक्स अभिनित फिल्म ‘कास्ट अवे’ मा टापुमा हराएका मूल पात्रले सानो भकुन्डोलाई साथी बनाउँछन्, त्यसैसँग संवाद गर्दै लामो समय आफूमा आत्मबल थप्छन्। त्यसरी नै कठपुतलीले हामीलाई नजानिँदो ढंगले ऊर्जा र साथ दिइरहने फ्रेडरिकको भनाइ छ।
मार्च २१ ‘विश्व कठपुतली दिवस’ का रूपमा मनाइएको थियो। यो दिवस सन् २००३ देखि मनाउन थालिएको हो।
कठपुतली बनाउन भने कहिलेबाट थालिएको होला?
फ्रेडिकलाई यो प्राग–ऐतिहासिक परम्परा हो भन्ने लाग्छ।
‘जब मानिस गुफामा बस्थे, उनीहरूसँग संवाद गर्ने कोही हुन्थेनन्। त्यसै बेला कुनै बालकले ढुंगालाई आमा–बा वा त्यस्तै केही भन्दै संवाद गरेको हुनुपर्छ। मायाले सुम्सुम्याएको हुनुपर्छ,’ उनले भने, ‘ती रंगमञ्चका कठपुतलीभन्दा फरक हुन्। तर सुरुआत त्यसरी नै भएको हुनुपर्छ।’
फ्रेडरिकले दक्षिण एसिया भ्रमणमा सबैभन्दा बढी कठपुतली भारतमा देखेको बताए। भारतमा यसको सुरुआतबारे विभिन्न किम्बदन्ती जोडिएका छन्।
अडिसा, मध्यप्रदेश, राजस्थान लगायत ठाउँ पुग्दा मृग, भैंसीजस्ता जनावरका छालाका कठपुतली पनि उनले देखे। धेरै त धागोले चल्ने खालका। नाम चलेका कलाकारको नाटकमा देखिने आधुनिक पुतलीभन्दा परम्परागत कठपुतलीको नाटक उनलाई विशेष लाग्छ।
‘भारतका कठपुतलीले गर्ने नाटकमा रामायण, महाभारत लगायत भगवानका कथा जोडिएका हुन्छन्,’ उनले भने, ‘यस्ता मिथबाट पनि हामीले कला, संस्कृतिका विविध पाटा उधिन्न सक्छौं।’
फ्रेडरिकको यो पहिलो नेपाल यात्रा हो। उनले नेपालका गाउँहरू राम्ररी घुम्न पाएका छैनन्। सहरभरी यस्ता कठपुतली देख्दा भने उनलाई लागेको छ, सहरबाहिर यस्ता कठपुतलीको परम्परागत नाटक पनि हुन्छन् होला।
फ्रेडरिकका अनुसार कठपुतली नाटकमार्फत् नेपालमा रहेको परम्परा जोगाउन सकिन्छ। हेर्दा रमाइलो भएकाले कथा बुझाउन सजिलो हुन्छ। विशेषगरी साना केटाकेटीलाई शिक्षा र जनचेतनामूलक काममा प्रयोग गर्न सकिन्छ। यसमा सरकारी निकायको सहयोगको प्रमुख भुमिका रहनुपर्ने उनी बताउँछन्।
यस्ता कठपुतलीलाई कन्टेम्पोरी कला, मूर्तिको काम, टेलिभिजन कार्यक्रममा समेत प्रयोग गर्न सकिन्छ। मोबाइल, टिभीले लगायतको प्रभावले कठपुतलीको प्रथा हराइरहेको उनको भनाइ छ।
संसारमा अचेल आधुनिक कठपुतलीको प्रयोग पनि बढ्दो छ, जसका आँखा नाच्छन्, मुख चल्छन्। दुई–तीनवटा अनुहार हुन्छन्। तिनलाई हलिउड फिल्म र विज्ञापनमा व्यापक प्रयोग गरिन थालेको छ।
फ्रेडरिकका अनुसार रोबट पनि एक प्रकारको कठपुतली नै हो।
पछिल्लो समय भने उनी ‘मास्क’ मा काम गरिरहेका छन्। उनका अनुसार यो पनि कठपुतलीको एक सामाग्री हो। त्यस्ता मास्क जात्रापर्वमा हामीले देख्दै आएका छौं। विभिन्न मास्कमा मानिसहरू देवताको अवतारमा देखिन्छन्, लाखे, नवदुर्गा आदि।
‘जब तपाईं हातमा मास्क लिनुहुन्छ, त्यो बेला त्यही कठपुतली हो,’ उनले भने, ‘अनुहारमा लगाउनुस्, तपाईं स्वयं कठपुतली।’