सम्हालेर राख, संगालेर राख
फेरि फुल्ने हो कि हैन, जोवनको फूल...
यसलाई राख, साँची साँची राख
चाहे झरोस् बिरानीमा, निशानी भई फूल...
जोवनको फूल घरिघरि फुल्दैन। कहिल्यै नओइलाउने अमर पनि हुँदैन। न वासना कैद भएर बस्छ।
शान्ति ठटालको उमेर ८० पुग्यो। उनका संगीतका 'नोट' रूपी फूल भने अझै ढकमक्क छन्। स्वरको 'क्लासिक' सुगन्ध अत्तरझैं मगमगाउँदो छ।
यिनै फूल र सुगन्ध छर्न शान्ति दार्जिलिङबाट काठमाडौं आइपुगेकी छन्। नेपालयको 'आर-शाला' मा शुक्रबारबाट सुरू हुने 'पलेँटी' मा उनी आफ्ना रचना सुनाउने तयारी गर्दैछिन्।
अभ्यास क्रममा हामीले भेट्दा उनको उज्यालो चेहराका चम्किला आँखा हार्मोनियममा टुकटुक कुदिरहेका औंलासँगै चल्दै थिए। गीतका शब्द गुनगुन सुनिँदै थियो। उनको गुनगुनमा स्वर भर्दै थिए, गायिकाद्वय विमला सेन्चुरी प्रधान र अञ्जली प्रधान।
विमला मिरिककी हुन् भने अञ्जली सिक्किम, गान्तोककी। यसपालि 'पलेँटी' मा यी दुई गायिकाले शान्तिका गीतमा आवाज भर्दैछन्।
नेपाली संगीतप्रेमीहरूका लागि शान्ति 'लेजेन्ड' हुन्। उनको व्यावसायिक संगीत यात्रा सुरू भएको झन्डै ६५ वर्ष भइसक्यो। 'परालको आगो' र 'बाँच्न चाहनेहरू' फिल्ममा संगीत भरेकी शान्ति नेपाली फिल्ममा संगीत भर्ने पहिलो महिला संगीतकार पनि हुन्। त्यसमध्ये 'बाँच्न चाहनेहरू' का दुइटा गीत उनी यसपालि पलेँटीमा प्रस्तुत गर्दैछिन्।
शान्तिलाई नेपाली श्रोतामाझ चिनाउने गीत 'सम्हालेर राख' र 'मेरो दुःखी मन' हुन्। दुवैका संगीतकार हुन्, अम्बर गुरूङ। यी गीत सन् १९६५ मा रेडियो नेपालमा रेकर्ड भएका थिए।
आधा शताब्दीअघिको त्यो समय अहिले पनि उनलाई झल्झल्ती याद छ।
'त्यही साल हो म पहिलोपटक काठमाडौं आएको। राजा महेन्द्रको जन्मोत्सवमा हामीलाई संगीत प्रस्तुत गर्न निम्तो आएको थियो,' अभ्यासबाट एकछिन विश्राम लिँदै उनले भनिन्, 'अरूणा लामा, शरण प्रधान, एक जना बाँसुरीवादक र म काठमाडौं आएका थियौं।'
जमलको राष्ट्रिय नाचघरमा भएको कार्यक्रमपछि उनीहरूको गायनको खुब प्रशंसा भयो। राजा महेन्द्रले पनि तारिफ गरे। लगत्तै शान्तिले रेडियो नेपालको स्टुडियोमा गीत रेकर्ड गराइन्।
दार्जिलिङवासीले 'रेडियो खर्साङ' मा उनको आवाज सुन्दै आएका थिए। यता नेपालीले रेडियो नेपालमा सुन्न थाले। उनी दुवैतिरका श्रोताकी प्रिय बनिन्। यी दुवै भूमि उनलाई पनि प्यारा छन्।
'दार्जिलिङ र नेपालको साहित्यिक र सांगीतिक सम्बन्ध छ। यहाँका धेरै महारथीहरू उता जानुहुन्थ्यो। विस्तारै उताका पनि यहाँ आउन थाल्नुभयो,' उनले भनिन्, 'सहकार्य बढ्दै गयो। नेपाली र दार्जिलिङको सांगीतिक सम्बन्ध बलियो हुँदै गयो।'
यही क्रममा नातिकाजी, पुष्प नेपाली, धर्मराज थापा, शिवशंकर, तारादेवी लगायत धेरै नेपाली गायक तथा संगीतकारसँग शान्तिको परिचय भयो र सम्बन्ध बाक्लिँदै गयो।
दार्जिलिङमा स्वागत गीतका साथै पूजाआजा, बिहे र सांगीतिक कार्यक्रममा भजन तथा लता मंगेशकरका गीत गाउँदै हुर्केकी हुन् शान्ति। एकदिन हिमालय कला मन्दिरमा मञ्चन हुने नाटकका गीतमा काम गर्ने शिवप्रसाद सिंहले उनको स्वर सुनेछन्।
उनी एकै सुनाइमा कायल भए।
सिंहले उनलाई नाटकमा गीत गाउने अवसर दिए। त्यो बेला उनी सात कक्षा पढ्दै थिइन्।
'वारिवारि बादल बीचमा पहाडी भेष नि...' सिंहको आफ्नै रचना र संगीत रहेको यो गीत शान्तिको स्वरमा गुञ्जियो।
शान्ति सिंहलाई आफ्नो पहिलो गीतका गीतकार मान्छिन्। यिनै सिंहले उनलाई कलकत्ता लगेर चारवटा गीत एकैपटक रेकर्ड गराए।
सन् १९५६ मा कलकत्तामा उनको पहिलो गीत 'चाँदनी चाँदनी तिमी छौ शितल पथमा...' रेकर्ड भयो।
नाटक र कार्यक्रममा मात्र गुञ्जिँदै आएको शान्तिको स्वरले दार्जिलिङको रेडियोमा तहल्का मच्चायो। यसपछि उनी नाटकमै गायिका भएर काम गरिन्। एक वर्षजसो भएपछि उनलाई 'अब गीत गाएर मात्र हुँदैन, शास्त्रीय संगीत पनि अध्ययन गर्न जरूरी छ' भन्ने लाग्यो।
दार्जिलिङ बाहिर गएर केही सिकेर, जानेर संगीतमा लाग्दा राम्रो होला भनेर उनी कलकत्ता गइन्।
'म कक्षा आठमा पढ्थेँ। कसैले तिम्रो नाम के हो नानी भन्दा पनि साह्रै अप्ठ्यारो मानेर दिदीलाई यसो ठेल्दै 'भन्दिनू न' भन्थेँ। त्यस्ती स्वाभावकी म तीन वर्ष कलकत्ता बसेर संगीत पढेँ,' उनले भनिन्।
उनी रवीन्द्र भारती विश्वविद्यालय पढेकी हुन्। यो विश्वविद्यालयका धेरै संगीतकर्मी भारतीय संगीतमा जमेका छन्। शान्तिलाई पनि बम्बई बस्ने विकल्प थियो। तै उनी फर्किन्। दार्जिलिङकै साँस्कृतिक तथा कला केन्द्रमा अम्बर गुरूङसँग मिलेर डेढ वर्ष काम गरिन्।
शान्तिको मन संगीत रचनातिर पनि ढल्कियो। उनको यो सपनाले सन् १९६५ मा साकार रूप लियो।
'म सानैदेखि गायनमा लागिपरेकी थिएँ। संगीत रचना गर्छु भन्ने कल्पनासम्म गरेकी थिइनँ,' उनले भनिन्, 'संगीतको कुनै सीमा हुने रहेनछ। पहिलो चरणमा मैले दुइटा गीत कम्पोज गरेँ।'
उनले संगीत दिएको पहिलो गीत भानुभक्त आचार्यमाथि रचिएको थियो। भानुभक्तको जन्मदिनमा समर्पित यो गीत आफ्नै माइली भाउजूले लेखेको उनी बताउँछिन्।
'म हार्मोनियम बजाउँदै गाएर सुनाउँछु है, खाली गला गाह्रो हुने रहेछ,' यसो भन्दै उनी हार्मोनियमका धूनसँगै आफ्नो आवाज मिसाउन थालिन्।
'साहित्यका सम उदाई भानु उज्याल्यौ नेपाली संसार,
रहला याद अनन्तसम्म यो २९ गते असार'
उनले संगीत दिएको दोस्रो गीत संगीतकार अम्बर गुरूङले नै लेखेका हुन्।
'म अचानक नै अडेँ
फूल पनि तर्सिदियो'
'यी दुई गीतमा संगीत दिएर सँगसँगै प्रस्तुत गरियो। त्यसको केही समयपछि नै म काठमाडौं आएँ,' उनले भनिन्।
उनले सन् १९७७ मा सिक्किमको केन्द्रीय विद्यालयमा संगीत पनि पढाउन थालिन्। पछि केन्द्र सरकारले सिक्किमको साँस्कृतिक विभागमा संगीत नेतृत्व गर्न बोलायो। उनले त्यहाँ २० वर्षभन्दा बढी समय जागिर खाएर अवकाश पाइन्।
त्यहाँ बसेर पनि नेपाली गीत-संगीतमा योगदान दिन छाडिनन्। अवकाशपछि उनी दार्जिलिङ नै आइन्।
शान्तिले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृति मुनामदन, कुञ्जिनी र म्हेन्दोमा आधारित सांगीतिक सिर्जना गरिन्। यीमध्ये केन्द्रीय विद्यालयमा हुँदै 'मुनामदन' मा संगीत भरेर प्रस्तुत गरेकी थिइन्। त्यसको निर्देशनसमेत आफैंले गरेको उनी बताउँछिन्।
'मन्दीप लामा भाइले मलाई अनुरोध गरेका थिए। त्यो बेला कस्तो भयो केही थाहा छैन। कुन प्रकारले कम्पोज गरेँ कुन्नि। अब त मैले मुनामदनलाई लरतरो तरिकाले गर्न हुँदैन भन्ने सोचेकी छु। प्रयास हुँदैछ हेरौं के हुन्छ,' उनले भनिन्।
अर्को महिनाको पलेँटीमा प्रस्तुत गर्ने गरी 'मुनामदन' को तयारी भइरहेको उनले बताइन्।
हिन्दी, बंगला र नेपाली भाषामा गीत गाइसकेकी शान्ति पछिल्लो समय नेपाली भजनमा आकर्षित छिन्।
'हामीले आफ्नो इतिहास रच्नुपर्यो भनेर नेपालीमा केही भजन रचना गरेकी छु,' उनले भनिन्, 'भजन जुनसुकै भाषाका गाउन सकिन्छ। तर, नेपालीमा पनि होस् भन्ने हो। यसपालि पलेँटीमा नेपाली भजन प्रस्तुत गर्ने तयारी गर्दैछु।'
शान्तिको जीवनकै पहिलो एकल प्रस्तुति सन् २००६ को पलेँटी नै हो। त्यो बेला उनी ६६ वर्षकी थिइन्। त्यसपछि लगभग दुई-दुई वर्षको अन्तरालमा उनी यहाँ आइरहेकी छन्।
असी वर्षमा उनलाई हिँड्न त मुश्किल छ, तर स्वर र औंला अझै दौडिन्छन्।
छुट्टिने बेला हामीलाई हेर्दै उनी भन्दै थिइन्, 'नयाँ पुस्ताका श्रोताले पनि मेरा गीत-संगीत सम्हालेर राखेको देख्दा बडो खुसी लाग्यो।'
हामी बाहिरिँदै गर्दा 'आर-शाला' मा फेरि उनी हार्मोनियममा टुकटुक औंला कुदाउन थालिसकेकी थिइन्। पृष्ठभूमिमा गुनगुन गीत सुनिँदै थियो।
सम्हालेर राख, संगालेर राख
फेरि फुल्ने हो कि हैन, जोवनको फूल...
यसलाई राख, साँची साँची राख
चाहे झरोस् बिरानीमा, निशानी भई फूल...
भिडिओः विवेक राई/सेतोपाटी