नम्रता केसीका पछिल्ला तीन महिना उत्साह र डरसँग पैठेजोरी खेल्दै कट्यो। धपेडी त कति कति, भनिसाध्य छैन।
हालै राष्ट्रिय नाचघरमा सम्पन्न 'नेपाल नृत्योत्सव' निर्देशकको भूमिकामा थिइन् उनी। तीनदिने यस कार्यक्रमका मसिनादेखि ठूला निर्णय उनकै जिम्मामा पर्यो।
'ठूलो कार्यक्रम भएकाले केही गडबड हुने हो कि भन्ने डर थियो,' नम्रताले भनिन्, 'तर राम्रो भयो।'
हरेकका लागि आफूले गरेको काम आफ्नै सिकाइको प्रक्रिया पनि हो। उनी आफैं दर्शक बनेर हेर्दा 'महोत्सव' नेपालभरका नाच हेर्ने–बुझ्ने अवसर बन्यो। सातै प्रदेशका फरक-फरक संस्कृतिका कलाकार एकै थलोमा थिए। यो माहोलले उनको मन हरेको थियो।
उनीहरूबीच अनुभव साटासाट गर्ने वातावरण हेर्दै गर्दा उनलाई कार्यक्रम सुरू हुनुअघि नै सफल भइसकेको आभाष भएछ।
'देशभरका दर्जनौं कलाकार लोपोन्मुख नाचहरू लिएर मञ्चमा उक्लेको क्षण विशेष थियो। यसले पोजिटिभ भाइब्स जगाएको छ,' उनले खुसी साटिन्।
ठूला कामहरूको गर्भमा स-साना सपना र रहर मिसिएका हुन्छन्। नम्रतामा पनि नृत्य विधासम्बन्धी बौद्धिक छलफल गराउने रहरले लामो समयदेखि घर बनाएको थियो। त्यो रहर उनले भारतमा बसिरहेकी नर्तकी माला निलाकारलाई सुनाइन्, रहरको सीमा फराकिलो भयो।
नृत्यसम्बन्धी छलफल र कार्यशालामा लोक तथा शास्त्रीय नृत्य प्रस्तुतिहरू पनि थपिए। अन्ततः त्यसले राष्ट्रियस्तरको 'महोत्सव' रूप लियो।
यही बहानामा नेपाली नृत्य संसारका अनेक आयाम देख्न र बुझ्न पाएकोमा उनी दंग छिन्।
'गाउँमै हुर्केको भए पनि हाम्रा मौलिक नाचहरू देखेकै रहेनछु। गाउँ–आँगनको कुरा मञ्चमा हेर्न पाएजस्तो भयो,' उनले भनिन्।
यस्तै सिकाइ र सकारात्मक प्रतिक्रियाले नम्रताको मन आकाशमा स्वच्छन्द बत्तिने चंगाझैं हलुको भएको छ। सबभन्दा महत्वपूर्ण, उनको जीवनको एउटा पुरानो सपना साकार भएको छ।
नृत्य र सपना, नम्रताका बालापनदेखिका साथी। कहिले नाच्दानाच्दै सपना देख्नु त कहिले सपना देख्दादेख्दै नाच्नु, उनको दैनिकी।
सर्लाहीको परवानीपुर गाउँमा हुर्केकी नम्रतासँग नाचमा आकर्षित हुनुको ठोस कारण छैन। नाच्न हिजो पनि रमाइलो लाग्थ्यो, आज पनि। उनलाई थाहा भएको यत्ति हो।
सानो छँदा क्यासेट प्लेयरमा गीत बजुञ्जेल एकोहोरो नाच्थिन् रे! घरमा टेलिभिजन आएपछि ध्वनि र दृश्यसँग तालमेल गर्दै घन्टौं नाच्ने अर्को बहाना मिल्यो।
घरमा न स्कुलमा, नाच्न जान्ने वा सिकाउने भने कोही थिएन। जे जति सिकिन् आफ्नै रहरलाई गुरू थापेर जानिन्। बुबा गोविन्द केसी गायक भएकाले कलाको महत्व अभिभावकले बुझेका थिए। रोकतोक हुने कुरै भएन।
नम्रतालाई नाचले खिचिरह्यो, भविष्य यहीसँग जोडियो। यसमा उनको 'प्यासन' सँगै केही संयोग पनि कारक बने।
सबभन्दा ठूलो संयोग, एसएलसीपछि नर्सिङ प्रवेश परीक्षामा भएको असफलता। नाम निस्केको भए सायद उनी नर्सिङमै व्यस्त हुन्थिन्।
नर्स सपना तुहिएपछि बुबाले बागबजारको पद्मकन्या क्याम्पसमा नृत्य पढ्न सुझाए। नाच्न हुरुक्क हुने उनलाई बुबाको सुझाव मननपर्ने कुरै थिएन।
२०६४ सालमा पद्मकन्या जान थालेपछि बल्ल उनले नृत्य पढाइसँग पनि जोडिने रहेछ भनेर थाहा पाइन्। जति कक्षा लियो, उति धेरै सिक्ने उत्सुकता र आवश्यकता बढ्दै गयो। कोठाको ढोकामा चुकुल कसेर नाचेकी उनी आफ्ना पखेटा फिँजाउन थालिन्।
उनको उडान भारतको लखनउ विश्वविद्यालय पुग्यो, स्नातकोत्तर अध्ययन गर्न।
लखनउले उनको सोच्ने तौरतरिका बदलिदियो। त्यहाँ जम्मा दुई वर्ष बिताएकी हुन् तर उनलाई लाग्छ, 'मैले गर्ने हरेक काममा त्यही दुई वर्ष सिकेका कुराहरूकै प्रभाव छ।'
पद्मकन्यामा नृत्य ऐच्छिक विषय थियो। लखनउमा स्वैच्छिक भयो।
'मैले पढ्ने कत्थक नृत्यको सिलेबसभित्र संसार अटाएको पाएँ। पद्मकन्याको कोर्समा नृत्यलाई साँघुरो दायरामा बुझेकी थिएँ,' पढाइको तुलना गर्दै उनी भन्छिन्, 'हाम्रोमा पफर्मेन्स आर्ट प्राविधिक विषय जसरी पढाइन्छ। लखनउमा प्रस्तुति र काम प्रोड्युस गर्ने कुरामा जोड दिइन्थ्यो।'
लखनउमा शिक्षक र विद्यार्थीहरू आफ्नो समाज र संस्कृतिअनुसार नाचबारे फरर्र व्याख्या गर्थे। कतिले नाचेरै देखाउँथे। नम्रता भने रनभुल्ल पर्थिन्।
त्यस्तो बेला आफैंलाई गाली पनि गरिन्, 'धत् केटी, तँलाई त आफ्नो देशको एउटा नाच नि नाच्न आउँदैन। कसरी टिक्छेस् यहाँ?'
एकातिर अर्काको देश र ठूलो विश्वविद्यालय पुग्दाको अलमल, अर्कातिर नेपालको कुन क्षेत्रमा कस्तो नाच छ भन्ने ज्ञान नै छैन। लखनउमा यस्ता कुराले सुरूका दिनमा दुविधाग्रस्त बनायो उनलाई।
कतिसम्म भने, नेपालै फर्किनुपर्ने हो कि भन्नेसम्म चिन्ता बढ्यो।
चिन्ताको समाधानबारे पनि सुनाइहालिन्, 'म चाँडै सिक्ने खुबी भएको रहेछु। शिक्षिका आकांक्षा श्रीवास्तवले मलाई तिमी सक्छौ भनेर हौस्याउनुभयो। उहाँको मप्रतिको विश्वासले त्यहाँ घुलमिल हुन सघायो।'
नम्रता आफूलाई नृत्यसम्बन्धी हरेक कुराले चाँडै 'कनेक्ट' गर्ने बताउँछिन्। यस्तै 'कनेक्सन' ले सारा समय र ऊर्जा नृत्यमै खन्याउन प्रेरित गरेको उनको विश्वास छ।
नृत्यको आयाम फराकिलो छ, जसमा धेरै विधासँग सहकार्य गर्न सकिन्छ। विद्यार्थीका रूपमा लखनउमा नम्रताले बुझेको सबभन्दा ठूलो कुरा, नृत्य विधाको यही फराकिलो आयाम हो। त्यहाँ उनले संगीत, साहित्य, चित्रकलासँग जोडेर एकपछि अर्को नृत्य नाटक बनाउनुपर्थ्यो। उनी हरेकपटक नेपाल फर्केर यस्तै काम गर्ने मौन अठोट गर्थिन्।
२०७२ असारमा लखनउबाट फर्केर उनले 'एस्थेटिक डान्स सेन्टर' स्थापना गरिन्। नृत्यसम्बन्धी संस्थागत काम गर्ने प्रयासस्वरुप २० जना कलाकार भेला गरेर कार्यशाला चलाइन्। भेला भएका कलाकारलाई लिएर उनले 'स्वान लेक, राजेन्द्रलक्ष्मी, ज्यानमाया' जस्ता नृत्य-नाटक बनाइन्। उनको कामको प्रशंसा भयो र थप काम गर्न हौसिइन्।
नम्रताका दुइटा काम महत्वपूर्ण मानिन्छन्।
पहिलो, नृत्यसँग अन्य विधा जोड्दै नयाँ-नयाँ प्रयोग गर्नु।
दोस्रो, नृत्यमा व्यावसायिक जनशक्ति तयार पार्नु।
'नयाँ सम्भावनाहरूको खोजी र नयाँ पुस्ता निर्माण गर्न एकदमै आवश्यक छ,' उनी भन्छिन्।
उनले पछिल्लो समय नृत्योत्सवमा लोक तथा शास्त्रीय नृत्यका विभिन्न शैलीलाई एउटै कार्यक्रममा समेट्ने प्रयास गरेकी थिइन्।
'हाम्रा धेरै कुरा कच्चा अवस्थामा छन्, तिनलाई मञ्चमा प्रस्तुत गर्दा अझै निखार्नुपर्ने महशुस भएको छ,' उनले दर्शक हुँदाको अनुभव साटिन्।
विगत छ महिनादेखि नम्रता पद्मकन्यामा नृत्य पढाउँदै छिन्। उनका अनुसार नृत्यसम्बन्धी पाठ्यक्रममा 'अपडेट' को खाँचो छ।
'नाच्नु भनेको मनोरञ्जन मात्र हैन। समाज र राष्ट्रकै पहिचान निर्माण गर्ने आधार हो,' उनी भन्छिन्।
कुनै नृत्य हेरेर उक्त समाजबारे धेरै कुरा भन्न सकिने दाबी नम्रताको छ। हाम्रा सिनेमा, टेलिभिजन र नाटकमा भने सही प्रतिनिधित्व हुन नसकेको उनी बताउँछिन्।
उनी गुनासो गर्छिन्, 'सिनेमामा गुन्यूचोली लाएर कम्मर मर्काउनुलाई नै नेपाली नाच भनेको देखिन्छ। नाच प्रस्तुतिमा शैली दोहोरिन्छ। रंगमञ्चमा केही सकारात्मक प्रयास भए पनि नृत्य र संगीत विधा बुझ्ने थप कलाकारको खाँचो छ।'
कलाकार निम्ति नियमित अभ्यास जति जरूरी छ, अवलोकन र अध्ययन उत्तिकै आवश्यक हुन्छ। तर, हामीकहाँ नृत्यसम्बन्धी गतिविधि विरलै हुन्छन्। हुनेमा पनि सम्बन्धित क्षेत्रका कलाकार जाने चलन कम छ।
नम्रता सम्झिन्छिन्, 'लखनउमा हामीलाई गुरुहरूले कहिले तबला सुन्न पढाउँथे, त कहिले वृत्तचित्र हेर्न भन्थे।'
हेर्ने र बुझ्ने ठाउँका रूपमा नृत्य महोत्सव, विज्ञहरूसँगको कार्यशाला र छलफल सहायक हुने उनको बुझाइ ।
नृत्य पढ्ने नयाँ पुस्ताकी थोरैमध्ये एक हुन् नम्रता। छमछम नाचिरहेका महिलाका गोडाहरू बिहेपछि सुस्ताएको उनले देखेकी छन्। उनलाई पनि डर थियो, मेरा गोडा पनि थामिने हुन् कि?
यो संशयले लामो समय सताएन।
करिअरको सुरूआती क्षणदेखि मण्डला थिएटरको नजिक थिइन् उनी। मण्डलाकै कलाकार सोमनाथ खनालसँग पनि नजिकिइन्। सोमनाथ नम्रताका श्रीमान बने, उनका कामको पहिलो आलोचक र प्रशंसक बने। नृत्योत्सवमा पनि सोमनाथले संयोजन गरेका थिए।
नृत्य र नाटक एकअर्कामा समाहित विधा हुन्। नम्रता र सोमनाथको जोडीले आजसम्म सहकार्य भने गरेको छैन। एकअर्काको काम राम्रो बनाउन सुझाव र साथ मात्रै दिन्छन्।
'सँगै काम गर्ने रहर होला नि?'
जवाफमा नम्रता हाँस्दै भन्छिन्, 'भो, नगर्ने। हाम्रो मत बाझिन्छ होला।'
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी