उनलाई आफूले मुख्य कलाकारका रुपमा अभिनय गरेको सिनेमा 'द स्पन्सर'को पूरा कथा थाहा थिएन। सिनेमा छायांकन भएको सात वर्ष पुग्न लागेको थियो। हाल 'ए लेभल' पढिरहेकी गृष्मा नेपाल त्यो बेला पाँच कक्षाकी विद्यार्थी थिइन्।
'फिल्म रिलिज हुँदासम्म त तिम्रो बिहे भइसक्छ होला' भनेर घरका मान्छेले जिस्काउन थालेको धेरै भइसकेको थियो। सँगै पढ्ने साथीले पनि सोधिरहन्थे, 'तिम्ले खेलेको फिल्म कहिले रिलिज हुन्छ, हँ?'
यही प्रश्न उनी आफ्नो सिनेमाका निर्देशक प्रणय लिम्बूलाई तेर्स्याउँथिन्, 'अंकल हाम्रो फिल्म कहिले आउँछ?'
आर्थिक अभावका कारण पोस्ट प्रोडक्सनको काममा भएको ढिलाइले प्रणय परेशान थिए। तै पनि शान्त स्वभावका उनको एउटै जवाफ हुन्थ्यो, 'धैर्यको फल मिठो हुन्छ। ह्याभ पेसेन्स।'
लामो प्रतीक्षापछि साउन २९ मा 'द स्पन्सर'को प्रिमियर हुने दिन आयो। जीवनमै पहिलो पटक पर्दामा आफूलाई हेर्न बस्दा उत्साह बढी हो कि डर, उनी अन्यौलमा थिइन्।
'घरि उत्साहित भएजस्तो, घरि डर लागेजस्तो भइरहेको थियो,' हाँस्दै सुनाइन्, 'पर्दामा कस्तो देखिने हुँ भनेर लाज पनि लागेको थियो।'
सिनेमा सकिएपछि आफन्तबाहेक धेरै अपरिचितहरूले राम्रो 'कम्प्लिमेन्ट' दिए। सिनेमा चलुञ्जेल उनको मनमा भने एउटै कुरा दोहोरिइरह्यो, 'अहो! म अभिनय पनि गर्न सक्ने रैछु।'
उनकी आमा त हलमै रोइन्। आमाको आँशु उनले सबभन्दा ठूलो 'कम्प्लिमेन्ट' मानिन्। जीवनमा पहिलो पटक आमा रुँदा खुसी भइन् उनी। उनको अनुहारबाट त्यो खुसीको चमक अझै हराएको छैन।
बरु, सिनेमा सार्वजनिक हुने मिति व्यग्र भएर कुरेर बसेकी छन्। फिल्म सार्वजनिक हुन गृष्माले अझै केही साता कुर्नुपर्नेछ।
'द स्पन्सर'मा प्रवीण खतिवडा र कामेश्वर चौरसियाजस्ता अनुभवी कलाकार मुख्य भूमिकामा छन्। तर उनीहरू गृष्माले निर्वाह गरेको 'कौशिकी'कै कथा वरपर घुम्छन्। त्यसैले यो सिनेमाको केन्द्रीय पात्र गृष्मा नै हुन्।
काठमाडौंको कालधारामा जन्मेकी गृष्मा कसरी बनिन् कौशिकी?
'अचानक।'
अभिनय क्षेत्रमा लाग्ने कि नलाग्ने, १६ वर्षे गृष्मा अझै अन्यौल छिन्। त्यति बेला त झन् उनी आफ्नो निर्णय आफैं लिनसक्ने भइसकेकै थिइनन्। संयोगवश प्रणय गृष्माकै उमेरकी बालिकाको खोजीमा थिए। आफ्नो साथीको घरमा गृष्माको फोटो देखेपछि प्रणयले अभिभावक मार्फत सिनेमामा काम गर्ने प्रस्ताव राखे।
गृष्मा आफैंलाई पत्याउन गाह्रो यो प्रस्ताव उनका अभिभावकले राम्रो अवसर माने।
'फिल्म खेल्ने अफर आउँदा म छक्कै परेकी थिएँ,' उनी थप्छिन्, 'ममी–ड्याडीले इनकरेज गरेपछि मैले प्रणय अंकललाई हुन्छ भनेँ।'
वृत्तचित्र खिच्ने सिलसिलामा पन्ध्र वर्षअघि प्रणय धरान पुगेका थिए। त्यहीँ उनले कोशी टप्पु र इनरुवा क्षेत्रका सीमान्तकृत समूह र 'स्पन्सर'को सम्बन्धबारे अनौठा तर मार्मिक कथा सुने।
उनले सुनेका कथा र कोशी किनारमा माछा मार्ने मान्छेहरूको कथामा समानता पाए। उनको मन चिरियो। अन्ततः माछा टिप्ने गुडीँ समुदायका प्रतिनिधि परिवारको कथा टिपे।
प्रणयले सिनेमा छायांकनका लागि पनि कोशी टप्पुकै 'ल्यान्डस्केप' रोजेका थिए। गृष्माले भने त्यो बेलासम्म कोशी टप्पुको नामसमेत सुनेकी थिइनन्। कोशी टप्पुको नाम सम्झन बल गरिरहेकै बेला प्रणयले गृष्मालाई भने, 'आजदेखि तिम्रो नाम कौशिकी।'
वर्षा याममा अक्सर ठूलो प्रलय बोकेर आउँछ कोशी। प्रणय फरक समयमा कोशीको फरक रङ र चालढाल हेर्न जिज्ञासु थिए। यसका लागि सबै ऋतु कुरे उनले।
गृष्मा भन्छिन्, 'सुरुमा अवलोकनका लागि गयौं। त्यसपछि सुट गर्न भनेर प्रि-मनसुन, मनसुन र जाडो याम गरी तीन सिजनमा गइयो।'
कोशीको हावापानी र रहनसहनमा भिज्न गृष्माबाट कौशिकी बन्ने प्रक्रियामा धेरै नयाँ अनुभव बटुलिन् उनले। कौशिकी बनेर उनी जीवनमा पहिलो पटक तातो बालुवामा खाली खुट्टा दौडिइन्। कीरा र जनावरहरूको डर बोकेर घना जंगलमा घन्टौं बिताइन्। रुखो बञ्जरदेखि चुच्चा ढुंगाको दुखाइसम्म झेलिन्। कोशी किनारका स्थानीय परिवारसँगै टेन्टभित्र रात बिताइन्।
गर्मीमा एक पटक त उनी 'फेन्ट' नै भइन् रे! छायांकन बेला उनले सबभन्दा 'मिस' गरेकै निद्रा हो। घरमा राति आठ बजे सुतिसक्ने बानी थियो।
'एकचोटि राति आठदेखि बिहान चारबजेसम्म सुट गर्नुपर्ने भयो,' हाँसो रोक्न खोज्दै सुनाउँछिन्, 'उठेर डाइलग बोल्नुपर्ने। तर म भने सुतेको सुत्यै।'
सुटिङ सकेर जब उनी काठमाडौं आउँथिन्, उनको मनमा फेरि फर्कनु नपरोस् जस्तो भावना पनि आउँथ्यो।
यति सबै हुँदा पनि उनलाई आफूले खेलिरहेको सिनेमाको पूरा कथा थाहा थिएन।
हरेक दिन प्रणय यति मात्रै भन्थे रे, 'आज तिम्ले यस्तो संवाद बोल्नुपर्नेछ।'
पहिलो पटक क्यामरा अगाडि पर्दाको डर भगाउनदेखि कुन शब्द कसरीसम्म बोल्नेसम्म प्रणयले नै सिकाएका थिए।
निर्देशकलाई 'क्रेडिट' दिन्छिन्, 'प्रणय अंकल सधैं भन्नुहुन्थ्यो, क्यामरा छ भन्ने बिर्सेर आफ्नो वास्तविक हाउभाउ मै प्रतिक्रिया दिनू, सबै राम्रो हुन्छ।'
आफ्नो सिनेमाको दर्शक आफैं बनिसकेपछि भने त्यो बेलाको रमाइलो वा झन्झट जे सम्झे पनि 'रिफ्रेसिङ' लाग्छ उनलाई।
एउटा रमाइलो सन्दर्भ पनि छ।
सुटिङ हुने बेला 'हिरोइन हेर्न' भनेर चक्करघट्टी र प्रकाशपुरका मानिस दौडेर आउने गर्थे। तर उनीहरूका लागि हिरोइन भनेकै रेखा थापा रहेछ। उनले भनिन्, 'हिरोइनको ठाउँमा मलाई देखेपछि उनीहरू सोध्थे, रेखा थापा खै?'
अब उनी चाँडै कोशी टप्पु घुम्न जाने योजना बुनिरहेकी छिन्।
कोशी टप्पुको के कुरा याद आउँछ?
'साँझमा भूमरी चलेर बालुवा उडेको दृश्य। पानी। डुंगा। घाममा टल्किएका बालुवा,' उनी नोस्टाल्जिक बन्छिन्, 'टाढासम्म देखिने खुला दृश्य। अनि, हुलाकी कुरिरहेकी कौशिकी।'
यस पटक खित्का रोक्न सकिनन् र खुलेरै हाँसिन्।
गृष्माले भनेजस्तै कोशीको सौन्दर्य अद्भूत छ। प्रकृतिलाई प्राकृतिक स्टुडियो मान्ने प्रणयले यहाँको विशेषतालाई 'लङ सट'मा खिचेर अटाउने भरपुर प्रयास गरेका छन्। यस्तै विशेषता बोकेको 'द स्पन्सर' आफूलाई चिन्ने सबै आफन्त र साथीले हेरून् भन्ने लागिरहेको छ उनलाई।
दिमागमा हरघडी सिनेमा बोकेर हिँडिरहेकी गृष्मालाई अझै पनि यो क्षेत्र, आफ्नो भविष्य हो हैन थाहा छैन। उनी सोचिरहेकी छिन्, 'अहिले पढाइमा ध्यान दिनुछ। ए लेभल सकिएपछि यसबारे सोच्छु।'
सिनेमाबारे अलमल भए पनि एक दिन गायक बन्ने सपना पूरा गर्न उनी कटिबद्ध छिन्। गोपाल योञ्जन र नारायणगोपालका गम्भीर गीत सुनेर गाउन मनपर्छ उनलाई। नाच्नु उनको सोख हो।
नेपाली सिनेमा हेर्न हलमै पुग्ने उनलाई मनपर्ने नायिका प्रियंका कार्की हुन्।
गृष्माको सिनेमामा आफ्नै काका भएर पनि सताउने कामेश्वर चौरसिया र सुखको सन्देश लिएर आउने हुलाकी प्रविण खतिवडाको कामबाट धेरै प्रभावित भएको उनी बताउँछिन्।
आफ्नो आकस्मिक अभिनय यात्रामा 'द स्पन्सर'बाट उनले सिकेको सबभन्दा ठूलो शिक्षा हो– धैर्य भए परिणाम राम्रो आउँछ।
परिणाम कुरिरहेकी गृष्मा आफैंलाई भनिरहेकी छिन्, 'ह्याभ पेसेन्स!'