जुनुलाई जुत्ताकै चिन्ता छ। उनलाई सुल्टो जस्तो लाग्छ, जुत्ता उल्टो भएको हुन्छ। बारम्बार आमा र स्कुलकी शिक्षिकाले सुधार्छन्, 'जुनु, जुत्ता सुल्टो लगाऊ।'
साथीहरूले त जिस्काउँछन् पनि। कहिले त सुल्टै लगाउँदा पनि 'उल्टो भयो' भनेर झुक्याउँछन्।
सुल्टो–उल्टो, खुट्याउन झनै समस्या!
बल्ल 'आइडिया' फुराएर जुत्ता दुई ठाउँमा राख्छिन्। बिहान घर सफा गर्दा आमाले फेरि जुत्ता मिलाएर राखेपछि त्यस्तै। अन्तिममा आफ्नो खुट्टामा भएको कोठी झैं चिह्न जुत्तामा कोरेपछि, समस्या सामाधान हुन्छ। अनि उनी मुस्कुराउँछिन्।
यही सेरोफेरोमा घुम्छ १२ मिनेटको छोटो फिल्म 'जुनुको जुत्ता'।
केदार श्रेष्ठले निर्देशन गरेको फिल्म आइतबार काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा 'प्रिमियर' भयो। जुनुलाई जुत्ताको चिन्ता जति थियो, पहिलोपटक फिल्म देखाउँदा केदारलाई पनि कम थिएन। यही चिन्ताबीच दर्शकले फिल्म मनपराए, महोत्सवमा त झन् उत्कृष्ट आख्यान विधाको एक लाख पुरस्कार नै पायो।
'यो जुनुको मात्रै होइन, हामी सबैको सानो बेलाको कथा हो,' केदारले भने, 'हामीमध्ये धेरैले सानामा त्यसरी नै जुत्ता लगाएका छौं।'
फिल्ममा जुनु बनेकी थिइन् पाँच वर्षीय हिस्सी लामा। उनकै आमा यांजी फिल्ममा पनि आमा र दिदी पासाङ साथीको भूमिकामा देखिइन्। सोलुखुम्बुको जुनबेसीमा फिल्मका दृश्य खिचिएका हुन्।
हिस्सीको परिवार त्यहाँबाट दुई दिन लगाएर फिल्म प्रिमियरक्रममा काठमाडौं आएका थिए। प्रायः दर्शककाे नजर उनकै जुत्तामा थियाे। फिल्म कस्तो लाग्यो भन्ने दर्शकको जिज्ञासामा जुनु बनेकी हिस्सीले शेर्पा लवजमा 'राम्रो लाग्यो' भन्दा दर्शकहरू रमाए।
बालबालिकाको क्षेत्रमा लेख्ने यशु श्रेष्ठले लेखेको कथाबाट प्रेरित भएर फिल्म बनाएको निर्देशक केदार बताउँछन्। त्यसो त उनी पनि लामो समयदेखि बालबालिकाकै क्षेत्रमा काम गरिरहेका छन्।
कक्षा ८–९ पढ्दादेखि नै कथा लेख्ने उनी 'बाल कोसेली अध्ययन समूह' सँग जोडिए। त्यही बेला बाल साहित्यका पिता शान्तदास मानन्धरसँग नजिकिए। शान्तदास कथा सुनाउँथे, लेख्न सिकाउँथे। बालसाहित्यकार र साहित्यसँगको निकटताले बालबालिकाकै क्षेत्रमा काम गर्ने प्रेरणा केदारलाई मिल्यो।
पछि नाटकसँग नजिकिए र 'थिएटर मल' खोले। हाल कीर्तिपुरमा उनको नाटकघर छ। विशेषगरी, बालबालिका केन्द्रित नाटक र महोत्सव गरिरहेका हुन्छन्। केही समययता भने फिल्ममा पनि आफ्नो स्थान बनाइरहेका छन्। त्यसैको नतिजा हो 'जुनुको जुत्ता'।
'साहित्य, नाटक वा फिल्म; तीनै कथा भन्ने माध्यम हुन्,' केदारले भने, 'म खासमा कथा भन्ने मान्छे, सधैं नयाँ माध्यम खोजिरहेको हुन्छु। नाटक र फिल्म नजिक पनि छन्। नाटकबाट भन्न नसकेका कुरा फिल्मबाट भन्न सकिने भएकाले यो माध्यमसँग पनि नजिकिएँ।'
चाहे साहित्य होस्, नाटक वा फिल्म, त्यसका कथामा सधैं बालबालिका प्राथमिकतामा पर्छन्। पछिल्लोपटक किम्फमा प्रदर्शन भएको 'सुपर मंक' मा उनले 'कास्टिङ डाइरेक्टर' को भूमिका निर्वाह गरेका थिए। यसमा भिक्षु बालकको कथा उतारिएको थियो। त्यसैगरी, फिल्म 'ऐना झ्यालको पुतली' मा पनि ८-९ वर्षका बच्चा नै मुख्य भूमिकामा छन्।
'बाल पात्रले फिल्ममा खेल्ने मात्रै होइन, उनीहरूकै फिल्म बन्न जरुरी छ,' उनले भने, 'मलाई त्यस्तै फिल्ममा बढी चासो छ।'
फिल्म 'सुपर मंक' छायाँकनक्रममा केदार सोलुखुम्बु पुगेका थिए। त्यही बेला उनको भेट हिस्सीसँग भएको रहेछ।
फिल्म छायांकन गरेर फर्किएको एक वर्षपछि पनि उनले हिस्सीलाई सम्झिरहे। 'जुनुको जुत्ता' कथाका लागि हिस्सीजस्तै ४–५ वर्षकी बालिका खोजिरहेका थिए। अनि फिल्म टोली पुगेर हिस्सीलाई जुनुको भूमिकामा उभ्याए। यसै वर्षको जेठतिर पाँच दिनमा सुटिङ सकाएर फर्किए।
'हामी चार दिनका लागि भनेर गएका थियौं, एक दिन लम्बियो,' फिल्म खिच्दाको क्षण सम्झँदै भने, 'सिकेका कलाकारभन्दा स्थानीयसँग काम गर्दा समय लाग्यो। हामीले पहिले नै कानमा खुसुक्क कथा भन्थ्यौं, त्यही अनुसार टिप्थे।'
त्यसमाथि सानी हिस्सीसँग काम गर्नु अर्को चुनौती। कहिले अल्छी लाग्यो, कहिले डुल्न जाने, त कहिले निद्रा लाग्यो भन्थिन्।
'उहाँ निदाउनुहुन्थ्यो, हामी कुरेर बस्थ्यौं। खेल्न, डुल्न जाने अनि कतिखेर फर्कने थाहा छैन। हामी धैर्य हुन्थ्याैं, बालबालिकालाई सम्मान गर्नुपर्यो नि,' उनले भने, 'झन् त्यो जहिल्यै जाडो ठाउँ। मुख धुनुपर्ने टेक चारतिरबाट खिच्नुपर्दा बारम्बार मुख धुनुपर्थ्यो। 'फेरि भिज्ने' भन्दै झिँजो मान्थिन्।'
'भोलि गरौं न, एकछिन पछि गरौं न' भन्दै फिल्म बन्यो। फिल्मका कथा दृश्यले नै भन्ने भएकाले शब्द कम छन्। सोलुखुम्बुको भूगोल भए पनि स्थानीय शेर्पा भाषा कम र नेपाली नै प्राथमिकता दिइएको छ। शेर्पा लवज भने पाइन्छ।
'उनीहरूकै भाषा बोलेर उप–शीर्षक राख्न पनि सकिन्थ्यो। तर अरू बालबालिकाले पनि बुझून् भन्ने हाम्रो चाहना थियो,' उनले भने।
'तपाईंले पनि सानोमा उल्टो जुत्ता लगाउनुहुन्थ्यो कि?'
आफूले थाहा पाउँदा नलगाए पनि पक्कै लगाएको उनी बताउँछन्। 'हामी सबैको सानो बेलाको कथा' भएको उनको अध्ययनको निष्कर्ष छ। फिल्म छायांकनक्रममा उनले मनोचिकित्सकलाई पनि भेटेछन्। उल्टो जुत्ता लगाउने बालबालिकाबारे पनि बुझ्न खोजेका थिए।
'म एउटा मोन्टेसोरीमा काम गर्छु, त्यहाँ पनि त्यस्तै एउटा उल्टो जुत्ता देखेँ। मलाई कताकता फिल्म बनाउन त्यस्तै जुत्ताहरूले पनि प्रेरणा दिइरहेका थियो,' उनले भने।
यो फिल्मले बालमनोविज्ञानको कथा पनि भन्छ। उल्टो जुत्ता जुनुलाई समस्या बनेको थियो भने त्यसको सामाधान भेटेपछि उनी दंग पर्छिन्। बच्चाहरूले कति कुरालाई मनमा लिन्छन्, मनन गर्छन् र त्यसको समस्या आफैं खोज्छन् भन्ने फिल्मले देखाउँछ।
'उनीहरू आफ्नो समस्या आफैं सामाधान गर्न आतुर हुन्छन्,' केदारले भने, 'हामी भने बारम्बार उनीहरूलाई सम्झाइरहेका हुन्छौं। कति समय त कराउँछौ, जबरजस्ती सिकाउन खोज्छौं। तर त्यो कुरा उनीहरू आफैंले महशुस नगरी हुँदैन। आफ्नो समस्या आफैं सामाधान गर्न हामीले वातावरण बनाइदिनुपर्छ।'
केदारलाई लाग्छ– समाज उन्नत हुन बालबालिका प्राथमिकतामा हुनुपर्छ। देशले नै उनीहरूलाई प्राथमिकतामा राखे मात्रै समाज समृद्ध बन्छ। त्यसैले त उनी बालबालिकाकै क्षेत्रमा आफ्नो ठाउँ फराकिलो बनाइरहेका छन्।
केदारसँग 'जुनुको जुत्ता' झैं जुत्ताकै कथा धेरै छन् रे। त्यसलाई पछि श्रृंखलाकै रूपमा बनाउने सोचेका छन्। त्योसँगै 'जुनुको रिबन' पनि बनाउने याेजना छ।
'जुनुको जुत्ता नै कथा सोचेको करिब ४ वर्षपछि बनाएँ। ती त कहिले बनाउने थाहा छैन। अहिले अरू नै कथामा पनि काम गर्नु छ,' उनले भने।