पत्रपत्रिका पानाहरू पल्टाउँदै जाँदा एउटा निर्दोष कसरी मारियो? भन्ने समाचारले निर्देशक दीपेन्द्र के खनालको ध्यान खिच्यो।
पेसाले सिनेमा निर्देशक, उनको दिमागले घटनामा सिनेमा देख्यो।
सिनेमाको कथा-पटकथा तयार गरे। नजिकका निर्माता र साथीभाइलाई सुनाए तर उनीहरूले त्यसमा सिनेमा देखेनन्।
‘यस्तोमा सिनेमा बन्छ र? बने पनि चल्ला र?’, बरु संशयसहित उनीहरूले सोधे।
तर दीपेन्द्र किन मान्थे र?
एउटा मेहेनत परिसकेको थियो। त्योभन्दा बढी उनलाई राम्रो सिनेमा बन्छ भन्ने विश्वास थियो।
सिनेमामा अभिनेता खगेन्द्र लामिछाने जोडिए। उनी दीपेन्द्रको कथामा राम्रो सिनेमा बन्छ भन्ने विश्वस्त थिए। उनले सिनेमाको पटकथाको कमाण्ड सम्हाले। दीपेन्द्र र खगेन्द्रको जिद्धीले सिनेमा बन्ने पक्का भयो।
यसरी 'पशुपति प्रसाद'ले सिनेमाको पर्दाको बाटो समात्यो।
सिनेमाको प्रिमियर गरियो।
सिनेमा हेर्न रंगपत्रकार, समिक्षक, निर्माता तथा कलाकारहरूको बाक्लो उपस्थिति थियो।
सिनेमा सकिएपछि एक कुनामा उनले साथी भाइबाट ‘वाह! ’ सुनेनन्।
‘यही हो त सिनेमा’, उनले खिशीट्यूरी सुने।
'हाम्रो सिनेमा उद्योगमा कसैले केही नयाँ गर्ने प्रयास गर्यो है भनेर हौसला दिने काम गरिन्न। आफ्नो काम मात्रै राम्रो भन्ने प्रवृत्ति छ',दीपेन्द्रको गुनासो छ।
यो सुनेपछि दीपेन्द्र निराश बने तर निराशा धेरै दिन टिकेनन्। दर्शकहरूले सिनेमा मन पराए। रिलिजको पहिलो साता केही धिमा कमाइ गरेको सिनेमाले दोस्रो साताबाट रफ्तार पक्डियो।
सिनेमाले पैसा पनि कमायो र समीक्षकीय तारिफ पनि बटुल्यो।
‘पशुपति प्रसाद’ वर्षकै उत्कृष्ट सिनेमा बन्यो।
सरकारले प्रदान गर्ने राष्ट्रिय पुरस्कारका उत्कृष्ट सिनेमा, पटकथा र निर्देशनका ३ विधामा सिनेमा उत्कृष्ट घोषित भयो।
सिनेमाको यो उपलब्धीले प्रिमियरपछि आलोचना गर्ने र नपत्याउनेहरूलाई गतिलो जवाफ दियो।
त्यतिबेला सो सिनेमामा लगानी गर्न डराएका एक निर्माताले उत्कृष्ट सिनेमाको अवार्ड निर्मात्री रोजिना सिटौलाले उचालेपछि यसरी मुखै फोरेः
‘म निर्माता बनेको भए त्यो ट्रफी आज मैले उचालिरहेको हुन्थे।’
त्योसँगै झुर सिनेमा बनाएको भनेर एक कुनामा दीपेन्द्रको आलोचना गरेका एक कहलिएका समीक्षकले पछि वर्षकै उत्कृष्ट सिनेमा भनेर थुप्रैपटक सार्वजनिक रूपमै भनेको पनि दीपेन्द्रले सुन्न पाए।
‘पशुपति प्रसाद’को यो उपलब्धी आज इतिहास भइसकेको छ। त्यसयता दीपेन्द्रका चार साल बितिसकेका छन्।
यो बीचमा उनले ‘चपली हाइट’ र ‘चंगा चैट’ बनाए। यी सिनेमा उनले रोजीरोटीका लागि बनाएका थिए।
अब फेरि उनी नयाँ सिनेमा ‘आमा’ मार्फत् दर्शकमाझ आउँदैछन्।
सिनेमा फागुन ९ गते रिलिज हुँदैछ।
‘पशुपति प्रसाद’ पछि उनी आफूलाई फेरि एकपटक मन छुने सिनेमा बनाउन चाहन्थे।
उनलाई थुप्रै दर्शकले त्यही स्तरको सिनेमा खोई भनेर सोधिरहेकै थिए।
मनमा भए पनि उचित कथा नभेट्दा उनले दर्शकको चाहनालाई पूरा गर्न सकिरहेका थिएनन्।
अन्ततः उनले कथा भेट्टाए र ‘आमा’ बनाए।
सिनेमाको ट्रेलर रिलिज भइसकेको छ।
भिडिओ सेयरिङ सञ्जाल यूट्यूबमा साउथ सिनेमाको हिन्दी डब र अन्टसन्ट हेडलाइनले दर्शकको बल्छी थाप्ने भिडिओका ट्रेन्डिङ आतंकलाई सिनेमाको ट्रेलरले उछिन्यो।
ट्रेलरले सुखद प्रतिक्रियाहरू बटुलिरहेको छ।
यसबाट उनी खुसी छन् अहिले र यसले उनलाई दर्शकमाझ सिनेमालाई प्रमाणित गर्नुपर्ने चुनौती थपिदिएको छ।
ट्रेलर रिलिजको केही दिन अगाडि भएको भेटमा उनले सिनेमाबाट आफू अपेक्षाहरू जम्मा गरेर नबसेको बताए।
‘खासै केही अपेक्षा छैन। यस्तो, त्यस्तो गरेको छु भन्दिनँ। निर्देशकका रूपमा राम्रो सिनेमा बनाउन गर्नुपर्ने कर्तब्य र इमानदारितालाई राम्रोसँग गरेको छु, त्यही हो’ दीपेन्द्रले भने,‘पशुपति प्रसाद बनाउँदा पनि धेरै सपना सजाएको थिइनँ। त्यो बेलामा मलाई मेरो सिनेमा भित्र मनदेखि मन पर्नुपर्छ भन्ने थियो। अहिले पनि त्यही हो। ‘आमा’ मनदेखि बनाएको छु। भोलि यसको परिणाम के होला भन्ने कुराले न धेरै आतिएको छु न उत्साहित छु।’
मान्छेका अपेक्षा र चाहनाहरूको ब्यारोमिटर कतिखेर कति चढ्छ थाहा हुँदैन।
‘आमा’ सिनेमाको शीर्षकले नै दर्शकमा वजनदार सिनेमाको अपेक्षा छ। ट्रेलरहरूका प्रतिक्रियाहरू हेर्दा यसले दर्शकहरूमा आशाको स्तर अलिक बढी बनाएको छ।
सिनेमा ‘पशुपति प्रसाद’ भन्दा बढी नभए पनि कम हुन भएन। सिनेमाको ‘पशुपति प्रसाद’सँगको तुलना हुने नै छ।
यो बारेमा दीपेन्द्र जानकार छन्।
‘धेरै दर्शकहरूले हलमा जाँदा र सामाजिक संजालमा पनि ‘पशुपति प्रसाद’ जस्तै सिनेमा बनाउनुपर्यो भनिरहनु भएको थियो। दर्शकहरूलाई जस्तो सिनेमाले छोयो त्यस्तै सिनेमा उहाँहरूले खोज्नु हुँदो रहेछ। मैले यो सिनेमा समाज र यथार्थको नजिक रहेर बनाउने प्रयास गरेको छु’ उनले भने।
दीपेन्द्र पशुपति प्रसादको प्रभावले सिनेमालाई थिच्ला भन्दा पनि त्यो सिनेमाको भन्दा बढी विकास र परिपक्वता सिनेमामा आयो कि आएन भन्ने कुरा महत्वपूर्ण हुने बताउँछन्।
‘त्यो भन्दा यसमा मेरो निर्देशनको भूमिका अझ परिपक्व देखिन्छ कि देखिँदैन भन्नेमाचाँहि मेरो चिन्ता छ।’
‘पशुपति प्रसाद’को बेलामा जुन प्रकारको प्रतिक्रिया र सरहाना आयो, त्यो उनले सोचेका थिएनन्। यसपटक उनले अपेक्षा राखेका छैनन्।
‘त्यो बेलामा १-२ जना निर्माता लगानी गर्न तयार नभएको सिनेमा थियो। त्यतिमात्र होइन केही नजिकका निर्देशक साथीहरू माझ कस्तो होला त है? भनेर कथा सुनाउँदा यस्तो कथामा पनि सिनेमा बनाउँछन् भनेर प्रतिक्रिया पाएको थियो’ दीपेन्द्र भन्छन्, ‘सबैले आशा नगरेको कथा थियो त्यो। खगेन्द्र लामिछाने स्क्रिप्ट राइटरका रूपमा आएपछि उहाँ यो कथामा सिनेमा बनाउनैपर्छ भनेर लाग्नुभयो। त्योबेला हामी दुईको आँटले बनेको सिनेमा हो। अगाडि नै सबै जनाले सिनेमाप्रति देखाएको उदासिनताले सिनेमाबाट हामीले कुनै आशा राखेका थिएनौं।’
सिनेमाबाट अपेक्षा नराखे पनि उनले मेहेनत भने यसपटक अघिल्ला सिनेमाहरू भन्दा धेरै गरेका छन्।
निर्देशनसँगै उनले कथा र छायांकन गरी ३-३ वटा कमान सम्हालेका छन्।
त्यसैले यसपटक उनी सिनेमाको सारा गुण-दोषका एक्ला भागिदार हुनेछन्।
सिनेमा खिच्न मात्रै उनले ७० दिन भन्दा बढी लगाएका छन्। जबकी उनलाई छिटोछिटो सिनेमा सकाउने निर्देशकको रुपमा चिनिन्छ।
‘भटाभट सिनेमा सकेर नराम्रो सिनेमा त बनाएको छैन। पशुपति प्रसादपछि एकदमै मन छोएर दर्शकले मनन गर्ने सिनेमा भएन भन्ने जुनप्रकारको दर्शकहरूको आग्रह र माग थियो त्यसैलाई सम्बोधन गरको हो’ छिटोछिटो सिनेमाको सकाउने आफ्नो बानीको बचाउ गर्दै उनले भने, ‘पशुपति प्रसाद बनाएको चार वर्ष भएछ। यो बीचमा निर्देशकको हैसियतले म कति परिपक्व भएँ त, त्यो सिनेमामा देखिनुपर्छ।’
‘पशुपति प्रसाद’ बनाउँदाकै जस्तो परिपक्वता ‘आमा’मा दोहोरिए आफू निर्देशकका रूपमा सफल नहुने उनको बुझाइ छ।
उनी ‘आमा’मा चार वर्षको बीचमा उनले बिताएको र बुझेको समय प्रत्यक्ष देखिनुपर्छ भन्छन्।
लागि परेर ‘आमा’ बनाएको उनको दाबी छ।
‘यो सिनेमाको कथा, अभिनय निर्देशन सबै कुरामा झल्किनुपर्छ’, उनले भने, ‘चार वर्षपछि मनदेखिको जोशले बनाएको सिनेमा लिएर आउँदैछु।’