गत मंसिर अन्तिम साता यस सिजनकै पहिलो हिमपात भएपछि गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्ट दुइटा जीप लिएर पोखरादेखि उपल्लो मुस्ताङ हानिए। जीपमा गायक रामजी खाँड, संगीता थापा मगर, मोडल निशा गुरुङ, निर्देशक प्रकाश भट्ट लगायत सवार थिए।
विष्टलाई लोमान्थाङको प्रकृति र संस्कृति गीत संगीतमार्फत् म्युजिक भिडिओमा उतार्ने धोको थियो। त्यही धोको पूरा गर्न उनी हिमपात भइरहेको लोमान्थाङ खिच्न हतारिए।
झण्डै एक साता मुस्ताङमा बिताएका उनीहरूको टोलीले दुइटा गीतको म्युजिक भिडिओ खिचे।
नेपाली गीत संगीत र चलचित्रको मात्र होइन, विदेशी चलचित्र र डकुमेन्ट्री बनाउनेका लागि पनि आकर्षक गन्तव्य हो मुस्ताङ। तर उनीहरू विरलै उपल्लो मुस्ताङ लोमान्थाङ पुगेका छन्।
चलचित्र ‘प्रेमगीत’को एउटा गीत तल्लो मुस्ताङमा छायांकन हुने कुरा थाहा पाएपछि विष्टले त्यो गीतको छायांकन लोमान्थाङमा गर्न आग्रह गरे।
विष्टले उपल्लो मुस्ताङमा सबै व्यवस्थापन मिलाइदिने भएपछि चलचित्र युनिट तयार भयो, गीतको भिडिओ लोमान्थाङमा छायांकन भयो।
जब चलचित्र प्रेमगीत हिट भयो, लोमान्थाङमा आउने पर्यटक बढे। अहिले नेपाली होस् या विदेशी मुस्ताङको नाम लिँदै उत्साही बन्छन्।
उनीहरूको गन्तव्य जोमसोम र मुक्तिनाथसम्म मात्र हुन्छ। मुस्ताङ जाने कुल पर्यटकको ३० प्रतिशतमात्र लोमान्थाङ पुग्ने गरेका छन्। जोमसोम र मुक्तिनाथसम्म आउने पर्यटकलाई लोमान्थाङ पुर्याउने विष्टको अभिलाषा छ।
मुस्ताङी राजा जिग्मे परवल विष्टका सल्लाहकार थिए, विष्ट। मुस्ताङका साँस्कृतिक धरोहरका रूपमा रहेको राजा जिग्मे परवल विष्टको २०७४ पुस १ गते निधन भएपछि इन्द्रधाराको सल्लाहकार भूमिका पनि रहेन।
लगत्तै स्थानीय निर्वाचनमा लोमान्थाङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार बने। इन्द्रधाराले हारे। त्यसपछि उनी नेकपा प्रवेश गरेर प्रदेश सांसदमा उम्मेदवार बने, निर्वाचित भए।
सानैदेखि लोकगीत र संगीतमा झुकाव राख्ने विष्टको संगत पनि लोकदोहोरी गायक तथा संगीतकारसँग हुन्थ्यो। त्यही संगतले उनलाई राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान कास्कीको सल्लाहकार बनायो।
अहिले गण्डकी प्रदेश समितिको सल्लाहकार छन्।
लोमान्थाङ दरबारको सल्लाहकार रहँदा होस् या नरहँदा, उनी मुस्ताङको परम्परा र संस्कृति संरक्षण हुनुपर्छ भनेर अभियान चलाउँथे, आफू एक्लैले त्यस्तो साँस्कृतिक कार्यक्रमहरूको आयोजना गर्थे।
झण्डै ६ वर्षअघि लोक दोहोरी गायक सुरेन्द्र गुरुङ र सविना गुरुङको लोकदोहोरी छायांकनमा कास्कीको घान्द्रुक गाउँमा साथी भएर पुगे विष्ट।
त्यतिबेला गुरुङद्वयको ‘तिम्रै छ झल्को’ बोलको गीतको म्युजिक भिडिओ निर्देशन गर्न पुगेका प्रकाश भट्टसँग उनको चिनापर्ची भयो। लोमान्थाङको गीत बनाउने सल्लाह भयो।
गणतन्त्र आउनुअघिसम्म लोमान्थाङ पर्यटकका लागि खुला थिएन। विदेशीका लागि प्रतिबन्धित ठाउँको पर्यटन प्रवर्द्धन गर्ने कुरा पनि थिएन।
गणतन्त्रपश्चात २०६४ सालतिर तत्कालीन सरकारले विदेशीलाई प्रवेश शुल्क लिने गरी प्रवेश गर्न अनुमति दिने निर्णय गर्यो।
विदेशी पर्यटक अहिले १० दिनको ५०० डलर तिरेर लोमान्थाङ घुम्न पाउँछन्।
लोमान्थाङको संस्कृति जोगाउने र पर्यटक बढाउने चिन्तनले विष्टलाई लोमान्थाङको प्रकृति र संस्कृति समेटिने गरी एउटा आधुनिक र एउटा लोकगीत तयार गर्ने निर्णयमा पुर्यायो।
यसको जिम्मा उनले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश विजीलाई दिए।
डेढ वर्ष अघिदेखिको तयारी यही वर्ष पोखरामा भएको प्रतिष्ठानको अधिवेशनले मूर्त रूप दियो।
अमेरिका निवासी गायिका संगीता थापा मगर यही मौकामा नेपाल आइन्।
उनीसँग विष्टको अमेरिकामै चिनजान भइसकेको थियो। यही मौकामा विजीले गीत तयार पारे, बिबि अनुरागीले संगीत भरिदिए।
मुस्ताङको संस्कृति र प्रकृतिलाई गीतका शब्दहरूमा समेटिएका छन् भने संगीतमा तिब्बती पाराका लोमान्थाङी धुन मिसाइएका छन्।
हिउँले छपक्कै छोपिएको लोमान्थाङको म्युजिक भिडिओमा गायक तथा मोडल रामजी खाँड कहिले घोडाचडी गरेका छन् त कहिले च्याङ्ग्रा धपाएका छन्।
‘लोमान्थाङमै बसम्’ बोलको यो लोकगीतमा मोडलिङ पनि गायक खाँड र थापामगरले गरेका छन्।
गाउँ चिनाउने गीतहरूमा स्वर भर्न व्यस्त गायिका जुनु रिजालले गाएकी छिन् ‘लोमान्थाङ गाउँ’ बोलको आधुनिक गीत।
यसमा मोडल निशा गुरुङले अभिनय गरेकी छिन्।
उनलाई गायक खाँड र थापा मगरले पनि साथ दिएका छन्।
म्युजिक भिडिओमा हिउँले छोपिएर सेताम्मे बनेको लोमान्थाङ गाउँ, हिउँ परिरहेको दृश्य, लोमान्थाङमा वर्षेनी घोडा दौडाउने यार्तुङ पर्वका फुटेजहरू जोडिएका छन्।
समुन्द्री सतहदेखि ३७५० मिटर उचाइमा अवस्थित लोमान्थाङको यो गीतमा मुस्ताङी राजाको दरबार, घार गुम्बा, चराङ गाउँ, मुक्तिनाथ, कागबेनी, धौलागिरि र निलगिरि हिमाल देख्न सकिन्छ। म्युजिक भिडिओको यही पुस १६ गते पोखरामा आयोजित नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकार्पण गरे।
यी दुई म्युजिक भिडिओमार्फत् लोमान्थाङको पर्यटन प्रवर्द्धन हुने प्रदेश सांसद विष्टको विश्वास छ।
कुल ६ लाख रुपैयाँ काम सकिने उनले बताए।