पढ्नका लागि होस्टल बसेका ध्रुबे जहिल्यै उटपट्याङ गर्छन्। कहिले रुख चढ्छन्, कहिले साथीलाई पिट्छन्, त कहिले ढुंगले हान्छन्। ध्रुबेले साथीहरूलाई मात्र सताएको छैन, विद्यालयका शिक्षकलाई पनि उत्तिकै सताउँछ।
उसको कर्तुतबाट पीडित भएका बालबालिका प्रध्यानाध्यापकलाई बारम्बार बताउँछन्। शिक्षिका कमलादेवीले ध्रुबेलाई घर पठाउन प्रध्यानाध्यापक सुन्दरलाललाई भन्छिन्।
बाल मनोविज्ञानका पुस्तक पढेका प्रध्यानाध्यापक भने बालक ध्रुबेले गरिरहेको उट्पट्याङको कमजोरी विद्यालय र शिक्षकहरू नै भएको बताउँछन्। घर फर्काउने कमलादेवीको प्रस्ताव अस्वीकार गरिदिन्छन्।
‘केटाकेटीले कुनै कारण नभई त्यस्तो बदमासी गर्लान्? केही रहस्य अवश्य छ’, प्रअ सुन्दरलाल भन्छन्, ‘उसले त्यस्तो काम गर्दा हामी रिसाउँछौं भन्ने थाहा छ त, यो हाम्रो कमजोरी हो।’
सुन्दरलाल यतिमै रोकिँदैनन्।
‘मानसिक रूपमा कुनै विचलन नभई कोही बालबालिकाले विद्रोह गर्दैनन्’, उनले शिक्षिकालाई भने, ‘केटाकेटीले ठूलाबडालाई पनि कम सजाय दिन जान्दैनन्।’
सुन्दरलालले बाल मनोविज्ञानसम्बन्धी पुस्तक मात्र होइन, ध्रुबेको मनोविज्ञान पनि पढिसकेको रहेछ। ती बालकले यस्तो उपद्रो गर्नुका कारण मिहीन ढंगले बुझेछन्।
ध्रुबे यस्तो उपद्रो हुनुको कारण उनले मातृत्वको अनुभव गर्न पाएका रहेनछन्।
प्रध्यानाध्यापक सुन्दरलाललाई ध्रुबेले एकदिन भनेका रहेछन्, ‘सबैको आमा स्कुलमा भेट्न आउँछन्, मेरो आउँदैन।’
‘तिम्रो आमा आउनुभयो भने यस्तो उपद्रो गर्दैनौ त?’ प्रअले सोधेछन् ।
‘हुन्छ’ ध्रुबेले भनेछ।
ध्रुबे ३ वर्षको हुँदा नै आमाले छाडेर गएकी रहिछन्। आमाको मायाको अभावमा उसले विद्यालयमा त्यस्तो उट्पट्याङ गरेको प्रअले निष्कर्ष निकाले।
यो सब प्रअ सुन्दरलालले विद्यालयबाट घर पठाउन भन्न पुगेकी शिक्षिका कमलादेवी सुनाए। उनले ध्रुबेलाई आमा खोजेर ल्याइदिने प्रतिवद्धता समेत जनाएको सुनाए।
यति बताएपछि प्रअ सुन्दरलालले कमलादेवीलाई ध्रुबेको आमा बनिदिन प्रस्ताव गरे।
यो प्रस्तावले कमलादेवी छक्क परिन्। उनले प्रअको प्रस्ताव अस्वीकार गरिन्।
‘म आमा हुँ भन्दा उसले पत्याउला र?’, उनले भनिन्, ‘उसको बुवा पनि स्कुलमा आइरहन्छ, के भन्ला?’
उनी यतिमा रोकिनन्।
‘हामी आइमाइलाई उडाउँछन्, यसमा मलाई कर नगर्नुस्’ कमलादेवीले भनिन्।
प्रअ सुन्दरलालले भने ती बालकको आमा बनिदिन कर गरिरहे।
‘केही वर्षलाई अभिनय गरिदिनुस्, आखिर अभिनय मिथ्या होइन र?, उनले भने, कसैलाई फाइदा हुन्छ भने किन नगर्ने?’
प्रध्यानाध्यापकको कोठाबाट कमलादेवी बाहिरिइन्।
यत्तिकैमा विद्यार्थीले ध्रुबेलाई अर्को उट्पट्याङका कारण प्रअको कोठामा पुर्याउँछन्। ध्रुबेलाई प्रअ कोठामा छोडेर अरु विद्यार्थी बाहिरिन्छन्।
ध्रुबेले प्रअलाई गुनासो पोख्छन्, ‘तपाईले मेरो आमा बोलाइदिन्छु भनेर किन नबोलाइदिएको?’
प्रअ सुन्दरलालले भन्न थाल्छन्, ‘तिमीले कोठामा कपडा त्यसै फाल्छौ, कसले मिलाइदिन्छ? किताब कसले मिलाएर राखिदिन्छ? तिमी सुतेपछि कपडा कसले ओडाइदिन्छ?’
ध्रुबे सुनिरहन्छन्। प्रअले थप्छन्, ‘तिम्रो आमा राति तिम्रो कोठामा आउनुहुन्छ, यो सब काम गरेर तिमीलाई माया गरेर जानुहुन्छ। तर तिमीले कहिल्यै थाहा पाउँदैनौ।’
यो कुरा कमलादेवीले प्रअ कोठाको ढोकामा बसेर सुनिरहन्छिन्।
ध्रुबेले सोध्छ, ‘को हो मेरो आमा ?’
प्रअ सुन्दरलालले विद्यालयकै शिक्षिका कमलादेवीलाई संकेत गरिदिन्छ र बाहिरिन्छ। ध्रुबे प्रअको टेबल नजिक लुकेर रुन्छ। कमलादेवी आएर फकाउँछिन्।
कमलादेवी– ध्रुबे आमा– छोरा भएपछि ध्रुबेले पढाइ राम्रो गर्छ। बदमासी गर्दैन। पास हुन्छ। बीचबीचमा कमलादेवीले आफू आमा नभएको बताउन खोज्छिन्। तर सक्दिनन्।
उनीहरू सँगै खाना खाने, सुत्नेसम्म गर्छन्। आमा– छोराको माया प्रगाढ बन्छ।
ध्रुबेले आफ्नो बुबालाई पनि आमा भेटाउन अफिस लैजान्छ।
बुबाले भन्छ, ‘को आमा? त्यसको त म मुख पनि हेर्दिनँ।’ प्रअलाई पहिल्यै आमा भेट्न आयो भने भेट्न नदिनु भनेर होस्टलमा राखेको सम्झाउँदै हकार्छ।
प्रअलाई बोल्नै नदिई गाली गर्छ र भन्छ,‘मेरो छोराको हिसाब दिनुस्, आजै म यसलाई लैजान्छु।’
त्यसपछि प्रअ सुन्दरलालले आमा बनेकी कमलादेवीलाई बोलाउँछन्। ध्रुबेले भन्छन्, ‘मेरो आमा ।’
अब दंग पर्ने पालो बाबु अर्थात् जीवनाथको।
ध्रुबेलाई पढ्नका लागि कक्षामा पठाउँछन्। आमाको अभाव हुन नदिन यसो गरेको बुझेपछि जीवनाथले माफी माग्छन्।
जब ध्रुबे विद्यालयबाट पास भएर अर्को विद्यालयमा पढ्न जानुपर्ने हुन्छ, त्यसपछि यो आमा–छोराको सम्बन्धको वास्तविकता खोल्न कमलादेवीले जोड गर्छिन्। उनले ध्रुबेलाई साँच्चैको छोराको रूपमा माया गरेको बताउँछिन्। उसको मायामा रुन्छिन्।
तर यो भन्नैपर्ने हुन्छ। प्रअ सुन्दरलालले बाहिर ध्रुबेलाई भेटेर भन्छु भनेर निस्कन्छन्। जब ध्रुबे कमलादेवीको कोठामा पुग्छ, त्यसपछि बाहिर पढ्न जाने कुरा अस्वीकार गर्छ र यही स्कुलमा थप ३ बर्ष पढ्ने कुरा गर्छ।
कमलादेवीले यत्तिकैमा आफू ध्रुबेको आमा नभएको बताउँछिन्। आफ्नो बाकसमा कपडा नअटाएर आमा मानेको कमलादेवीको बाकसमा पुस्तक र सामान मिलाएको ध्रुबे अचम्मित बन्छ। कमलादेवीले यो वास्तविकता बताइदिएपछि त्यही बाकस बोकेर ध्रुबे चुपचाप बाहिरिन्छन्।
धुब्रेको बाबुलाई कमलादेवीले भन्छिन्, ‘छोराको रूपमा मेरो माया सधैं रहिरहन्छ। उसलाई बिहान चिया खानुपर्छ व्यवस्था मिलाउनू।’
बालबालिकाको अब्बल अभिनय
बाल मनोविज्ञानमा नाटककार विजय मल्लले लेखेका नाटक ‘कोही किन बर्बाद होस्’ पोखरामा सोमबार सुरू भएको महानगरस्तरीय विद्यालय नाटक महोत्सवमा मञ्चन भयो। महोत्सवमा कक्षा १० सम्म अध्ययन गरेका बालबालिकाले मात्र अभिनय गरेका छन्।
‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने नाराका साथ आयोजित महोत्सवमा ९ वटा ९ वटा नाटक नौ दिनसम्म मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए।
नाटकमा पोखरा महानगरभित्रका ८ वटा विद्यालयका विद्यार्थीले अभिनय गरेका छन्।
नाटक मञ्चनपश्चात बोल्दै नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले धेरै वर्षअघि लेखिएको नाटक अहिले पनि उत्तिकै समसामयिक भएको बताए।
‘सुन्दर र उत्कृष्ट नाटक जुनसुकै समयमा सान्दर्भिक हुन्छ’, उनले भने, ‘बालबालिका आफ्नो नैसर्गिक प्रतिभा प्रष्फुटन गर्न कति लालयित रहेछन् भन्ने महशुस भयो।’
विद्यालयस्तरीय नाटक महोत्सवमा वरिष्ठ कलाकार प्रकाश घिमिरे संयोजकत्वमा मूल्यांकन समिति बनाइएको छ।
समितिका सदस्यमा वरिष्ठ रंगकर्मी अनुप बराल, कलाकार प्रमिला तुलाचन र लेखक गणेश पौडेल छन्।
‘विद्यालयमा नाटकको रिहर्सल हुँदा हामी गएर मिलाएका थियौं’, वरिष्ठ रंगकर्मी अनुपले सेतोपाटीलाई भने, ’बालबालिका भएर पनि छोटो समयमै राम्रो अभिनय गरे।’
वरिष्ठ कलाकार प्रकाश घिमिरेले पनि बालबालिकाको अभिनयले आफ्नो आँखा रसाएको बताए।
‘उनीहरूले नेचुरल अभिनय गरे’, उनले भने, ‘अब के गर्लान् भन्ने कौतुहल जगायो।’
नाटक महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आफू पोखरामा मञ्चन भएका धेरै जसो नाटक हेर्न आउने गरेको बताए।
‘कला साहित्यमा म आफ्नो समाज र समाजका घटनाहरू खोज्छु’, उनले भने, ‘नाटकमा समाजका कुरा जस्ताको तस्तै देखिन्छ।’