प्राचीनकालकी देवी जस्तै भाव-भङ्गीका साथ स्टेजमा देखा परिन्, सोफी शाही। काठमाडौं उपत्यकाको रक्षा गर्न र आफ्ना भक्तहरूको संरक्षण गर्ने देवीको रूपमा पुजिने ‘बज्रयोगिनी’ दायाँ हातमा करौंती, बायाँ हातमा खप्पर, खुट्टामा घुँघुर र पाउजु लगाएकी रातो रङकी देवी हुन्।
उनै बज्रयोगिनीको आसनमा स्टेजमा देखिएकी सोफी हेर्दा पनि देवी जस्तै देखिन्थिन्। पोखरामा अध्ययरत बालिका सोफीले देवीको भाव र भक्तिमा अनौठो नृत्य प्रस्तुत गरिन्।
बज्रयोगिनी भजनमा नाचेकी उनी शास्त्रीय संगीतको तालमा आफूलाई डुबाइन्। उनका गुरूको निर्देशन बमोजिम उनले आफूलाई शास्त्रीय संगीतको उतार– चढावमा झुमिन्।
पोखरामा बसेर लोक नृत्यको खोजी र संकलनमा लामो समयदेखि काम गरिरहेका छन्, गोरे गुरुङ।
उनले खोलेको अनुशिलन कला पाठशालामार्फत् गाउँघरका मात्र होइन, सहर बजारका पनि लोक नृत्यको खोजी र संकलन गर्न उनको रुची छ।
पोखरामा शास्त्रीय भजनमा आधारित यस नृत्यको खोजी गर्दै गर्दा उनलाई साथ दिए, काठमाडौंका नृत्य निर्देशक सोजन रघुवंशीले।
नेपालका थुप्रै पौराणिक कथा र सहर-गाउँबाट यस्ता नृत्यहरूको खोजी र संकलन गर्न आवश्यक रहेको गुरुङले बताए।
उनले भने, ‘नयाँ पुस्तालाई नेपालको असली कला सिकाउनलाई पनि पौराणिक र लोक नृत्यको खोजी गर्छु।’
कास्कीको मादी गाउँपालिकास्तरीय नृत्य प्रतियोगिता करिब एक वर्षदेखि चलिरहेको थियो।
मादी गाउँपालिका २ मुग्रीका लबसन गुरुङले यस प्रतियोगिताको आयोजना गरेका थिए।
हालसम्म २ सय बढी म्युजिक भिडिओमा नृत्य निर्देशन गरिसकेका गुरुङलाई कास्कीको सबभन्दा दुर्गम गाउँपालिकाभित्रका प्रतिभा खोज्न मन लाग्यो।
उनको मनलाई मादी गाउँपालिकाले सहयोग गर्यो।
पोखरामा गुरुङले सञ्चालन गरेका आदिम कला मञ्चको ब्यानरमा यस प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा मादी गाउँपालिकाभित्र जन्मिएकाले मात्र सहभागिता जनाउन पाउने भए।
‘मादी डान्स आइडल २०७६’ को नाममा भएको यस नृत्य प्रतियोगितामा अहिले सहर-बजारमा चलिरहेजस्तो भोटिङ र टिकट बेच्नुपर्ने प्रावधान राखेनन्।
निर्णयको सम्पूर्ण जिम्मा निर्णायक समितिलाई दिए, कलाकारलाई निस्फिक्री कला प्रस्तुत गर्ने अवसर मिल्यो।
यही कुरा मन परेर आफ्नो विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराएको लोक नृत्य संकलक गोरे गुरुङले बताए।
‘कलाकारले कला देखाउने हो, भोट माग्दै हिँड्ने र टिकट बेच्दै हिँड्ने होइन’, उनले भने, ‘यही प्रावधान मन परेर मेरो विद्यार्थीलाई यहाँ ल्याएँ।’
प्रतियोगितामा धेरैभन्दा धेरैले भाग लिओस् भनेर मादी गाउँपालिकामा भएका सबै १२ वटै वडामा वडा स्तरीय समिति गठन भयो।
वडा-वडाबाट प्रतिभाको खोजी गरियो। यसरी खोज्दा प्रतियोगितामा १ सय ८६ जना सहभागी भए। प्रतियोगिताको फाइनल ४ चरणमा सकियो।
प्रतियोगिताको निर्णय पारदर्शी होस् भनेर चारवटै चरणमा फरक-फरक निर्णायक राखियो।
फाइनलमा वरिष्ठ नृत्य निर्देशक कमल राईको संयोजकत्वमा अनु रजक, राजबहादुर गुरुङ र प्रिति गुरुङ निर्णायक थिए।
फाइनलमा पुगेका २० जना कलाकारले सोमबार पोखरामा आ-आफ्ना नृत्य प्रस्तुत गरे।
नाटकीय रूपमा प्रस्तुत गरिएका नृत्यहरू प्राय: लोक जीवनमा आधारित थिए।
प्रतियोगितामा उनै ‘बज्रयोगिनी’ देवी बनेकी मादी ८ रबैडाँडाकी सोफी शाही पहिलो भइन्।
हाल पोखरास्थित भद्रकाली उमाविमा कक्षा ८ मा अध्ययनरत उनले पहिले भएसँगै नगद १ लाख २४ हजार पुरस्कार पाइन्।
उनले यससँगै उनले म्युजिक भिडिओमा अभिनय गर्ने अवसर पाउने छिन्।
प्रतियोगितामा मादी २ का अर्पिता गुरुङ द्वितीय भइन्।
उनले पुरस्कार स्वरूप नगद ५० हजार पाइन्।
तृतीय भएकी कुसुम गुरुङले नगद २५ हजार पाइन्। उनीहरूलाई पनि म्युजिक भिडिओमा अभिनय गर्ने अवसर पाउने छन्, ट्रफी र प्रमाणपत्र समेत प्रदान गरियो ।
प्रतियोगितामा उत्कृष्ट भेषभूषामा शशीमाया गुरुङले ५ हजार नगद जितिन्।
उत्कृष्ट नृत्य निर्देशकमा निरज राइभाट र कमल गुरुङ भएका छन्।
प्रोत्साहन पुरस्कार मादी २ का ललित गुरुङले पाए भने फाइनलमा पुगेका २० जना कलाकारलाई ३–३ हजार प्रदान गरियो।
मादी गाउँपालिकाको कला र संस्कृतिको विकास गर्न यस्ता कार्यक्रमको महत्व रहने गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ले बताए।
‘गाउँको प्रतिभा खोज्ने काम भएको छ’, उनले भने, ‘कला र संस्कृतिको सम्मान र संवर्द्धनमा गाउँपालिकाले यस्ता योजनालाई साथ दिन्छ।’