अभिनेत्रीबाट निर्देशक बनेकी झरना थापाले गत साता सलोन बस्नेतलाई आफ्नो तेश्रो निर्देशन 'ए मेरो हजुर ४'को सिक्वलका लागि अनुबन्ध गरिन्।
सलोन यो श्रृंखलामा तेस्रो पटक देखिन लागेका हुन्। सिनेमामा उनी अभिनेता अनमोल केसीका साथीको भूमिकामा देखिने बताइएको छ। तेश्रो श्रृंखलामा पनि उनी अनमोलका साथी बनेका थिए। सिनेमा हेरेका दर्शकले उनको सो भूमिका खुबै मनपराए।
त्यसअघिको दोश्रो सिक्वलमा उनी डेब्यू अभिनेता सलिनमान बानियाँका साथी बनेका थिए। सो भूमिकाका लागि पनि उनी प्रशंसा भयो। अझ भन्नुपर्दा ती सिनेमाबाट उनले मुख्य अभिनेताले भन्दा बढी तारिफ बटुले।
दुई-चार वटा सिनेमामा 'सोलो' हिरो बन्ने उनको प्रयास भने सफल भएनन्। उनी एक्लो हिरो बनेका सिनेमाले उनलाई सफलता दिनै सकेनन्।
आजका दिनमा सलोन बस्नेत नेपाली सिनेमा मनपराउने युवापुस्तामा राम्रैगरी चर्चित छन्।
प्रायः सिनेमामा उनी हिरोका साथी बनेर अभिनय गर्छन्। ती भूमिकाबाट उनले दर्शकलाई खुबै मनोरञ्जन दिन्छन्। धेरै निर्माता-निर्देशकले हिरोको साथी या अन्य त्यस्तै भूमिकामा कलाकार चाँहिदा उनको नाम कम्तीमा एकपटक दिमागमा आएकै हुन्छ।
उनको 'कमिक टाइमिङ' र त्यस अनुसारको अभिनयले गर्दा पनि पहिलो रोजाइमा पर्छन्। दर्शकले उनलाई यस्तै भूमिकामा विशेष रुचाउँछन्।
सलोनको परिचय यति मात्र भने होइन।
नेपाली सिनेमासँग उनको साइनो बितेका केही वर्षमा जोडिएको होइन। करिब साढे दुई दशक उनले सिनेमामा बिताइसकेका छन्।
उनी आफ्नो समयका एकदमै चल्तीका र पहिलो रोजाइका लोकप्रिय बाल कलाकार हुन्।
निर्देशक शोभित बस्नेतका छोरासमेत रहेका सलोनको सिनेमा यात्रा ‘नेपाली बाबु’ बाट भएको हो।
भुवन केसीको निर्माण तथा प्रमुख अभिनय रहेको सिनेमाबाट डेब्यू गर्दा उनी मात्र पाँच वर्षका थिए।
सिनेमा रिलिजपछि सबैभन्दा धेरै प्रशंसा उनले नै बटुले। भुवन केसी, जल शाह, सुस्मिता बमजन, नीर शाह, सुनल थापा, रवि गिरी जस्ता कलाकारको अभिनय रहेको सिनेमामा उनले आफ्नो छुट्टै पहिचान छोडे।
***
अभिनयबाट प्रशंसा बटुलेका सलोनलाई त्यति बेला सिनेमामा काम गर्दैछु भन्ने थाहा भए पनि आफूले के-कसो गरेँ केही याद नभएको सुनाउँछन्।
‘सिनेमा भनेको के हो थाहा थिएन। रोऊ भन्दा रोइदिन्थेँ, हाँस भन्दा हाँसिदिन्थे। कति ठाउँमा साँच्चै पनि रोएँ। त्यो एउटा मलाई घिसार्ने सिनमा म साँच्चै रोएको छु, क्यारेक्टर बुझेर होइन, मलाई सुटिङ गर्दा गार्हो भएर हो।’
उनलाई त्यति बेला निर्देशक उगेन छोपेल, भुवन अंकल (केसी) र ड्याडी (शोभित बस्नेत)ले धेरै फकाइफकाइ मायाले अभिनय गराएको उनी बताउँछन्।
हाल संसद रहेको वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सिनेमा प्रिमियर गरिएको थियो। सुटिङ जसोजसो सिकाइयो, त्यसोत्यसो गरेका बालख सलोनलाई त्यो प्रिमियरको खास केही सम्झना छैन।
‘धेरै सानो थिएँ। मलाई कस्तो फिल भयो, सम्झना नै छैन,’ उनले भने।
त्यसपछि उनले ‘आफन्त’ सिनेमामा काम गरे। त्यो सिनेमामा पनि उनको प्रशंसा निरुता सिंहको भन्दा कम्ती भएन।
‘ढुकढुकी’ उनको तेश्रो सिनेमा बन्यो।
यो सिनेमाबाट भन्ने बल्ल उनीमा म अभिनय गर्दैछु र मैले अभिनय गर्नुपर्छ भन्ने सोच विकास हुन थाल्यो। यो बुझ्न थाल्दा उनी ९ वर्षका थिए। त्यसपछि सिनेमाको पर्दामा आफूलाई देखेर रमाउन थाले।
सलोनकै भाषामा- उनी अत्यन्त लजालू स्वभावका छन्।
‘अहिले पनि सट दिइसकेपछि कति साथी मोनिटरमा गएर आफ्नो काम हेर्नुहुन्छ, म आफूलाई हेर्न सक्दिनँ। त्यो बेला झन् कस्तो थिएँ होला। मलाई याद भएको भनेको ‘अनमोल’ सिनेमाको बेला हो। सिनेमामा आफूले दुःख पाएको देखेर म रोएको थिएँ।’
त्यो बेला उनी यति रोए, हिक्क-हिक्क भएर अन्तरवार्ता नै दिन सकेनन्।
त्यसपछि उनलाई सिनेमा रमाइलो लाग्न थाल्यो। तर केही समयपछि भने सुटिङ झिँझो लाग्न थाल्यो। बोर हुन थाले।
***
सिनेमाले उनलाई बाल कलाकारका रूपमा लोकप्रियता दिलाइरहेको थियो। सानो उमेरमा चर्चा कमाउनु उपलब्धि हो। तर यो बिना मूल्य आएको थिएन। स्कुल गएर, साथी बनाएर अनेक बालसुलभ र किशोरवय क्रियाकलाप गर्न उनले पाएनन्। सुटिङका कारण कहिलेकाहीँ मात्र स्कुल पुग्ने उनी आफूलाई अन्य साथी जस्तै सामान्य ठान्ने कोशिस गर्थे। त्यो त्यहाँ सम्भव थिएन। उनको परिचय बेग्लै थियो। स्कुल छुटिरहने भएकाले उनी साथी भनेर कसैको उस्तो निकट हुन पाएनन्।
‘सिनेमा खेल्ने भएकाले म सामान्य विद्यार्थी भइनँ। मलाई हेर्ने तरिका फरक भयो। मेरा शिक्षकले कहिल्यै त्यस्तो भन्नुभएन तर म त्यो अनुभव गर्न सक्थेँ। मेरा साथी पनि धेरै भएनन्। कहिले महिनादिन म स्कुल जान्नथेँ,’ उनले भने, ‘त्यसले गर्दा स्कुलमा जसरी साथीसँग सम्बन्ध गाँसिनुपर्ने हो, त्यो गाँसिन पाएन। त्यो समयमा मलाई म कलाकार नभएको भए पनि हुन्थ्यो, सामान्य भए नि हुन्थ्यो जस्तो लाग्थ्यो।’
बाल कलाकारका रूपमा उनले करिब ३०-३५ सिनेमा गरे।
काम गर्दा प्रतिसिनेमा कति लिन्थे?
उनलाई जानकारी हुन्थेन। पैसाको कुरा गर्ने उमेर पनि त थिएन। यो सबै उनका बाबु शोभित बस्नेतले हेर्थे। तर यति हुँदाहुँदै पनि ‘कर्म’ सिनेमा गर्दा २८ हजार पारिश्रमिक बुझेको उनलाई थाहा छ।
यो ५८-५९ सालको कुरा हो।
‘हामी तीन भाइ’ खेल्दा १४ वर्षका थिए। यो नै बालकलाकारका रुपमा उनको अन्तिम सिनेमा बन्यो।
‘हामी तीन भाइ गर्ने बेला मेरो उमेर अधकल्चो भइसकेको थियो। न सानो न ठूलो। बच्चावाला क्यूटनेस छैन, ठूलोवाला परिपक्वता पनि छैन। ८ कक्षा पुगिसकेको थिएँ। जिल्ला स्तरीय परिक्षा पनि थियो। स्कुलले पनि बुवालाई मेरो काममा अब ब्रेक लिन लगाउनु भन्ने कुरा गरेपछि रोकियो।’
अब सिनेमा नगर्ने भन्ने थाहा पाएपछि सलोन भित्रभित्र खुसी थिए। त्यस्तो खुसी, जुन एउटा लामो यात्राबाट थाकेको यात्रीले अनायसै थकाइ मार्ने चौतारी भेट्दा महशुस गर्छ।
यो सुनाइरहँदा उनको अनुहारमा आएको मुस्कानले पनि उनको त्यो खुसी झल्काइरहेको थियो।
‘अब सिनेमा गर्नुपर्दैन, अब म मोजमस्ति गर्छु, रमाउँछु भनेर खुसी भएको थिएँ। मैले त्यस्तै गरेँ पनि’, उनले भने।
***
९ र १० भन्दा पनि प्लस टुको समयमा उनले आफ्नो इच्छा अनुसार रमाइलो धेरै गरे। स्कुल जीवनको स्वाद खास चाख्न नपाएका उनी त्यसपछिका स्वाद छोड्न चाहँदैनथे। नयाँ सुरूवात गर्न चाहन्थे।
त्यसैले एसएलसीपछि उनले एउटा निर्णय लिए- आफ्ना स्कुले साथी पढ्ने कलेजमा नपढ्ने। स्कुलका सबै साथी भर्ना भइसकेपछि आफू पढ्ने कलेज खोजीमा निस्किए।
‘मलाई पूरै नयाँ सुरू गर्नु थियो। पुराना कुनै पनि कुरा नजिक हुन वा त्यसमा आफूलाई जोड्न चाहन्थिनँ। मलाई त्यति बेला त्यो केही चाहिँदैन भनेर सोच्थेँ।’
उनी पुगे टेकुको क्यापिटल हिल कलेज। कलेज पुगेपछिको उनको पहिलो प्रश्न थियो- यहाँ ब्राइट फ्युचरको कोही त पढ्दैन नि?
आफ्ना स्कुलका कोही नभएपछि उनी त्यहाँ भर्ना भए।
***
‘प्लस टु एकदमै रमाइलो गरेँ मैले। ११ को अन्तिमसम्म मेरा साथीलाई म को हुँ भन्ने थाहा थिएन। पछि कताकताबाट थाहा पाए।’
उनले सरहरूलाई त्यसबारे केही नभन्न अनुरोध गरेका थिए। सरहरूले गोप्यता कायम गरिदिए। साथीहरूले कताकताबाट पत्ता लगाइहाले।
अनि सबले ‘ए तँ यस्तो पो हो’ भन्न थाले। उनले पनि लुकाएनन्। हाँस्दै 'हो' भनिदिए।
अन्तरवार्ता क्रममा उनी प्लस टु बेलाको कुरा गर्दा जति खुसी अरु कुरा गर्दा भएनन्। पटक पटक भनिरहे- त्यो बेला जस्तो रमाइलो कहिल्यै भएन, कहिल्यै गरिनँ।
कस्ता रमाइला?
त्यो बेला पंक फेसन चल्तीमा थियो। २-३ महिना उनीमाथि पंक फेसन बेस्सरी हाबी भयो। आँखामा कालो गाजल, हातभरी कालो पालिस, काले चुरा लगाएर हिँड्थे।
कक्षामा उनीहरूको एउटा समूह थियो। समूह सानो थिएन, २४ जनाको। २० जना केटा थिए, ४ जना केटी। त्यो ग्रुप जहाँ पनि सँगै जाने।
‘ग्रुपको लिडर म र चक्र बस्नेत भन्ने साथी थियो। हामीलाई साथीहरूले बस्नेत ब्रदर्श भन्थे।’
त्यो बेला उनी हुनसक्ने जत्ति स्वछन्द भए। कलेज बंक गरेर थुप्रैपटक बाइकमा घुम्न हिँडे, बंकर्स पार्टी गए।
भने, ‘सबभन्दा यादगार समय।’
***
१० मा हुँदा उनको रूचि संगीततिर मोडिएको थियो। जीवनमा पहिलो गिटार १० कक्षामा समाते। एसएलसी सकिँदासम्म साथीहरूसँग मिलेर ब्याण्ड बनाइसकेका थिए।
११ कक्षासम्म त उनीहरूको ब्याण्ड कन्सर्ट गरेर हिँड्न थालिसकेको थियो। त्यसपछि ब्याण्ड फुट्यो।
ब्याण्ड फुटेपछि सलोन एबी रेकर्डमा सिडीको कभर डिजाइन गर्न थाले। केही समयपछि त्यो पनि छाडे। यसपछि उनी नजानिँदो पाराले पुनः सिनेमातिर आउने बाटो हिँड्न थाले।
११ कक्षापछि उनले घरबाट पैसा माग्न छोडिसकेका थिए।
‘मेरो यतिकै बस्ने बानी थिएन। केही न केही गरिरहनुपर्ने। त्यही बानीले गर्दा मैले पैसा कमाउन बुवालाई नै एसिस्ट गर्न थालेँ। दुई-तीनटा सिनेमामा प्रोडक्सन सहायक भएर काम गरेँ।’
सिनेमामा फर्किए पनि उनको उद्देश्य यसमा करिअर बनाउनु थिएन। उनी पैसाका लागि काम गरिरहेका थिए।
१२ क्लास चल्दै गर्दा नेपाली सिनेमामा केही परिवर्तन हुन थालेको थियो। कथ्य, अभिनय, निर्माण निर्देशन, प्रविधिको नयाँ सीमारेखानिर नेपाली सिनेमा पुग्न लागेको थियो। भलै, त्यसको स्पष्ट आकार देखिइसकेको थिएन।
डिजिटल प्रविधिमा ‘कागबेनी’ बनिसकेको थियो भने जय नेपाल तथा कुमारी सिनेमाघर नयाँ सोचका साथ सञ्चालन हुन थालिसकेका थिए। यस्तैमा ‘सानो संसार’ सिनेमा रिलिज भयो।
यसले युवाको कथा बोकेको थियो। निर्माणशैली कलाकार सबै नयाँ शैलीका थिए। सलोन बंक गरेर यो सिनेमा हेर्न गए। उनलाई पनि नेपाली सिनेमाको ट्रेन्ड परिवर्तन हुन लागेको महशुस भयो।
सिनेमामै हुर्केको मान्छे सिनेमाबाट के टाढा हुन सक्थे?
‘सानो संसार’ पछि ‘लुट’जस्तो कोशेढुंगा सिनेमा रिलिज भयो। नेपाली सिनेमाको भविष्य बारे नयाँ बहस श्रृजना गर्यो। धेरैले सिनेमामा यस्तै परिवर्तन खोजिरहेका थिए। नयाँ सोचका नयाँ निर्देशकहरू धमाधम आउन थाले। सिनेमा परम्परागत ढंगबाट नयाँ बाटोमा हिँड्न थाल्यो।
‘यसरी आएको परिवर्तनले म फेरि नेपाली सिनेमामा आकर्षित हुन थालेँ। एसिस्टेन्ट गर्दा पनि रेखा थापा, राजेश हमाल, जीवन लुइँटेलहरूको जीवन देखेर वाह! जीवन त यो पो हो, जस्तो लाग्न थाल्यो मलाई। बस्न छुट्टै कुर्सि, छाता ओढाइएको छ, चियाखाजा बसेकै ठाउँमा। लाइफ त यो पो हो लाग्थ्यो।’
यस्तैमा अभिनेता संयम पुरीको ‘सायद’ रिलिज भयो। निर्देशक नारायण पुरीका छोरा संयम सलोनका लागि नौला थिएनन्। उनीहरूबीच पुरानो चिनजान थियो। केही सिनेमामा एकसाथ काम पनि गरेका थिए।
‘सायद हेरेपछि मलाई ए! संयम पनि हिरो भइसक्यो भन्ने भयो। सिनेमा हेरेँ, राम्रो लाग्यो। निर्माता सुनिल रावलसँग पनि भेट भयो। भेटको २-३ महिनापछि मलाई प्रस्ताव राख्नुभयो। मैले मानेँ।'
उनी 'होस्टल' मा अनुबन्धित भए।
ठूलो भएपछिको यो उनको पहिलो सिनेमा थियो। सिनेमामा उनी एक्लै थिएनन्। निर्देशक हेमराज बिसीको सिनेमामा भुवन केसीका छोरा अनमोल केसी, टिका पहाडीका छोरा गौरव पहाडी, अभिनेत्री प्रकृति श्रेष्ठ, रिस्ता बस्नेत लगायत डेब्यू हुँदै थिए।
सिनेमा रिलिज भयो। सिनेमामा हरिजंग थापा उर्फ जंगे बनेका सलोनको अभिनय दर्शकले मनपराए। उनको 'कमिक टाइमिङ'को तारिफ भयो । युवाहरूको कथा रहेको सिनेमा बक्सअफिसमा हिट भयो।
त्यसयता उनले १५-१६ वटा सिनेमा गरिसकेका छन्। ‘होस्टेल’ ले नसोचेको माहोल बनाइदियो। सिनेमाको डायलग-डायलग चर्चित भयो। होस्टल चल्नु अगाडि सलोनका फेसबुकमा ३०० साथी थिए, त्यसपछि पाँच हजार पुगे।
सलोनले सिनेमाले त्यस्तो गर्छ भनेर सोचेकै थिएनन्।
‘त्यसपछि मलाई मेरो घर यही भन्ने लाग्न थाल्यो। सिनेमा गर्दा घर फर्केजस्तो अनुभव,’ उनले सुनाए।
यति हुँदाहुँदै उनीसँग यसपछि पनि सिनेमा करिअरको स्पष्ट खाका थिएन। बस उनलाई सुटिङको माहोल मनपर्छ।
आज सिनेमामा जुन प्रकारका भूमिकामा उनलाई खोजिन्छ, त्यसमा उनलाई खुसी छ।
‘मेरो सुरुवात जसरी भयो, म त्यसमा बसिरहन सफल भएको छु। त्यसमा दर्शकले रुचाइरहनुभएको छ। म खाली बस्नुपरेको छैन, एकपछि अर्को काम पाइरहेको छु। राम्रो स्क्रिप्ट पाउँदा पनि नभ्याएर छाड्नुपरेको छ। त्यसैले खुसी छु।’
उनलाई नयाँ र चुनौतीपूर्ण भूमिकामा आफूलाई प्रमाणित गर्ने चाहना भने छ।