कलाकारिताबाट परिचय स्थापित गरेका सिताराम कट्टेल उर्फ 'धुर्मुस्' र कुञ्जना घिमिरे (सुन्तली)को व्यस्तता पछिल्लो समय समाजसेवामा बढी छ।
यसको सिलसिला २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारीपछि सुरू भएको हो।
महाभूकम्पले नेपाल र नेपालीलाई मात्र हल्लाएन, आफ्नो सांस्कृतिक कार्यक्रममा त्यतिबेला अमेरिकामा रहेका धुर्मुस् र सुन्तलीको कलाकारितामा रमाइरहने आधारभूमिलाई पनि हल्लाइदियो।
उनीहरूले तत्कालै निर्णय लिए विषम परिस्थितिमा नेपाल र नेपालीका लागि केही गर्ने।
अमेरिकाबाट हतारिदै नेपाल फर्किदां आधा नेपालको रुपरंग फेरिएको थियो। मान्छे ढलेका थिए, घर र थुप्रै सांस्कृतिक धरोहर माटोको थुप्रोमा परिणत भएका थिए।
उनीहरूले निर्णय लिए- पुनःनिर्माणमा आफूले सकेको सहयोग गर्ने।
यही सोचले जन्मायो-धुर्मुस्-सुन्तली एकिकृत नमुना बस्ती। उनीहरू काभ्रेको पाँचखालमा रहेको पिछडिएको पहारी समुदायको बस्ती ठडाउने निर्णय गरे।
उनीहरूले बस्ती ठडाउने घोषणा गरे, त्यसमा अरु मनकारीहरूले पनि साथ दिए। उनीहरूले तोकेको दुई महिनाको समयमा नै बस्ती तयार गरे र भूकम्पमा टाउको लुकाउने छत गुमाएका पहारी समुदायलाई आधारभूत सुविधासहितको घर दिए।
त्यसपछि हौसिएका उनीहरूले सिन्धुपाल्चोकको गिरानचौरमा एक सय रोपनीमा ६५ घरहरूको अर्को सामुहिक बस्ती बसाए। सो बस्तीपछि उनीहरू तराई झरे र त्यहाँको अति पिछडिएको समुदायमा पर्ने मुसहर समुदायका लागि अर्को एकिकृत बस्ती बसाए।
त्यसपछि उनीहरूको योजना थियो-एउटा मिनी नेपालको झल्को दिने एउटा बृहतकिसिमको बस्ती बसाउने।
यस्तैमा नेपाली क्रिकेट टोलीले सन् २०१८ मा विश्वकप छनौटमा पपुवा न्यू गिनीलाई हराउँदै आईसिसीबाट एक दिवसिय टोलीको मान्यता पायो।
नेपाली क्रिकेट इतिहासमा आजसम्मकै सर्वाधिक उपलब्धिका साथ घर फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमै स्वागत गर्ने गएको प्रशंसकहरुको भिडले क्रिकेट खेल्नका लागि गतिलो रंगशाला चाहियो भन्दै माग गरे।
सामाजिक संजालमा यस बारेमा ठूलै समर्थन उम्लियो। सरकारले नबनाए नागरिक स्तरबाटै रंगशाला बनाउन पर्ने आवाज उठेपछि यसका लागि धेरैले धुर्मुस-सुन्तलीलाई नै उपयुक्त माध्यम देखे। उनीहरू यस मागमा होमिन तयार भए।
हाल उनीहरूले चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेका छन्। उनीहरूले थालेको यो योजना केही करोड नभएर झण्डै ३ अर्बको हाराहारीमा छ।
परियोजना ठूलो छ, यसलाई पूरा गर्न चाहिने आर्थिक श्रोत पनि धेरै नै छ। जसरी पनि रंगशाला बनाउने लक्ष्य लिएका धुर्मुस श्रोत जुटाउन यसका लागि अनेक उपायहरू अपनाइरहेका छन्। पछिल्लो समय उनीहरूले चितवनमा धन्यधन्याञ्चल महायज्ञ लगाए।
५० करोड रूपैयाँ उठाउने लक्ष्य लिइएको यस धार्मिक अनुष्ठानमा मनकारीहरूले ५६ करोड रुपैयाँ बराबरको रकम दिने वाचा गरेका छन्।
'५० करोडको थियो ५६ करोडको वचन आएको छ' अनुष्ठानमा आएको सहयोग प्रतिबद्धताबाट धुर्मुसले भने,'पंडित दिनबन्धु पोखरेलकै आतिथ्यतामा यही १५ गते पछाडी मुल समारोह समितिले कति रकम उठ्यो, त्यो घोषणा हुनेछ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुहुनेछ।'
धार्मिक अनुष्ठानहरूमा मानिसहरूको दानको घोषणा भएपनि उठ्ने बेलामा अधिकाशं उठ्दैनन तर धुर्मुस-सुन्तली भने आशावादी छन्। यस बारेमा उनलाई डर छैन किनकी सिङ्गो चितवन जिल्ला नै आयोजक रहेकाले उनीहरू यतिधेरै विस्वस्त देखिएका हुन्।
'यो अभियान भएको कारणले उहाँहरूले आफूहरूले बोलेको रकम वाचा अनुसारकै उपलब्ध गराउनुहुनेछ भन्ने कुरामा आशावादीमा छौं।'
वाचा अनुसारको रकम आए प्याराफिटको पिलरहरू सबै ठडाएर एउटा ढलान भ्याउने धुर्मुसको अनुमान छ।
यो त भयो धान्याञ्चलको कुरा। उनी क्रिकेट रंगशालाकै सहयोग लागि बनाइएको 'सेन्टी भाइरस' सिनेमाबाट पनि उल्लेख्य रकम उठ्नेमा आशावादी छन्।
उनीहरूले सिनेमाको मुनाफाको आधा रकम रंगशाला निर्माणमा खर्च गर्ने घोषणा गरिसकेका छन्।
पछिल्लो केही समय नेपाली सिनेमाको व्यापार सुस्ताएको भएपनि उनीहरूको यो अभियानमा विश्वास गर्ने दर्शकहरू हलमा राम्रैगरी देखिएका छन्। सिनेमा शुक्रबार रिलिज भइसकेको छ। दर्शकको उपस्थिति सिनेमाहलमा उत्साहित बनाउने नै छ।
सिनेमाले कति मुनाफा कमाउँला?
यसको जवाफमा धुर्मुस-सुन्तली भन्छन्, 'हामी आशावादी छौं। ठ्याक्कै हिसाब त हामीलाई थाहा छैन। दर्शकमा भर पर्छ। यसलाई सबैभन्दा बढी दर्शकले हेरेको सिनेमा बनेको खण्डमा धेरै नै रकम उठ्ला। यसअघिका सिनेमाले १८ करोड-२० करोड कमायो भनेर हल्ला सुनेका छौं। हामीलाई यसरी कमाउने सिनेमाका निर्माताको हातमा ठ्याक्कै कति रकम हात पर्यो त्यो हामीलाई ठ्याक्कै थाहा छैन। त्यस्तै व्यापार गर्यो भने केही करोड रकम रंगशालालाई दिन सकिन्छ। दिन सकियोस्, सकियो भने राम्रो हुन्छ।'
सिनेमाको कथा राजनीतिको सेरोफेरोमा घुमेको छ तर धुर्मुस-सुन्तली स्वयं कुनै राजनीतिक विचारधाराबाट प्रभावित नभएको बताउँछन्।
'हाम्रो कुनै राजनीतिक विचारधारा नै छैन। हुन त राजनीति भन्दा टाढा कोही हुन सक्दैन तथापी हामी एउटा सचेत र स्वतन्त्र नागरिकको हिसाबमा अगाडी बढिरहेका छौं', धुर्मुसले भने।
समाजसेवामा व्यस्त भइराखेपनि कलाकार भएकाले यसबाट टाढा हुन नसकेकाले सिनेमा बनाएको उनीहरू बताए।
'हामी पेसाले कलाकार नै हौं। हामी मेरी बास्सै मार्फत दर्शकहरूको मन बस्न गयौं, सक्यौं। हामी त्यसैलाई निरन्तरता दिन चाहन्थ्यौं तर देश काल परिस्थितिले हामी समाजसेवामा लाग्यौं। योजना हामीसँग कलाकारितामा बढ्ने थियो तर समाजसेवामा थिएन। सुरुमा व्यक्तिगत प्रयासमा बस्ती बसायौं, पछि संस्थागत भयौं। यति हुँदाहँुदैपनि हामीभित्रको कलाकारिताको प्यास हराउने कुरा थिएन। दर्शकको यससम्बन्धी इच्छाको सम्मान पनि हामीले गर्नुपर्छ। निरन्तर सानो पर्दामा आउन नसकेपनि ठूलो पर्दामार्फत अहिले आउन लागेका हौं', धुर्मुसले भने।
त्यसो त टेलिभिजन छाडेपछि धुर्मुस् अरूका सिनेमामा पनि नदेखिएका होइनन् तर उनलाई आफै पनि सिनेमा बनाउने चाहना थियो।
'सेन्टी भाइरस' त्यसैको उपज हो।
सिनेमा बनाउँदा र रिलिजको रस्साकस्सीसम्म आइपुग्दा धुर्मुसलाई स्पष्ट भएको छ सिनेमा बनाउनु र अरूका सिनेमा खेल्नुमा आकाश-पतालको फरक छ।
'पहिला अभिनय मात्र गरे पुग्थ्यो तर आफूले गर्दा एउटा व्यवस्थापक हुनपर्यो, सबैलाई मिलाएर अगाडि बढाउनुपर्ने जिम्मेवारी छ। सिनेमामा हामी निर्माता भएपनि यसमा पैसा लगाउनेहरूको सुरक्षालाई ध्यान दिनपर्यो। बस्ती निर्माणदेखि हामीलाई सहयोग पुर्याउनेहरू डिन्छु लामा हेल्मो, फुर्वा हेल्मोहरूको रगत पसिनाको कमाइ यसमा लगाएका छौं।'
सिनेमा बनिसकेको छ।
दर्शकको प्रतिक्रिया के रहला? अहिले उनीहरूलाई सताइरहने मुख्य प्रश्न यही हो।
तर शुक्रबारको रूझानले सकारात्मक नतिजा दिने संकेत गरेको छ।
'पहिलो प्रयास हो। के होला? कसो होला? भन्ने त छँदैछ। एउटा अभियानका लागि बनाएको सिनेमा भएकाले दर्शकहरू यसमा जोडिनुहुन्छ भन्ने विश्वासका कारण उत्साहित नै छु। सामाजिक अभियानमा लागेकाले एउटा नियमित सिनेमा हेर्नेबाहेकका अरूहरू पनि यसमा जोडिनुहुन्छ भन्ने कुराले पनि हामीलाई उत्तिकै उत्साहित बनाइरहेको छ।'
सिनेमामा धुर्मुस-सुन्तली 'मेसी बास्सै'मा देखिदैं आएको जस्तो भूमिकामा छैनन्।
उनले आफूलाई सिनेमामा एउटा स्थानिय नेताकारुपमा पर्दामा प्रस्तुत गर्दैछन्।
चिनिरहकै भूमिकाको सट्टा एउटा अर्को नयाँ खाले भूमिकामा देखिन एउटा छुट्टै तयारीको आवश्यक्ता पर्छ नै।
रंगशालाको रस्साकस्सीबीच सिनेमाभित्रको पात्रको तयारी सम्बन्धी स्वभाविक जिज्ञासालाई उनीहरुले यसरी मेटाए।
उनीहरुले सबै जिम्मा निर्देशक रामबाबु गुरुङको हातमा सुम्पेको बताए।
'पाउनेपर्ने जस-अपजस सबै निर्देशक रामबाबु गुरूङकोमा छ', सुन्तलीले भनिन् 'हामीले पनि लगाउनुपर्ने प्रयास लगाउँथ्यौं होला तर रंगशालाको रस्साकस्सीले हामी सुटिङको अघिल्लो दिनसम्म पनि सिनेमाको भन्दा पनि रंगशालाको कुदाकुदमा व्यस्त भयौं। सोचेजसरी क्यारेक्टरमा भिज्न पाइएन। तर सिनेमा सकिदैंजाँदा भिजेको अनुभव हुँदैगयो। सिनेमामा निराश बनाउदैनौं', सुन्तलीले भनिन्।
निर्देशकले उनीहरूबाट सकेको निकालेको उनीहरू बताउँछन्। यस्तो बताइरहँदा धुर्मुसको पात्रका बारेमा अर्को खुलासा भयो।
सिनेमामा सुरूमा उनलाई अर्कै किसिमको भूमिकाका लागि भनिएको थियो तर सुटिङमा जाँदा परिवर्तन भयो।
'सामान्य पात्रमा भिज्न, केन्द्रित हुन मलाई अलिकति समय लाग्छ। यसमा सामान्य नै त होइन अलिक चरित्र प्रदान नै भूमिका हो तर मैले सोचेभन्दा फरक छ। मैले अभ्यास गरेको भन्दा फरक गर्ने भनेर निर्देशनको टिमबाट आइसकेपछि तुरुन्तका तुरुन्तै आफूलाई रुपान्तर गर्न गार्हो भएको थियो', धर्मुसले भने।
सिताराम र कुञ्जनाको परिचय भनेकै धुर्मुस र सुन्तलीका रुपमा दर्शकमाझ अत्याधिक चर्चित छ। यस्तोमा दर्शकले नयाँ खाले भूमिकामा स्वीकार्ने-अस्वीकार गर्ने दुबै सम्भावनाहरू रहन्छन्। यसको डर उनीहरूलाई पनि छन्।
'डर छ तर हाम्रो अभिनयमा अलिक लामै ग्याप भएका कारणले गर्दा हामीले जे गरेका छौ त्यसलाई दर्शकले बुझ्नुहुनेछ भन्ने ठानेका छौं। यता अर्को काम चटारोमा थिएनौं र निरन्तर कलाकारितामै थियौं भने हामीले अझ राम्रो दिनसक्थ्यौं। तर म त सिनेमाको एकदिन अगाडि आइपुगें। सुटिङको ग्याप हुँदा पनि म रंगशालाको काममा नै पुगिहाल्थे। काम चटारोले गर्दा सिनेमामा जे भएको छ ठिकै भएको छ', धुर्मुसले भने।
'तर सिनेमा बनाउने कुरा सजिलो रहेनछ', धुर्मुसको भनाइमा सुन्तलीले थपिन्।
दुबैको कामना छ- सिनेमा चलोस् रंगशाला निर्माणका लागि गतिलै रकम जम्मा होस्।
सम्पूर्ण तस्वीरहरूः नारायण महर्जन