लोक गायक पुरुषोत्तम न्यौपानेको आफ्नै शब्द, संगीत र स्वरमा एक दशकअघि बजारमा आएको गीत हो, ‘मिर्मीमुनि काली थुनेको...।’
लोक दोहोरी गायकका रूपमा न्यौपानेलाई उचाईमा पुर्याइदिएको यो गीत अहिले पनि उनले देश, विदेशका सांगीतिक स्टेजमा गाएकै हुन्छन्।
स्याङ्जाको मिर्मी भन्ने ठाउँभन्दा तलबाट बगेको कालिगण्डकी नदी थुनेर नेपालकै ठूलो कालिगण्डकी जलविद्युत आयोजना बनेपछि न्यौपानेले सोही प्रसङ्गलाई गीतको भाकामा ‘मिर्मीमुनि काली थुनेको’ भनेका थिए ।
न्यौपानेले यही भाकामा नयाँ गीत रेकर्ड गराएका छन्। पुरानै भाकामा नयाँ शब्द समेटिएको गीतमा कोरोना भाइरससम्बन्धी जानकारी समेटिएका छन्।
नयाँ रेकर्ड गरेको गीतमा पनि ‘मिर्मीमुनि काली थुनेको’ शब्द भने छुटाएका छैनन्। यसको पछाडि ‘कोरोनाले मरिन्छ भन्छन् नि साँच्चै हो कि हल्ला सुनेको!’ थपेका छन्।
यो गीत निर्माणका लागि गण्डकी प्रदेश सरकारले पहल गरेको हो।
प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले कलाकारले पनि सचेतनाका लागि भूमिका खेलिदिनुपर्यो भनेपछि गीत र म्युजिक भिडियो तयार गरेको राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरूङले बताए।
प्रतिष्ठानले नै यो गीतका लागि व्यवस्थापन गरेको हो।
गीतको म्युजिक भिडियोको सुरूमै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री पुनले कोरोना रोकथामका लागि प्रदेश सरकार लागिपरेको र सक्दो प्रयास गरेको सन्देश भाषण गरेकी छिन्।
कोरोना सचेतनाका लागि भनेर बनाइएको यो गीतमा गायक न्यौपानेसहित माया गुरूङ, ज्याेति लोहनी गुरूङ, पूर्ण परियार, रामजी पौडेल, मञ्जु विक लगायतले स्वर दिएका छन्। पोखरामै रेकर्ड गरिएको गीतको छायाङ्कन बुधबार पोखरामै गरिएको छ। गीतको छायाङ्कन पनि गायक न्यौपानेले चलाएको ‘रिमझिम दोहोरी साँझ’मा गरिएकाे छ।
गीतमा कोराेना भाइरसका बारेमा जानकारी, भाइरसका लक्षण र जोगिने उपायका बारेमा उल्लेख गरिएको गायिका मञ्जु विकले बताइन्।
‘गीतमा कोरोना लाग्नुका कारण र जोगिने उपायबारे उल्लेख गरिएको छ', मञ्जुले भनिन्, 'कोरोनाबाट जोगिने कुरा थाहा नपाउनेले यो गीत सुनेपछि थाहा पाउँछन्।’
गुरूङले यो गीत छिटै बजारमा आउने बताए।
‘हामीले छिट्टै गीत रेकर्ड गरेर छायाङ्कन पनि सक्यौं,' उनले सेतोपाटीसँग भने, 'अब छिट्टै सम्पादन सकेर सार्वजनिक गर्छौं।’
गुरूङले गीत रेकर्ड, छायाङ्कन र सम्पादनका लागि ८० हजार रुपैयाँ जति खर्च भएको र त्यो प्रतिष्ठानले नै ब्यहोर्ने बताए।
‘संकटका बेला भनेर कलाकारले निशुल्क गाइदिएका छन्,' उनले भने, 'गीतको रेकर्ड, छायाङ्कन र सम्पादनमा लाग्ने सामान्य खर्च मात्र गर्छौं।’