घाँस काटौं लहरै तानेर
बस माया जोवान धानेर...
पोखराको मुनाल फिल्म्सका निर्देशक भोजबहादुर गुरुङले यो गीतको १५ सेकेण्डको भिडियो चैत २८ गते ‘टिकटक’मा पोष्ट गरे। भिडियो पोष्ट गरेको एक हप्तामै झण्डै ३ हजार जनाले यही गीतमा टिकटक भिडियो बनाएर पोष्ट गरे। यसअघि यो गीत कास्की, लमजुङलगायत जिल्लाका गुरुङ गाउँमा सुनिए पनि रेकर्ड भएको थिएन।
लकडाउनको समयमा मानिसहरु इन्टरनेटमा धेरै समय बिताइरहेका छन्। नयाँ वर्षको अवसर पारेर गीतको पुरै भिडियो बैशाख १ गते मुनाल फिल्म्सको अफिसियल युट्युब च्यानल ‘स्ट्रिम नेपाल’मा अपलोड भयो। अपलोड भएको ८ दिनमै भिडियोले १ लाख ४८ हजारभन्दा बढी भ्युज कमाएको छ।
स्ट्रिम नेपालको युट्युब च्यानलमा हालेका ९ सय बढी भिडियोमध्ये छिटो समयमै यति धेरै भ्युज कमाएको यो गीत पहिलो भएको निर्देशक गुरुङले बताए। ‘गाउँघरमा सुनिएको भाका आममानिसले मन पराए’, उनले भने, भ्युज देखेर हामी उत्साही भएका छौं।’
गीतमा शब्द संकलन गायिका बालकाशी गुरुङले गरेकी छिन् भने स्वर बालकाशी र धनबहादुर गुरुङले दिएका छन्। गीतको संगीत संयोजन धनबहादुर गुरुङले गरेका छन्।
घाँस काटौं, लहरै तानेर...
गीत सुन्दा पश्चिम पहाडका जो कोहीलाई कता–कता सुने जस्तो लाग्न सक्छ। किनकी यो गीतको धुन पश्चिम पहाडका गाउँहरुमा ५० वर्षभन्दा अघिदेखि सुनिँदै आएको थियो। गीत रेकर्ड गरेर भिडियो बनाएका निर्देशक गुरुङले पनि यो गीत पहिलो पटक आफ्नो आमाबाट सुनेको बताए।
‘हामीले गाउँघरमा सुनेको भाका टिपेर गीत बनाएर रेकर्ड गर्यौं’, निर्देशक गुरुङले सेतोपाटीलाई भने, 'अझै १ सय ५० वटा यस्ता गीत रेकर्ड गर्नै बाँकी छ।’ लकडाउन अघि नै रेकर्ड गरेर कास्कीकै पर्यटकीय छोमरोङ गाउँमा गीतको भिडियो छायाङ्कन गरेको गुरुङले बताए।
गुरुङ गाउँहरुमा यस्ता गीतमा नाचिने नाचलाई ‘ठेटर नाच’ भन्छन्। पहिलो विश्व युद्धपछि नाचिएका यस्ता नाच र गीत विश्वयुद्धमा भाग लिन गएका ‘लाहुरे’ले गाउँमा ल्याएका थिए। जतिबेला भारतमा बेलायतको साम्राज्य थियो।
पहिलो विश्वयुद्ध ताका भारतमा शासन चलाएको बेलायतको ‘कम्पनी सरकार’ले नेपालका गाउँ– गाउँमा गल्ला पठाएर नेपालका पहाडे युवालाई भर्ती लिएको थियो। पहाडका पनि गुरुङ, मगर, राई र लिम्बु थर भएका युवालाई उनीहरुले भर्तीका लागि पहिलो प्राथमिकता दिएका थिए। जुन प्राथमिकता अहिले पनि भारत र बेलायती सेना तथा सिङ्गापुर पुलिसमा यथावत छ।
कास्कीको मादी गाउँपालिका ५ काउरे गाउँका इञ्जिनियर सुब्बा गुरुङका अनुसार आफ्नो गाउँमा पहिलो पटक २०१४–०१५ सालतिर शुरु भएको थियो। त्यतिबेला कम्पनी सरकारका लागि भर्ती भएका युवाहरु क्याप्टेन अमबहादुर गुरुङ, लालबहादुर गुरुङ र सुबदार बेलबहादुर गुरुङले छुट्टी आउँदा गाउँका युवाहरुलाई ठेटर गीत र नाच सिकाएका थिए।
उनीहरुले सिकाएपछि पहिलो पटक काउरे गाउँमा केशबहादुर गुरुङ, मोमबहादुर गुरुङ र सन्तवीर गुरुङले यो नाच नाचे । जब केशबहादुर र मोमबहादुर पनि बेलायती सेनामा भर्ति भए, गाउँमा सन्तवीरले नयाँ पुस्ताका युवाहरुसँग यो नाच नाचे ।
‘लाहुरे भएर गएका युवाहरुले त्यहाँ ड्रामा कम्पनीमा भाग लिएर होला उनीहरुले नै गीत र नाच लिएर आए, ठेटर नाचका बारेमा खोजबिन गरिरहेका सुब्बाले भने, त्यसपछि गाउँभरी नै ठेटर नाच नाच्न थाले।’
नाटकको थिएटर जस्तै लाहुरेहरुले पल्टनमा थिएटरमा गाएको गीत र नाच गाउँमा आइपुग्दा ठेटर भएको मुनाल फिल्म्सका निर्देशक गुरुङले बताए । ‘थिएटर नाच नै हाम्रो गाउँमा आइपुग्दा ठेटर भयो, उनले भने, अहिले आएर हाम्रो लोक संस्कृति बन्यो।’ उनका अनुसार यो नाच रातको समयमा आँगन वा सामुदायिक भवनमा नाचिन्छ।
ठेटर नाच नाच्नुअघिसम्म गुरुङ गाउँमा घाँटु, सोरठी, कृष्ण चरित्र लगायत परम्परागत नाच मात्र नाचिन्थ्यो। त्यसैको गीत गाइन्थ्यो। अहिले ती नाचहरु गुरुङ जातिको चाडपर्वमा मात्र नाचिन्छ। ठेटर नाच भने गाउँमा लाहुरे आउँदा पैसा झार्नका लागि र अरु मेला, महोत्सव र पर्यटकको स्वागत सत्कारमा पनि नाच्ने चलन छ।
गुरुङ फिल्म एसोसिएसन अफ नेपाल (जिफान) का अध्यक्ष समेत रहेका गुरुङले मुनाल फिल्म्सको तर्फबाट अहिलेसम्म ५ वटा यस्ता ठेटर गीत रेकर्ड गरेर भिडियो सार्वजनिक गरिसकेका छन्। ‘हाम्रो लोक संस्कृति धेरै रेकर्ड हुन बाँकी छ, उनले भने, 'हामीले संकलन गरेर रेकर्ड गर्दैछौं।’
लकडाउनको समयमा गाउँ गाउँबाट रेकर्ड गरेर ल्याएको गीतको शब्द उतार्न लागेको उनले बताए। ठेटर गीतमा नाचेर खानेपानी विभागमा इञ्जिनियरको जागिर खान पुगेका सुब्बाले पनि अहिले ६० वटा गीतको शब्द संकलन गर्दैछन्।
‘३७ वर्ष जागिर खाँदा यसबारे बुझ्नै पाइनँ, पेन्सन आएपछि खोजनीति गरेको थिएँ,' उनले सेतोपाटीलाई भने, 'अहिले लकडाउनको मौकामा लेखिराखेको छु।’ उनले ठेटर गीत, नाच र यसको इतिहाँसका बारेमा आफुले पुस्तक लेख्न लागेको समेत बताए।
उनका अनुसार गुरुङ गाउँमा २०२५ सालदेखि ०४० सम्म यस्ता ठेटर गीत निकै लोकप्रिय थियो। गाउँमा जहिले पनि यस्तै गीत गाउने र नाच्ने चलन थियो । मुनाल फिल्म्सका निर्देशक गुरुङले ४० सालपछि नेपाली चलचित्रका गीत बजारमा आउन थालेपछि क्यासेटमा गीत बजाएर नाच्ने चलन बढेको बताए।
‘ठेटर नाच र हिन्दी गीतबाट हाम्रो गाउँमा नेपाली चलचित्रका गीतमा नाच्न थालियो, ताङतिङ गाउँका बासिन्दा समेत रहेका गुरुङले भने, अहिले गुरुङ चलचित्रको गीतमा नाच्ने क्रम बढ्दो छ।’
ठेटर गीत कास्कीको ताङतिङ, सिक्लेस, घान्द्रुक लमजुङको पसगाउँ, भुजुङ, घलेगाउँ लगायत प्राय गुरुङ बस्तीमा नाच्ने गर्छन्। गीत गाउँदै मादल बजाएर नाच्ने यी गीतहरु अहिले लोप हुने अवस्थामा पुगेको गुरुङको भनाई छ।
गाउँमा गाइने यस्ता गीतहरु कसले सिर्जना गरेको भन्ने अहिलेसम्म कसैलाई पत्तो छैन । उनीहरुले सकेसम्म शब्द र सँगीत पनि गाउँबाटै रेकर्ड गरेर ल्याउने गरेका छन् । निर्देशक गुरुङले घाँटु, सोरठी, कृष्ण चरित्र जस्ता गुरुङ समुदायको जातीय परम्पराको गीत र नाच समेत रेकर्ड हुन बाँकी रहेको बताए ।
‘यी गीत र नाच पनि ठाउँ हेरेर फरक फरक छन्, यी सबैलाई रेकर्ड गर्नुपर्नेछ, उनले भने, गाउँ गाउँका गीतहरु खोज्न र रेकर्ड गर्न निकै गाह्रो हुने रहेछ ।’
कास्कीको पर्यटकीय गाउँ ताङतिङ र सिक्लेसका बासिन्दा अहिले पनि बैशाख पुर्णिमामा दुधपोखरी तिर्थयात्रा गर्न जानेलाई आर्शिवाद दिन ‘शुभयात्रा गीत’ गाउँछन्। यस्तै अहिले पनि भेँडीगोठमा बस्ने गोठालाले ‘सारंगी गीत’ गाउँछन्, नाच्छन। यस्तै, गुरुङ समुदायको एउटा चाड ‘खोई खाने’ बेला खोइ गीत गाउँछन्। मानिस मरेको बेला अर्घौं गर्दा सेर्का गीत र नाच हुन्छ।
यी सबै रेकर्ड हुन बाँकी रहेको निर्देशक गुरुङले बताए ।
यस्तो छ, मुनाल फिल्मले रेकर्ड गरेर राखेको ठेटर गीत-
छेक छेक आइपुग्यो रेल
हासेर काटन
पर्खन भेना