अमेरिकामा यही मे २५ का दिन सुरक्षाकर्मीले घाँटी थिचेर अश्वेत नागरिक जर्ज फ्लोयडको 'हत्या गरेको' घटनापछि पूरै देश अशान्त छ। गोरो छाला र कालो छालाबिच अन्तरको आधारमा हुने रंगभेदी व्यवहारको यो पछिल्लो प्रमाण हो।
हत्याको घटना र त्यसप्रतिको स्वभाविक आक्रोश अमेरिकाको इतिहासको पहिलो घटना भने होइन। दशकौंदेखि अमेरिकी राज्यले कालो वर्णका नागरिकमाथि संरचनागत र नीतिगत रूपमै विभेद गर्दै आएको छ। 'दासप्रथा उन्मूलन' र 'सिभिल राइट्स मुभमेन्ट' बाट पनि अन्त नभएको विभेद मेट्न अहिले पनि हजारौं मानिस सडकमा प्रदर्शन गर्न बाध्य छन्।
यस्तै बाध्यता झल्किने केही फिल्म र डकुमेन्ट्रीको सूची यहाँ राखिएको छ। सबै फिल्म सत्य घटना नजिक रहेकाले अश्वेत नागरिकका विभिन्न चरणका संघर्ष बुझ्न यी फिल्म पक्कै उपयोगी हुनेछन्।
डिट्रोइट, २०१७
१९६७, २३ जुलाइदेखि २७ जुलाइ, पाँच दिनसम्म डिट्रोइट, मिसिगन सहरमा डरलाग्दो दंगा भड्किएको थियो। पूरै सहर आगोको मुस्लोमा परिणत भएझैं बनेको यो घटनामा ४३ जनाको मृत्यु भएको थियो। ३३ काला र १० गोरा नागरिक मारिएको यो घटनामा करिब सात हजार जनालाई गिरफ्तार गरिएको थियो।
कयौं निर्दोष मानिसलाई पक्राउ गर्ने क्रममा स्थानीय काला समुदायका दर्जनौं मानिस पनि पर्छन्। निरन्तर प्रहरी दमन र राज्यको विभेदको शिकार भएको महशुस गरेका स्थानीय काला समुदायका मानिस स्वभाविक रूपमा आक्रोशमा तोडफोड र आगजनीका घटनाले पाँच दिनसम्म यो सहर आक्रान्त बन्छ।
हजारौं घर र सार्वजनिक सम्पत्ति नष्ट भएको यो घटनामा तीव्र प्रहरी दमन भएको थियो। यो घटनामा भएको राज्य दमनलाई काला समुदायले त्यसपछिका दिनमा सशस्त्र आन्दोलन गर्न उत्तेजित पारेको समेत मानिन्छ।
प्रहरीले लाइसेन्स नभएको क्लबमा छापा मारेर गैरकानुनी ढंगले निर्दोष मानिस मार्नु यो घटनाको तत्कालिक कारण थियो। छापा मार्ने क्रममा क्लबमा काला समुदायका जवानहरू भियतनाम युद्धबाट फर्केको खुसियाली साटिरहेका हुन्छन्। त्यहीँ 'द ड्रामाटिक्स ब्यान्ड' का ल्यारी रिड र उनका साथी पनि हुन्छन्।
घटनाको दोस्रो दिन प्रहरी फिलिप क्रसको नेतृत्वमा बारमा छिर्छन् र गायक, दुई महिला र अरू केहीलाई लाइन लगाएर केरकार गर्छन्। सारा सहर नै पात्रजस्तो लाग्ने यो फिल्ममा त्यही केरकार, र यातनाका घटना जीवन्त रूपमा देखाइएको छ। समीक्षकहरूबाट प्रशंसित र केही पुरस्कार पनि जितेको यो फिल्म प्रहरी दमन र काला समुदायको आक्रोश बुझ्न उपयोगी छ।
द रोजा पार्क्स स्टोरी, २००२
१९५५ डिसेम्बर १ का दिन अमेरिकाको मोन्टगोमरी अलाबामाको एउटा सार्वजनिक बसमा रोजा पार्क्सले गोरा मानिसका लागि सिट छोड्न अस्वीकार गर्छिन्। गोरा र काला मानिसका लागि अलग सिट छुट्याइने त्यो समयमा काला रङका मानिसले गोराको आदेश नमान्नु अपराध ठहर्थ्यो। यही बहानामा रोजालाई प्रहरीले पक्राउ गर्छ।
दशकौं दशक लामो अन्याय र उत्पीडनमा परेका अफ्रिकन अमेरिकी काला समुदाय उत्प्रेरणाको रूप लिन्छ। यही घटना साठी दशकको 'सिभिल राइट्स मुभमेन्ट'का लागि कोशेढुंगा बन्छ।
रोजाको बस विद्रोहपछि मोन्टगोमरी अलाबामाका स्थानीय अश्वेत नागरिकले सामूहिक रूपमा सार्वजनिक बस यात्रा बहिष्कार गर्छन्। यो बहिष्कार आन्दोलन तीन सय ८१ दिनसम्म चलेको थियो।
रोजाको 'बस विद्रोह' रंगभेदविरुद्ध आन्दोलनको अगुवाइ गर्ने मार्टिन लुथर किङ जुनियरलाई पनि प्रेरित गर्ने घटना मानिन्छ। रोजा र मार्टिन लुथरजस्ताकै नेतृत्व र अडानका बलमा अमेरिकी सरकारले १९६४ मा सिभिल राइट्स एक्ट पास गर्छ। यो कानुनले रङ, नश्ल, धर्म र राष्ट्रियताका नाममा विभेद गर्न नपाउने कानुन बन्छ। यो कानुनले यसअघि गोरा र काला समुदायबीच शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा हुँदै आएको विभेद कम गर्न ठूलो भूमिका खेलेको थियो।
'रोजा पार्क्स स्टोरी' फिल्म उनै क्रान्तिकारी महिला रोजाको जीवनमा आधारित फिल्म हो। फिल्ममा एन्जेला ब्यासेटले रोजाको भूमिका निर्वाह गरेकी छन्। अमेरिकाको इतिहास बदल्ने रोजा बन्न एन्जेलाले गरेको मेहनत उनको अभिनयमा मज्जाले झल्किन्छ। यो फिल्मको अभिनयका लागि उनले उत्कृष्ट अभिनेत्रीको पुरस्कारहरु जितेकी थिइन्।
फिल्ममा रोजाको बाल्यकालीन जीवनदेखि प्रेम, परिवार र उनको दैनिकीलाई विस्तारमा समेटिएको छ। एउटा सामान्य अश्वेत महिला कसरी विद्रोहको प्रतीक बन्छिन् भनेर सरल रूपमा फिल्ममा देखाइएको छ।
प्यान्थर, १९९५
मेल्भिन भान पिबलको उपन्यास 'प्यान्थर'मा आधारित यो राजनीतिक फिल्म हो। अमेरिकामा अफ्रिकन-अमेरिकी नागरिकले दासबाट मान्छेको दर्जा पाउन इतिहासको एउटा कालखण्डमा सामूहिक रुपमा हतियारसहितको पार्टी गठन गरेका थिए। 'ब्ल्याक प्यान्थर' नामको त्यही पार्टीको जन्म र अवसानको कथा यो फिल्ममा भनिएको छ। सन् १९६६ देखि १९८२ सम्म सक्रिय 'ब्ल्याक प्यान्थर पार्टी फर सेल्फ डिफेन्स' नामको यो पार्टीको नेतृत्व हुए पि न्युटन र बबी सीएलले गरेका थिए।
कम्युनिस्ट विचारधारा प्रभाव भएको यो पार्टीले प्रहरी दमनबाट अश्वेत नागरिकलाई सुरक्षा दिने, आफ्नो समुदायको हकहितको लागि आवाज उठाउन योगदान दिएको थियो।
ओकल्यान्ड, क्यालिफोर्नियामा जन्मेको ब्ल्याक प्यान्थर साठी दशकमा लोकप्रिय भई अमेरिकाका अन्य प्रमुख सहरमा पनि संगठन विस्तार गर्न सफल थियो। राजनीतिक विद्रोहसँगै बालबालिकाका लागि निःशुल्क खाना, स्वास्थ्य, शिक्षाजस्ता सेवा प्रदान गर्नु यसको लोकप्रियताको अर्को कारण थियो।
१९६७ मा ओकल्यान्डका एक अश्वेत बालकलाई कारले ठक्कर दिएर मारेपछिको घटनाबाट यो फिल्म सुरू हुन्छ। बालकको आत्मा शान्तिको लागि मैनबत्ती निकालेर निस्किएको जुलसमाथि प्रहरीले हातपात गरेर दर्जनौंलाई थुन्छ। फिल्ममा यही घटनालाई ब्ल्याक प्यान्थर जन्मनुको पृष्ठभूमिका रुपमा देखाइएको छ।
फिल्म यथार्थपरक बनाउन इतिहासका सन्दर्भ पनि प्रयोग भएका छन्। एकातिर अश्वेतको संघर्ष र अर्कोतिर कानुनका नाममा प्रहरी र सिआइएको षड्यन्त्रले फिल्म रोचक बनेको छ।
लोकार्नो इन्टरनेसनल फेस्टिभलमा पुरस्कृत भएको यो फिल्म हालै जर्ज फ्लोयडको हत्या घटनापछि हेर्नेहरूको संख्या बढिरहेको छ। युट्युबमा फिल्म हेर्ने धेरैले आज चार-पाँच दशकपछि पनि अमेरिकी सुरक्षाकर्मी र राज्यको रवैया उस्तै भएको प्रतिक्रिया दिएका छन्।
मुनलाइट, २०१६
'मुनलाइट' अमेरिकाको मायामी, लिबर्टी सिटीको परिवेशमा हुर्केको अश्वेत पात्रको कथा हो। मुख्य पात्रको बाल्यकाल, किशोरवय र युवाकाल गरी तीन चरण देखाइएको यो फिल्ममा फरक चरणमा पात्रका तीन नाम छन्– लिटल, सायरोन र ब्ल्याक।
बाल्यकालमा लिटल लजालू, संकोची हुन्छ। अन्तर्मुखी र सोझो भएकोले आफ्नो उमेरका साथीहरूबाट सताइएको हुन्छ। उसको बालमनोदशालाई लागुपदार्थ सेवनमा भुलिएकी उनकी आमा पाउलाले बुझ्न सक्दिनन्। माया र सहाराको भोको सायरोन आफूप्रति माया देखाउने जुआन र टेरेसासँग नजिक हुन्छ।
किशोरकालमा सायरोनको स्वभावमा क्रमशः परिवर्तन आउँछ। विरलै आफ्ना कुरा व्यक्त गर्ने ऊभित्रको निराशा र आक्रोश स्वभाविक रूपमा विष्फोट हुन्छ। यही उमेरमा उसले आफ्नो यौनिकता र समलिंगीप्रतिको आकर्षणबारे थाहा पाउँछ। ऊ बाल्यकालीन साथी केभिनसँग नजिक हुन्छ।
यसपछिको खण्डमा फिल्ममा युवा सायरोनको व्यक्तित्व, सम्बन्ध र त्यसकै कारण जीवनमा आउने उतारचढावका घटनाक्रम समेटिएका छन्।
कथावस्तु सोझै रंगभेदको नदेखिए पनि निर्देशक र सबै कलाकार अश्वेत भएको 'मुनलाइट' ओस्कार अवार्डमा आठ वटा विधामा मनोनित फिल्म हो। यसले उत्कृष्ट फिल्म, पुरुष सहायक अभिनेता र स्क्रिनप्ले विधाको अवार्ड जितेको थियो।
अमेरिकामा रंगभेदको असर दैनिक जीवनदेखि सिनेमा क्षेत्रमा पनि उत्तिकै छ। ओस्कारमा पनि श्वेत कलाकारलाई प्राथमिकता दिने अभ्यासको विरोधमा 'ओस्कारसोह्वाइट ह्यासट्याग अभियान' चलेको धेरै समय भएको छैन।
थर्टिन्थ, २०१६ (डकुमेन्ट्री)
अमेरिकी संविधानको १३ औं संशोधनले दासप्रथा उन्मुलन गरे पनि अफ्रिकन-अमेरिकन समुदायमाथि हुने विभेद शृंखला आज पनि जारी छ। अश्वेत समुदायलाई मानिस अपराधी, लागुपदार्थ सेवन गर्ने, बलात्कारी र लुटेरा हुन्छन् भन्ने छवि निर्माण गर्न अमेरिकी सञ्चारमाध्यम, सिनेमा, सुरक्षाकर्मीका प्रतिवेदन र राजनीतिज्ञका भाषणसम्मलाई दशकौंदेखि हतियार बनाइएको पाइन्छ।
रोनाल्ड रेगन, जर्ज बुस वा डोनाल्ड ट्रम्प जो होउन्, सबैजसो अमेरिकी राष्ट्रपतिको समयमा रंगभेद हटाउने कुरामा संवेदनशील हुनेभन्दा त्यसलाई भोट र नोट कमाउने माध्यमका रूपमा प्रयोग गरेको इतिहास साक्षी छ।
'थर्टिन्थ'ले आधुनिक अमेरिकी इतिहासमा अश्वेतहरूको नकारात्मक छवि निर्माणमा कानुन र राज्यले संरचनागत र नीतिगत रूपमा गरेको यही विभेद छर्लंग पार्छ।
अमेरिकी जेलहरूमा यस्तै आक्षेपमा हजारौं अश्वेत आज पनि बन्दी छन्। विगतमा जस्तै तिनमा निर्दोष वा सामान्य अपराधलाई ठूलो बनाएर पक्राउ गरिएका मानिस धेरै छन्। अपराधीका रुपमा अश्वेत मानिसको नकारात्मक छवि निर्माण गर्न न्याय प्रणालीलाई नै प्रयोग गरिएको छ। 'थर्टिन्थ'मा यी कुरालाई विभिन्न प्रमाणका साथ विस्तारमा देखाइएको छ। यो वृत्तचित्रले करिब डेढ सय वर्षअघि दास प्रथा उन्मुलन गरिए पनि आज पनि अश्वेत समुदाय आधुनिक दासको अवस्थामा बाँच्नु परेका तथ्य पेश गर्छ।
संसारकै करिब ४.४ प्रतिशत जनसंख्या र २२ प्रतिशत कैदी भएको देश हो अमेरिका। कानुनी राज्य र लोकतन्त्रको रट लाउने अमेरिकामा जेलका कोठा बढाउँदै, आफ्नै देशका मानिस थुन्दै कसरी पैसा कमाउने धन्दा भइरहेको छ भन्ने विषयलाई तार्किक रूपमा देखाइएको छ। यो फाइदा र स्वार्थमा अश्वेत नागरिकले चुकाउँदै आएको मूल्यका उदाहरण देखाउन र बुझाउन निर्देशकले निकै मेहनत गरेका छन्।
ओस्कारमा मनोनित यो दर्जनभन्दा बढी महत्वपूर्ण पुरस्कार जित्न सफल डकुमेन्ट्री फिल्म हो।
डेड्ली भोयेज, १९९५
'डेड्ली भोयेज' अमेरिकाभन्दा युरोपमै केन्द्रित भए पनि रंगभेदका विषयमा बनेको शसक्त फिल्म भएकाले यो सूचीमा समावेश गरिएको हो।
यो घानाका किंग्सले ओफासु र उनका भाइलगायत सात जना युवाको यात्राको कथा हो, एउटा दर्दनाक यात्रा।
सात युवा एमसी रुबी नामको कार्गो जहाजबाट अवैधानिक रुपमा लुकेर युरोप हुँदै अमेरिका प्रवेश गर्ने प्रयास गर्छन्। अमेरिका नपुग्दै उनीहरू जहाजभित्र युरोपेली सुरक्षाकर्मीको घेरामा पर्छन्।
गरिबीको मारमा परेका यी युवाले विदेश गएर अलिकति भए पनि पैसा जोडेर आफू र आफ्ना परिवारको जीवन राम्रो बनाउने सपना बुनेका हुन्छन्। तर गोरा सुरक्षाकर्मीले ती अश्वेत नागरिकको सपना पूरा गर्न देलान् त?
वास्तविक घटनामा आधारित यो फिल्म ती युवा र विदेश जाने सपना पालेर अप्ठ्यारोमा पर्ने धेरै संसारभर धेरै युवाको कथामा समानता छ। तर यो फिल्मका युवा अश्वेत हुनुचाहिँ उनीहरूको खास विशेषता हो, जसको मूल्य पुस्तौं-पुस्तादेखि उनीहरूले चुकाउँदै आउनु परेको छ।
अमानवीय, क्रुर र निर्ममताको पराकाष्ठा झेलेका अश्वेतहरूको जीवनको अँध्यारो पक्षलाई देखाइएको यो फिल्म मन र मस्तिष्क हल्लाउने खालको नामजस्तै 'डेड्ली' छ।
यी पनि हेर्नुस्ः
युट्युबमा हेर्न मिल्ने राम्रा १२ नेपाली फिल्म
युट्युबमा हेर्न सकिने ७ हिन्दी कमेडी फिल्म
युट्युबमा हेर्न पाइने पुराना हिट नेपाली फिल्महरू
युट्युबमा हेर्न लायक १० हिन्दी फिल्म
५ दक्षिण अमेरिकी फिल्म, अंग्रेजी सब-टाइटलसहित युट्युबमा
५ राम्रा कोरियन फिल्म, युट्युबमा अंग्रेजी सबटाइटलसहित
अंग्रेजी सब-टाइटलसहित युट्युबमा हेर्न पाइने ५ इरानी फिल्म
अमिताभ बच्चनका ७० दशकका ५ सुपरहिट फिल्म, युट्युबमा
छोटो समयमै स्मिता पाटिलले खेलेका ५ यादगार फिल्म, युट्युबमा
चीनलाई ओस्कारमा पुर्याउने निर्देशकका ५ उत्कृष्ट फिल्म, युट्युबमा सबटाइटलसहित
प्रेमचन्दका उत्कृष्ट रचनामा आधारित ५ फिल्म, युट्युबमा
उत्कृष्ट ५ इटालियन फिल्म, युट्युबमा अंग्रेजी सबटाइटलसहित
इरफान खानको शानदार अभिनय देख्न पाइने ५ फिल्म, युट्युबमा
ऋषि कपुरका ५ यादगार फिल्म, युट्युबमा
१० राम्रा छोटा नेपाली फिल्म, युट्युबमा
ओस्कार जितेका १० छोटा फिल्म, युट्युबमा
नवाजुद्दिन सिद्दिकीका ५ फिल्म, युट्युबमा
५ राम्रा पाकिस्तानी फिल्म, युट्युबमा
युट्युबमा हेर्नलायक १० नेपाली डकुमेन्ट्री फिल्म
५ राम्रा बंगलादेशी फिल्म, अंग्रेजी सब-टाइटलसहित युट्युबमा
महिला निर्देशकका ११ राम्रा नेपाली छोटा फिल्म र डकुमेन्ट्री, युट्युबमा