लकडाउन नभएको भए चैतयता कति फिल्म प्रदर्शनमा आउँथ्यो होला?
चलचित्र निर्माता संघका अध्यक्ष एवं कलाकार आकाश अधिकारी भन्छन्, '२५ वटा चलचित्र प्रदर्शनको मिति लिएर बसेका थिए। ५० वटा चलचित्रले सुटिङ सकेर पोष्ट प्रोडक्सनमा गएका थिए। कम्तिमा यति चलचित्र प्रदर्शन भइसक्ने थियो।'
सरकारले कोरोना भाइरस रोकथामका लागि चैत ११ देखि देशव्यापी लकडाउन गरेको छ। फिल्म हलहरु खुलेका छैनन्, मानिसहरु घरबाहिर जम्मा हुन पाएका छैनन्। लकडाउनको मुखमा बनेका फिल्महरुमा १ अर्ब १५ करोड लगानी भएको अधिकारीले बताए।
चलचित्र निर्माणको तयारी भएका र सुटिङमा रहेकाको त अझै हिसाब नै छैन। कोरोना भाइरसले असर परेका अन्य उद्योग सरह नै चलचित्र उद्योगलाई पनि व्यवहार गरोस् भनेर माग राखेको निर्माता संघका अध्यक्ष अधिकारीले बताए।
नेपाली मूलधारको फिल्ममा मात्र नभई अन्य भाषा र संस्कृतिमा आधारित चलचित्रलाई पनि उत्तिकै मर्का परेको अभिनेता एवं निर्देशक माओत्से गुरुङले बताए। पोखरामै ५ वटा गुरुङ भाषाको चलचित्र प्रदर्शनका तयारीमा र ७ वटा सुटिङमा रहँदै लकडाउन भएकाले अन्य भाषा र संस्कृतिका चलचित्र पनि मर्कामा परेको गुरुङको भनाइ छ।
'चलचित्र प्रदर्शन गर्न नपाउँदा निर्मातादेखि प्राविधिकसम्म मर्कामा परेका छन्, उनले भने, सबैको मर्का एउटै भएकाले मिलेर नै समाधान खोज्नुपर्छ।'
कोरोना भाइरसको त्रासका बाबजुद बजार केही खुकुलो भएको छ। तर फिल्म हल खुल्ने अवस्था भने आइसकेको छेन। वरिष्ठ रंगकर्मी एवं निर्देशक अनुप बराल भने अब विस्तारै हल पनि खोल्नुपर्ने बताउँछन्।
'फिल्म चलाउन अब एउटा संयन्त्र बनाउनुपर्छ,' बरालले भने, 'त्यसले मापदण्ड बनाएर फिल्म हल चलाउन मदत गर्न सक्छ।' फिल्म हलमै स्वास्थ्यकर्मी राखेर सामाजिक दुरी पालना गरेर चलाउनुपर्ने उनले बताए।
फिल्म हल चलाएर मात्रै दर्शक नआउने भन्दै निर्देशक बरालले अगाडि भने, 'कोरोना भाइरुसको त्रास भयानक छ, अब यो भयसँगै लड्नुपर्छ। मानिसको मनमा बसेको डर बाहिर निकाल्ने चुनौती छ।'
कोरोनाको त्रास कहिलेसम्म भन्ने यकिन नभएका कारण अब सुरक्षित रुपमा अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ छ।
चलचित्र पत्रकार संघ कास्कीले शनिबार आयोजना गरेको 'लकडाउनपछिको नेपाली चलचित्र– चुनौती, यथार्थ र सम्भावना' विषयक अन्तक्रियामा बोल्दै फिल्म हल सञ्चालक निकेश द्धाले पनि चलचित्रकर्मीको समस्या नै आफ्नो समस्या भएको बताए।
'फिल्मका निर्माता, कलाकारहरुले जे माग राख्नुभएको छ, मेरो पनि त्यही हो,' उनले भने, 'फिल्म चल्ने, दर्शक हलसम्म आउने वातावरण सरकारले मिलाइदिनुपर्छ।'
पोखरा थिएटरमा भएको अन्तक्रियामा वरिष्ठ रंगकर्मी एवं निर्देशक अनुप बराल, अभिनेता एवं निर्देशक माओत्से गुरुङ र मिडटाउन ग्यालेरियाका सञ्चालक निकेश द्धा सहभागी थिए। उनीहरूसँग सञ्चारकर्मी अपिल त्रिपाठीले संवाद चलाएका थिए।
कार्यक्रममा काठमाडौंबाट नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, अभिनेत्री रेखा थापा र अभिनेता दीपकराज गिरी, चलचित्र निर्माता संघका अध्यक्ष एवं निर्देशक आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का सहभागी थिए।
उनीहरूको भनाइ भिडियो रेकर्ड गरेर कार्यक्रमका बीचमा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा चलचित्र निर्माण संघका अध्यक्ष अधिकारीले चलचित्र विकास बोर्ड, सूचना, प्रविधि तथा संचार मन्त्रालय र चलचित्र विकास बोर्डमा निर्माताको तर्फबाट मागपत्र पेश गरेको बताए। सरकारले बजेट ल्याउनुअघि नै मागपात्र पेश गरेको भन्दै उनले चलचित्र उद्योगलाई पनि अन्य उद्योग सरह राहत र सुविधा दिन माग गरेको बताए।
यसबाहेक अहिले निर्माण सकेर प्रदर्शन कुरेर बसेका चलचित्रको २० प्रतिशत लगानी सरकारले बोहोरिदिनुपर्ने, प्रचार प्रसारका लागि टेलिभिजन र मिडियाको खर्च नलाग्ने प्रवन्ध चलचित्र विकास बोर्डले गरिदिनुपर्ने उनको भनाइ छ।
'सरकारले हामीले ल है २० प्रतिशत सरकारले हेरिदिन्छ, ८० प्रतिशत जोखिम आफैं लिनुस् भन्नुपर्छ,' अधिकारीले भने, 'चलचित्र उद्योगलाई जोगाउन अन्य उद्योग सरह राहत दिएर दुई वर्ष कर लिनु हुँदैन।'
चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले भने चलचित्र उद्योगमा परेको असर अध्ययन गर्न कार्यदल बनाएको भन्दै कार्यदलले दिएको प्रतिवेदन अनुसार काम गर्ने बताए।
अभिनेता दीपकराज गिरीले भने सरकारबाट आफूले कुनै आश नगरेको बताए।
'चलचित्रलाई न सरकारले प्राथमिकता दिएको न कुनै संस्थाले,' उनले भने, 'सरकारले सहयोग गर्ला भनेर बुझ्नु हुँदैन।' अब चलचित्रको प्रवर्द्धनमा एकले अर्कोलाई सहयोग गर्नुपर्ने उनको धारणा छ।
चलचित्र निर्माता एवं निर्देशकले अब 'सिनेमा मेकर' भन्दा पनि 'मेसेन्जर'को रुपमा अघि बढ्नुपर्ने उनले बताए। चलचित्र मार्फत संस्कृति अगाडि ल्याउनुपर्ने उनको भनाइ छ।
'सिमानाभन्दा पनि संस्कृति ठूलो हो,' अभिनेता एवं निर्देशक गिरीले भने, 'सिमानामा जे पनि हुन सक्छ, सिमानाभित्रको संस्कृति यथावत हुन्छ, त्यो जोगाउनतिर सिनेमा बन्नुपर्छ।'
वरिष्ठ रंगकर्मी एवं निर्देशक अनुप बरालले पनि अबको चलचित्र थोरै लगानीमा धेरै गुणस्तरीय बन्नुपर्ने बताए।
'फिल्म बनाएर कसरी पैसा कमाउने, भौतिक सुख सुविधा खोज्ने बाटोमा नेपाली चलचित्र लागेको थियो,' उनले भने, 'अब बन्ने नेपाली फिल्म मौलिक बन्नुपर्छ।'
अभिनेत्री एवं निर्देशक रेखा थापाले पनि अब बन्ने चलचित्र फरक तरिकाले अघि बढ्नुपर्ने बताइन्। लकडाउनले चलचित्रको क्षेत्रमा प्रचुर र नयाँ सम्भावना बढाएको भन्दै उनले भनिन्, 'लकडाउनमा सबैभन्दा धेरै असर पर्यटन र चलचित्रमा पारेको छ। मैले सबैभन्दा राम्रो अवसर देखेको छु, अब नेपाली चलचित्र पनि अर्कै हिसाबले बनाएर ग्लोबल्ली जानुपर्छ।'
लकडाउनका कारण चिन्तन– मनन र आत्मालोचना गर्ने अवसर मिलेको उनले बताइन्। अझै राम्रो गर्न सम्भावना रहेको उनको भनाइ छ।
कार्यक्रममा सहभागीहरुले फिल्म निर्माता, फिल्म हल सञ्चालक, कलाकार, प्राविधिक सबै समस्यामा परेको बताएका थिए। चलचित्र उद्योगमा लकडाउनले दीर्घकालीन असर पारेको भन्दै अबको बाटो पहिल्याउन मद्दत पुगोस् भनेर कार्यक्रमको आयोजना गरेको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले बताए।
'चलचित्र क्षेत्रका समस्याका विषयमा बहस चलाउनु हाम्रो दायित्व हो। हामीलाई आशा छ, यो बहसले चलचित्रकर्मीलाई उर्जा दिएर महामारीका बाबजुद पनि अगाडि बढ्न प्रेरणा दिनेछ।'