'उजेली, तैंले आफ्नो दुलाहालाई देखेकी छस्?'
'बेहुली भएपछि त उजेलीले खुट्टा काँ भुइँया टेक्छे र'
'राम्रा राम्रा लुगा लाउन पाउँछे। राम्रा राम्रा गहना लाउन पाउँछे...उजेली त पोइको धनी भएछि..ओहो!'
यो सन् १९९२ मा बनेको 'उजेली' फिल्मको संवाद हो। झन्डै तीस वर्षअघिको उजेलीका यी र यस्तै संवादका भिडिओ क्लिपहरू टिकटक र फेसबुकलगायत सामाजिक सञ्जालमा गत वर्ष भाइरल भएको थियो। युट्युबमा उजेली फिल्मको कमेन्ट बक्सका टिप्पणी हेरे, आज पनि यसको लोकप्रियता अन्दाज लगाउन सकिन्छ।
तीस वर्षपछि उजेली नयाँ दर्शकमाझ एकाएक लोकप्रिय हुँदा यसका कलाकार र निर्देशक समेत सुखद आश्चर्यमा परेका थिए। यसका कलाकारलाई मिडियामा खोजी-खोजी ल्याइएको थियो। युनिसेफले निर्माण गरेको यो फिल्म आफ्नो आधिकारिक च्यानलमा अपलोड गर्नु नै नयाँ पुस्ताले उजेलीका संवादहरू सामाजिक सञ्जालमा छाउनुको कारण थियो।
आजका पुस्ताले समेत मन पराएको उजेली आफ्नो समयको प्रशंसित फिल्म हो। नेपाल टेलिभिजन हेरेर हुर्केका चालीस दशकका पुस्ताको स्मृतिमा आज पनि गढेर बसेको नाम हो, उजेली।
उजेलीको प्रिमियरमै सहभागी भएका लेखक तथा सञ्चारकर्मी केदार शर्मासँग भने उजेलीसँग जोडिएको बेग्लै स्मृति छ। दीपेन्द्र गौचन निर्देशित उजेली रसुवाको बेत्रावती र त्यसका आसपास गाउँमा छायांकन भएको थियो। रमाइलो कुरा, केदारले नै उजेलीको छायांकन स्थलबारे निर्देशक दीपेन्द्रलाई जानकारी दिएका थिए।
उजेली बालविवाहको विषय केन्द्रमा राखेर बनाइएको फिल्म हो। जुन गाउँमा यसको छायांकन भएको छ, केदार त्यही गाउँमा २०३८/३९ सालतिर एक वर्ष ओभरसियरका रूपमा काम गर्थे। त्यहाँ उनले १३/१४ वर्षका धेरै केटाकेटीको बिहे भएको देखेका थिए।
सामाजिक विषयमा चासो राखेर घुम्ने केदारको बानीबारे उनका मित्र विनोद भट्टराई परिचित थिए। विनोदले नै दीपेन्द्र बालविवाहबारे फिल्म बनाउन उपयुक्त ठाउँको खोजीमा रहेको बताएका थिए।
केदार सम्झन्छन्, 'मैले रसुवा, बेत्रावतीका मन्दिरमा स-साना केटाकेटीको बिहे भएको देखेको थिएँ। विनोदले सम्पर्क गराएपछि दीपेन्द्रजीलाई रसुवा जानू भनेँ।'
भिडिओ स्रोतः युनिसेफ नेपालको युट्युब
केदारले आफ्नी आमाको बिहे तेह्र वर्षमा भएको सुने पनि दिदीबहिनीको बिहे सत्र-अठार वर्ष पुगेपछि भएको देखेका थिए।
'तर रसुवा बस्दा तेह्र-चौध वर्षका केटाकेटीको बिहे भएको कुरा बिझाएको थियो,' उनी भन्छन्।
केदारले सुझाएको गाउँ मन पराएपछि दीपेन्द्रले त्यहाँ छायांकन मात्रै गरेनन्, स्थानीयलाई कलाकार पनि बनाए।
उजेलीमा मुख्य पात्रको भूमिकामा वृन्दा अधिकारी र उनका श्रीमान (बाहुन) को भूमिकामा शशी शेखर लम्सालको अभिनय छ। यी मुख्य पात्रसँगै यसमा अभिनय गर्ने उजेलीका भाइ, आमा, बुबा, जेठानी दिदीलगायत सबै पर्दामा अनुभव नभएका कलाकार थिए। यसमा वृन्दाकी दिदीले पनि अभिनय गरेकी छन्। सामाजिक सञ्जालमा चर्चित भएको माथि उल्लेखित संवाद फिल्ममा उनैले बोलेकी हुन्।
नेपाली समाजमा बालविवाहले धेरै खालका नकारात्मक प्रभाव पारेको छ।
केदार भन्छन्, 'बालविवाहको त्यसबेला ठूलो समस्या थियो। आज पनि यो समस्या सकिएको छैन। घटेको मात्रै छ।'
उजेलीमा उमेर नपुगी गर्भधारण हुँदाको जोखिमको मार्मिक चित्रण छ। यसको विषयवस्तु नेपाली समाजमा आज पनि सान्दर्भिक छ। तै पनि केदारको विचारमा यो समस्या बुझ्न आजका दर्शकले उजेली नै हेर्नुपर्छ भन्ने छैन।
त्यसो भए उजेली अहिलेको समयमा किन हेर्ने?
'नन-एक्टर्सहरूको कुशल अभिनय, कथा भन्ने शैली र प्राविधिक रूपमा तत्कालीन समयको काम बुझ्न उजेली हेरेर धेरै कुरा सिक्न सकिन्छ।'
केदारका भनाइमा उजेली गैर-कलाकारलाई काम गराइएको पहिलो 'फिक्सन' हो।
'कहिल्यै पर्दामा नदेखिएका कलाकारका अनुहार फरक थिए। बोल्ने पारा अलग थियो। यसले दर्शकलाई वास्तविक स्थलमा गएको अनुभव भयो,' केदार भन्छन्।
गैर-कलाकारलाई काम गराउनु निर्देशकको क्षमता भए पनि यो काम सजिलो नभएको उजेलीका क्यामरापर्सन सिद्धार्थ शाक्य बताउँछन्। उनका अनुसार, उजेली समूह एक हप्तामा छायांकन गर्ने भनेर काठमाडौंबाट रसुवा पुगेको थियो। तर धेरै टेक लिनु परेकाले छायांकन अवधि लम्ब्याउनु पर्यो।
उजेली बनेको समयका प्रायः फिल्ममा अभिनय 'लाउड' हुन्थे। संवाद हाँस्यास्पद सुनिन्थे। उजेली समूहले भने पुरानो धार नपछ्याई अभिनय र संवाद जीवन्त बनायो।
उजेली बन्दाको समयमा दैनिक पाँच हजार रूपैयाँ तिरेर छायांकन गर्नुपर्ने अवस्था थियो। प्रविधि सहज र आज जति विकसित थिएन।
'ग्रामीण पृष्ठभूमि र सीमित स्रोत साधनमा त्योबेलै राम्रो काम भएको थियो,' केदार भन्छन्, 'आज हामीसँग राम्रो फिल्म बनाउने सबै सुविधा छ। केही छैन भने त्यो हो क्रिएटिभिटी।'
केदारका अनुसार, जुन समयमा उजेली खिचियो त्यो बेला एक दिन क्यामरा चलाएको लगभग पाँच हजार रूपैयाँ भाडा तिर्नुपर्थ्यो। सम्पादन र अरू काम गर्दा पनि चर्को शूल्क तिर्नु पर्थ्यो।
आँखीझ्याल कार्यक्रममा वृत्तचित्र निर्माणका विभिन्न काममा संलग्न केदार भन्छन्, 'दाताको पैसा वा आफ्नो खल्तीको पैसा नभए काम गर्न सक्ने अवस्था थिएन।'
उनका अनुसार, युनिसेफकी रिना गिलको सहयोगले गर्दा पनि दीपेन्द्रले उजेलीमा स्वतन्त्र रूपमा काम गर्न पाएका हुन्।
गम्भीर विषयमा बने पनि रोनाधोना र भारी संवादको सूत्रभन्दा परको उजेलीलाई बालपात्रबीचको संवादले रोचक बनाएको छ। मनोरञ्जनसहितको सन्देश र सन्देशसहितको मनोरञ्जन दिने उजेलीले आफ्नो समयमा तरंग ल्याएको थियो।
उजेलीको भूमिका निर्वाह गर्ने वृन्दाले अन्तर्वार्ताहरूमा यसमा अभिनय गरेकैले चाँडै बिहे गर्नुहुन्न भन्ने बुझेको स्वीकारेकी छन्। उजेलीकै कारण अभिभावकले पढ्ने अवसर दिएको बताउने उनी नर्सिङ पेसामा छिन्।
सामाजिक मुद्दा स्थापित गर्ने कुरामा जस्तै कलात्मक फिल्मको सूचीमा पनि उजेलीको नाम हम्मेसी छुट्दैन। तर यत्तिलाई नै केदार उपलब्धि मान्ने पक्षमा छैनन्।
'उजेलीको चर्चा र प्रशंसा त भयो तर यस्तै फिल्म बनाउने काम भने हुन सकेन,' उनी गुनासो पोख्छन्, 'आहा! राम्रो भयो भनेर सबैले भनेको तर कसैले अनुसरण नगरेको फिल्म हो, उजेली।'
उनको गुनासोको आसय हो- हामीलाई एउटा हैन, उजेलीजस्ता धेरै फिल्म चाहिएको छ।
यी पनिः
अभिनेता माओत्से गुरुङ भन्छन्ः मायाका भोकाहरूलाई 'लन्च बक्स'ले तृप्ति दिन्छ
रंगकर्मी निशा शर्माले तीन दशकमा ३ पटक हेरेको फिल्म 'पार', हेर्नुस् युट्युबमा
विपीन कार्की भन्छन्ः फिल्म 'क्याप्टेन फेन्टास्टिक'का जस्तै बुवा बन्न मन छ, हेर्नुस् युट्युबमा
'बुलबुल' निर्देशक विनोद पौडेललाई मनपरेको फिल्म 'डोर', हेर्नुस् युट्युबमा
दयाहाङ राईलाई मनपर्ने फिल्म- पाँच लाख किसानको लगानीमा बनेको 'मन्थन'