मान्छेलाई कहिलेकाहीँ आफैंलाई 'लोप्पा' खुवाउन मन लाग्छ। भारतीय निर्देशक नीरज घेवाणको फिल्म 'मसान' हेरेपछि नेपाली निर्देशक शेखर खरेललाई त्यस्तै भएको रहेछ।
दुई वर्षअघि सार्वजनिक मसान उनले हालसालै लकडाउनको फुर्सदमा हेरे। मसान जस्तो सशक्त फिल्म ढिलो हेरेकामा पछुतो मान्दै उनलाई आफैंलाई लोप्पा खुवाउन मन लागेको हो।
विभिन्न संस्थाका लागि र स्वतन्त्र रूपमा आफ्नै लागि गरेर शेखरले हालसम्म झन्डै दुई दर्जन वृत्तचित्र निर्देशन गरिसके। लेखक अभी सुवेदीबारे 'काठमाडौं ओडिसी' नामक वृत्तचित्र पनि उनैले बनाएका हुन्। शेखर औसतमा सातामा दुइटा फिल्म हेर्छन्। लकडाउनमा भने उनले दिनकै एउटा फिल्म भ्याए। मसान पनि यही क्रममा हेरेका हुन्।
साहित्य, समसामयिक विषय र कला समीक्षामा कलम चलाउने शेखरले मसान हेरेपछि यसैका निर्देशकको युट्युबमा उपलब्ध छोटो फिल्म 'जुस' पनि खोजेर हेरेछन्।
मसानले देवी र दीपक नामका दुई मुख्य पात्रको कथा भन्छ। बेग्लाबेग्लै संसारमा बाँच्ने यी दुई पात्रको एकअर्कासँग कुनै सम्बन्ध छैन। तर फिल्म हेर्दै जाँदा यी दुई पात्रको जीवनमा धेरै कुरा मेल खाएको महशुस हुँदै आउँछ।
फिल्म देवी (ऋचा चड्डा) को कथाबाट सुरू हुन्छ। उनी आफ्नो प्रेमी पियूषसँग होटलमा एकान्त र प्रेमपूर्ण क्षण बिताउन गएका बेला प्रहरीले छापा मार्छ। प्रहरीको सामना गर्न नसकेर उनका प्रेमीले आत्महत्या प्रयास गर्छन्। देवी भने यो दुर्घटनाको मूल्य चुकाएर बाँच्न विवश छिन्। प्रहरीका लागि भने यो घटना देवी र उनका बुबा विद्याधर (संजय मिश्रा) मार्फत पैसा धुत्ने माध्यम बन्छ।
आफ्नो नजरमा दोषी नभए पनि समाजको नजरमा गलत देवीको जीवन यो घटनापछि कता मोडिएला? यो प्रश्नले फिल्म सुरू भएको केही मिनेटमै दर्शकलाई सोच्न बाध्य बनाउँछ। अवकाश प्राप्त संस्कृत शिक्षक बुबासँग देवीको सम्बन्ध कसरी अगाडि बढ्ला? स्वभाविक रूपमा यो प्रश्न पनि जाग्छ। फिल्म नसकिँदासम्मै यी प्रश्नमा दर्शकलाई टिकाइराख्नु मसानको विशेषता हो।
मसानका अर्का प्रमुख पात्र दीपक (विक्की कौशल) को कथा भने हरिश्चन्द्रघाट, बनारसको परिवेशमा बुनिएको छ। दीपक आफ्ना बुबा, काका र नातेदारजस्तै मुर्दा पोल्ने काम गर्छन्। सधैं मान्छे जलेको देखेर हुर्केका, त्यही कठोर काम गर्दै इन्जिनियरिङ पढेका दीपक आफैं भने कोमल छन्। कथित माथिल्लो जातको परिवारकी केटीसँग प्रेममा नपर्दासम्म 'तल्लो जात' मानिने दीपकको जीवन सामान्य हुन्छ। तर देवीको जीवनमा जस्तै दीपकको जीवनमा पनि एउटा विन्दुमा ठूलो उथलपुथल आउँछ।
मसान हेर्ने दर्शकलाई अन्तिम दृश्य नपुगुन्जेल यी दुई पात्रलाई जोड्ने केही कुरा नभएजस्तो महशुस हुन सक्छ।
शेखर भन्छन्, 'दुई फरक मुख्य पात्रका कथा कहाँ पुगेर जोडिएला भन्ने जिज्ञासा थियो। सबभन्दा रमाइलो कुरा, यो फिल्म बुझ्ने भनेकै यसको क्लाइमेक्स रहेछ।'
कार्यक्रम सञ्चालक वा पत्रकारको भूमिकामा शेखरले श्याम बेनेगल, गौतम घोष, गोविन्द निहलानी, मधुर भण्डारकर, अनुराग बसु, प्रकाश झा जस्ता हिन्दी सिनेमाका दिग्गज निर्देशकहरू काठमाडौं आउँदा भेट्ने अवसर पाएका छन्। ती सबैमा उनले भेटेको साझा कुरा हो, जीवन दृष्टि।
'हरेक राम्रा फिल्ममेकरमा जीवन दृष्टि हुने रहेछ। मसानका निर्देशक नीरजको जीवन दृष्टि फिल्मको अन्तिम दृश्य प्रतिविम्बित भएको छ,' उनी भन्छन्।
फिल्मको अन्तिम दृश्यमा देवी र दीपक गंगा, यमुना र सरस्वतीको संगम भएको ठाउँमा घुमाउने डुंगामा सवार हुन्छन्।
दीपकले देवीलाई सोध्छन्, 'आप संगम पहली बार जा रहीँ है?'
'हाँ, और आप?', देवी भन्छिन्।
'दुसरी बार,' दीपक भन्छन्, 'वैसे किसी ने कहाँ है संगम दो बार आना चाहिए। एकबार अकेले और एकबार किसी के साथ।'
संगम मान्छेको अस्तु सेलाउने नदी हो। यहाँ मान्छे एक पटक ज्युँदो हुँदा र अर्को चोटी अस्तु विसर्जन गर्न आउँछन्। एक पटक स-शरीर, अर्को पटक मृत्युपछि। शेखरका अनुसार, हिन्दु धर्मले पुनर्जन्ममा विश्वास गर्छ। फिल्ममा माथिको संवादले 'हार्ट ब्रोकन' पात्रको पुनर्जन्म भएको संकेत गर्छ।
शेखर भन्छन्, 'फिल्ममा हेर्ने भनेको भिजुअल मेटाफोर हो। मसानको यो अन्तिम दृश्यमा देखाइएको दृश्यले पनि डुंगामा सवार देवी र दीपकको यात्रा उज्यालोतर्फ बढिरहेको देखिन्छ।'
फिल्मको नाम मृत्युसँग गाँसिएको नकारात्मक जस्तो सुनिए पनि मसानको अन्तले जीवनको उज्यालो र आशा देखाएको उनको तर्क छ।
मसान पात्रको परिवेशलाई यथार्थपरक चित्रण गरिएको फिल्म हो। फिल्ममा घाटको सजीव चित्र उतार्न मसिना विवरणमा ध्यान दिइएको छ। फिल्मका लागि छानिएको ठाउँ बनारसको आर्यघाट, गंगा नदी, रेल र रेलको छुकछुक आवाज आफैंमा चरित्र बनेर आएका छन्। आर्यघाटमा लास जलाउने कुरा मात्रै नभई त्यसले चर्चेको ठाउँमा हुने हरेक सानामसिना गतिविधिले फिल्ममा सौन्दर्य थपेको छ।
'यसमा फिल्ममेकरले रोजेको ठाउँले एम्बिएन्ससँगै संस्कृति देखाउँछ। फिल्मका लागि ठाउँ छनोटमै धेरै तह छन् यसमा। यो एन्थ्रोपोलिजिकल फिल्म पनि हो,’ उनी भन्छन्।
शेखर फिल्म हेर्दा दृश्यमा कविता खोज्छन् रे! इन्डो फ्रेन्च सहकार्यमा बनेको यो फिल्मको सिनेमाटोग्राफीमा उनले त्यो विशेषता देखेका छन्। पात्र निराशा वा अन्यौलमा हुँदा तुवाँलो र धुवाँ छाउने एकएक दृश्यलाई कथा भन्ने शैलीकै हिस्सा मान्छन् उनी।
मसानमा निर्देशकले चरित्र निर्माणमा देखाएको कुशलता उनलाई सबल लागेको अर्को पक्ष हो। रिचा चड्डाको चरित्रमा पाइने आक्रोश, हठ र मौनता होस् वा विक्की कौशलको चरित्रमा भेटिने निर्दोषपन, दुवै कलाकारको अभिनयले शेखरलाई लोभ्याएको छ।
युवाले जहिल्यै राम्रो र ठूलो स्थान खोज्छन्। आफ्ना सपना र आकांक्षा पोत्न उनीहरूले खोज्ने क्यानभास पनि ठूलै हुन्छ। शेखरले देवी र दीपक दुवै पात्रमा यस्तो आकांक्षा देखेका छन्।
संजय मिश्रा त उनलाई मन पर्ने कलाकार भइहाले। लाचार तर जिम्मेवार बुबाको भूमिकामा देखिन मिश्राले गरेको परिपक्व अभिनयले शेखरलाई कायल बनाएको छ।
राम्रा फिल्ममा संगीत, ध्वनिदेखि संवादसम्म सुझबुझका साथ प्रयोग गरिएको हुन्छ। मसानका हरेक दृश्यमा यस्तो सुझबुझ महशुस गरेका शेखर भन्छन्, 'यसमा कविता र संगीतलाई यथार्थवादी दृष्टिकोणबाट प्रयोग गरिएको छ। यसले फिल्मको थिमलाई अझ सशक्त बनाएको छ।'
मसानमा दुष्यन्त कुमार, बृज नारायण चकबस्त, बसिर बद्रजस्ता कहलिएका कविका कविता प्रयोग गरिएका छन्। यसमा चर्चित ब्यान्ड इन्डियन ओसनको संगीत छ। दुष्यन्त कुमारको कवितामा आधारित गीत 'तु किसी रेल सी गुजरती है' बाहेक इन्डियन ओसन ब्यान्डको 'भोर' र 'कस्तुरी' पनि मसानका पात्रको भाव र कथासँग टाढा छैनन्।
शेखर भन्छन्, 'यस्तै धेरै कुराको संगमकै कारण मसान वर्षौंपछिसम्म सम्झन र चर्चा गर्न योग्य फिल्म बनेको छ।'
यी पनिः
लेखक केदार शर्मालाई मनपर्ने 'उजेली'
अभिनेता माओत्से गुरुङ भन्छन्ः मायाका भोकाहरूलाई 'लन्च बक्स'ले तृप्ति दिन्छ
रंगकर्मी निशा शर्माले तीन दशकमा ३ पटक हेरेको फिल्म 'पार', हेर्नुस् युट्युबमा
विपीन कार्की भन्छन्ः फिल्म 'क्याप्टेन फेन्टास्टिक'का जस्तै बुवा बन्न मन छ, हेर्नुस् युट्युबमा
'बुलबुल' निर्देशक विनोद पौडेललाई मनपरेको फिल्म 'डोर', हेर्नुस् युट्युबमा
दयाहाङ राईलाई मनपर्ने फिल्म- पाँच लाख किसानको लगानीमा बनेको 'मन्थन'